कात्तिक २७, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।
साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो ।
बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट ४ करोड रुपैयाँ र बढीमा १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल २३० ओटा कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९ दशमलव ३५ अंकले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कुल २ करोड ८६ लाख ४०९ कित्ता शेयर १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० मूल्यमा खरीदविक्री भए ।
दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अंकले ओरालो लाग्यो । सोमवार नेप्से १९ दशमलव २० अंकले घटेर २ हजार ८२९ दशमलव ६४ मा आर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २ दशमलव ७१ ले ओरालो लागेर ५२८ दशमलव ३७ मा झरेको थियो । त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन । कुल २३० ओटा कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ मूल्यमा खरीदविक्री भए । सोमवारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब ७ करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको थियो ।
नेप्सेका अनुसार कारोबार भएका कुल १३ ओटा उपसमूहमध्ये सोमवार तीन ओटा उपसमूहको शेयर उकालो लाग्यो भने १०ओटा उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँ बराबरको कारोबार भयो ।
मंगलवार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य २ अंकले घटेर ५१२ दशमलव शून्य २ मा ओर्लियो । त्यस दिन नेप्से परिसूचक उच्च अंकले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो ।
कुल २२५ ओटा कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरीदविक्री भए । कारोबार भएका १३ ओटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँमा कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो ।
साताको अन्तिम दिन बिहीवार पनि नेप्से उच्च अंकले घट्यो । त्यस दिन नेप्से ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६९० दशमलव २९ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १० दशमलव ६३ अंकले घटेर ५०२ दशमलव १९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो । कुल २२५ ओटा कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० मूल्यमा खरीदविक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ ओटै उपसमूहको शेयर ओरालो लाग्यो ।
बिहीवार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रासस