उच्च सतर्कता आजको आवश्यकता

अचेल सहरबजारमा विभिन्न खाले नाराजुलुस, भीडभाडजस्ता गतिविधिहरू भइरहेको देखिन्छ । त्यस्ता भीडभाड तथा नाराजुलुसले कोरोना संक्रमणको फैलावटलाई जोड दिने भएकाले कसैले पनि कुनै प्रकारको भीडभाड तथा नाराजुलुस गर्नु हुँदैन । नेपालमा पछिल्लो समयमा बढ्दै गरेको कोरोना महामारीको संक्रमण नियन्त्रणका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म सबैले ध्यान दिनु जरुरी छ । यसका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह […]

सम्बन्धित सामग्री

‘स्वाइन फिभर’बाट ४०० बङ्गुर मर्दा २ करोडको क्षति, 'बिहान ठिकठाक, साँझ मरिसक्छन्'

बागलुङ । अफ्रिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।  बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिवरका कारण हालसम्म ४०० बङ्गुर मरेको किसानको भनाइ छ । किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन थालेको  बङ्गुरपालक किसान गणेशबहादुर पुनले बताए ।  “केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका हुन्”, उनले भने, “बिहान ठीकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरिनरी अस्पतालमा हारगुहार गरेका छौँ, उहाँहरूले परीक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ ।” बागलुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बङ्गुरपालन गर्दै आएकामा अहिले धमाधम बङ्गुर मर्न थालेपछि किसानलाई २ करोड रुपैयाँ बराबरको क्षति पुगेको बङ्गुरपालक किसान डिलमाया थापाले बताइन् । “बङ्गुरपालन गर्न थालेको वर्षौं भयो, अहिलेसम्म यस्तो भएको थाहा थिएन, पहिलोपटक बङ्गुर मर्न थाले अहिले मेरै खोरमा १५ ओटा बङ्गुर मरिसकेका छन्”, उनले भनिन्, “दैनिक खोर रित्तिँदै गएपछि मजस्ता किसानको उठिबास लागेको छ ।” यस क्षेत्रका ५४ किसानले पालेका ३९२ ओटा बङ्गुर मरेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले जानकारी दिए । उनले किसानको समस्याका लागि आफूले विभिन्न सरोकारवाला निकायसँग ध्यानाकर्षण गराइरहेको बताए ।  किसानले पालेका बङ्गुर तथा सुँगुर एक्कासी मर्न थालेपछि रोगको विषयमा पहिचान गर्न नमूना सङ्कलन गरिएको भए पनि अहिले मरिरहेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरसको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए ।  “लक्षण पूरै ‘अफ्रिकन स्वाइन फिभर’को देखिएको छ, बागलुङको जैमिनी नगरपालिकामा पहिलोपटक किसानले पालेका बङ्गुरको परीक्षण गर्दा गत पुसमा मात्रै ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखापरेको थियो”, उनले भने, “मरेका ४०  बङ्गुरबाट नमूना सङ्कलन गरी पोखरा पठाइएको छ, किसानले खोरलाई निर्मलीकरण गर्न आवश्यकता देखियो, हामी रोग नियन्त्रणका लागि लागिपरेका छौँ ।”  बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिभर’ रहेको पशु प्राविधिक केशव शर्माले जानकारी दिए । यो सङ्क्रमण भएमा सुँगुर, बङ्गुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर नीलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखापर्ने गरेको  । यो उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग रहेको शर्माको भनाइ छ ।  यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखापरेपछि उपचारसमेत हुन नसक्ने भएकाले उच्च सतर्कता अपाउनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाइ छ । कुनै स्थानमा अस्वाभाविकरूपमा बङ्गुर मरेमा वा लक्षण देखापरेमा तत्काल कार्यालयमा जानकारी गराउन केन्द्रले किसानलाई आग्रह गरेको छ । बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बङ्गुर पाल्दै आएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । रोगी बङ्गुर, त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने छ । अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन् २०१८ मा चीनमा र त्यसपछि भारत, भूटानमा पनि देखापरेको थियो ।  दुईओटा फार्मबाट शुरू भएको महामारी ५२ फर्ममा फैलिसकेको किसानको भनाइ छ । रासस

स्वास्थ्य अधिकार र सरकारी रणनीति

संविधानले प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । स्वास्थ्य सेवामा भएका विभिन्न कार्यक्रमको फलस्वरूप प्रतिहजार जीवित जन्ममा शिशु मृत्युदर ३२, नवजात शिशुु मृत्युदर २१ र ५ वर्षमुनिको बाल मृत्युुदर ३९ तथा मातृ मृत्युदर २३९ (प्रतिलाख जीवित जन्ममा) मा झरेको छ भने कुल प्रजनन दर २ दशमलव ३ प्रतिमहिला रहेको छ । त्यसैगरी ५ वर्षमुनिका बालबालिकामा पुड्कोपना घटेर ३६ प्रतिशत रहेको छ । यस परिप्रेक्ष्यमा नेपालले विभिन्न समयमा गरेको अन्तरराष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवम् स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य प्राप्त गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । पन्ध्रौं योजनाको सफल कार्यान्वयनपछि, स्वस्थ, सबल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र ५ वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । ५ वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य बीमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएका घरपरिवार ८० पुगेको हुनेछ । मुलुकमा लोकतन्त्रको बहालीसँगै राज्यसँग आमजनताले गर्ने अपेक्षामा अत्यधिक वृद्धि हुनुका साथै चेतनास्तरमा भएको विकासका कारण सार्वजनिक सेवाप्रवाहलाई नागरिकको हितअनुकूल बनाउनुपर्ने आवश्यकता टड्कारो देखिएको छ । यसै सन्दर्भमा स्थानीय तहमा कम्तीमा १५ शय्याका अस्पताल बनाउन त्यस ठाउँको प्राथमिक स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीको क्रमशः स्तरोन्नति गर्ने लक्ष्य छ । साथै स्थानीय तहका स्वास्थ्य संस्थामा प्रयोगशाला र एक्सेरे सेवा विस्तार गर्ने पुरानै नीति यथावत् छ । यो नीति पनि पूरा नहँुदा कोभिड–१९ को माहामारीलाई रोकथाम गर्न पनि कठिनाइ भएको छ । यसै सिलसिलामा कोभिड–१९ देखिएको २ वर्षपछि अर्काे नयाँ प्रजाति ओमिक्रोनले पुनः विश्वलाई नै त्रस्त बनाएको छ । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो भेरियन्ट, कयौं मुलुकमा फैलिसकेको छ । हाम्रो देश नेपालमा यसको जोखिम बढ्न नदिन सम्बद्ध निकायले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा निषेध गरेको छ । ओमिक्रोन भेरियन्ट कत्ति घातक छ भन्ने विश्व स्वास्थ्य संगठनले अनुसन्धान हुन बाँकी रहेको प्रकाश पारेको छ । ओमिक्रोनलाई यस अघिको डेल्टा भाइरसभन्दा पनि कम खतरनाक तर बढी संक्रामक मानिएको छ । यसको संक्रमण उच्च जोखिम रहेको समाचार प्रकाशमा आएको छ । दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे २४ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको थियो । यस भाइरसका कारण जापानमा विदेशी यात्रुलाई प्रवेश निषेध गरी उच्च सतर्कता अपनाइएको छ । यसै महीना दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्ट अफ्रिका, यूरोप, अमेरिका, अस्ट्रेलियामा देखा परेको छ । त्यस्तै, बेलायत, नेदरल्यान्ड, जर्मनी, इटाली, बेल्जियम, इजरायल, अस्ट्रेलियामा पनि ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोभिड–१९ को यो भेरियन्ट अत्यधिक उत्परिवर्तन क्षमता भएको र निकै संक्रामक रहेको सम्बद्ध विज्ञको भनाइ छ । न्यूजील्यान्ड, थाइल्यान्ड, सिंगापुर, माल्दिभ्स, श्रीलंका, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, यूरोपेली संघ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले दक्षिण अफ्रिका माथि यात्रा प्रतिबन्ध लगाई उच्च सजकता अपनाएको समाचार प्रकाशमा आएको छ । नेपालमा पनि यसको संक्रमण फेला परिसकेको छ । तर, यो अहिलेसम्म व्यापक रूपमा फैलिइसकेको भने छैन । त्यसैले यसको संक्रमण रोक्न तथा संक्रमण व्यापक भए त्यसको उपचार गर्न सरकारले तयारी थाल्नुपर्ने देखिन्छ । डेल्टा भेरियन्ट फैलँदा स्वास्थ्य सुविधा अपर्याप्त भएकाले कैयौंले ज्यान गुमाउनु परेको थियो । अहिले पनि स्वास्थ्योपकरण र उपचारको व्यवस्था खासै बढेको पाइँदैन । स्वास्थ्योपचारको हक प्रदान गर्न राज्यले अहिले ठूलै लगानी गरी सम्भावित लहरबाट जनतालाई जोगाउन आवश्यक तयारी थाल्न ढिला भइसकेको छ । त्यस्तै कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज दिने बेला भइसकेको छ । तर, यसका लागि सरकारले तयारी थालेको छैन । कमसेकम अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरूलाई यस्तो खोप आवश्यक भइसकेको छ । कोरोना महामारी नियन्त्रणमा तिनै तहको सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । कोरोना भाइरस रोकथामका लागि आवश्यक स्वास्थ्य उपकरणहरू शøया, अक्सिजन, आवश्यक उपकरण साथै स्वास्थ्य संस्थामा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनुपर्छ । संघ तथा प्रदेश सरकारले स्थानीय सरकारलाई त्यसबारे दीक्षित गरी स्रोतसाधनसहित जिम्मेवारी दिनुपर्छ । आम नागरिकलाई प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी त्यससम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचनाप्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अति आवश्यक छ । कोरोनाजस्तो माहामारी नियन्त्रणमा नेपाल सरकारको स्वास्थ्य संस्थाले नभ्याएको सन्दर्भमा निजी स्वास्थ्य संस्थालाई पनि प्रभावकारी बनाई त्यसको जिम्मा दिनुपर्छ । सबै नागरिकले कोरोना माहामारी नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड अपनाउन अति आवश्यक छ । सरकारले निःस्वार्थ सेवा सेवाग्राहीलाई दिन सक्ने वातावरण बनाउनुपर्छ । स्वास्थ्य सामग्री खरीद कार्य पारदर्शी हुन अति आवश्यक छ । स्वास्थ्यकर्मीहरूलाई कदर तथा उत्साह दिने वातावरण बनाउनुपर्छ । कोरोना महामारी विषयमा धरै नकारात्मक सन्देश प्रवाह गर्नु हुँदैन । माथि उल्लिखित कार्यहरू पूरा भएमा कोरोना माहामारी रोकथाममा गर्न मद्दत मिल्नेछ । संविधानले सुनिश्चित गरेको स्वास्थ्यअधिकारका लागि सरकारले यी काममा ढिलाइ गर्नु हुँदैन । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

बढ्दो स्वास्थ्य जोखिम (सम्पादकीय)

सरकारले कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको दोस्रो चरणको जोखिमविरुद्ध कार्ययोजना बनाउने भएको छ । बिहीबार चार हजार ५३६ को परीक्षण गरेकामा २६७ को नतिजा ‘पोजेटिभ’ देखिएकाले पछिल्ला हप्तादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्पष्ट हुन्छ । कोरोनाबाट नेपालमा आइतबारसम्म तीन हजार ३२ को मृत्यु भइसकेकोे छ । हालसम्मको मृत्यदर १.१ प्रतिशत रहेको छ । गत कात्तिकको दोस्रो सातामा सङ्क्रमणको दर सबैभन्दा उच्च रही त्यसपछि घट्दो अवस्थामा रहेको बेला विश्वका विभिन्न स्थानमा जस्तै नेपालमा पनि दोस्रो चरणको कोरोना सङ्क्रमण भयावहका रूपमा प्रकट हुने हो कि भन्ने अवस्था छ । छिमेकी मुलुक भारतमा उच्च दरमा सङ्क्रमित बढेका र बेलायती भेरियन्ट (नयाँ रूप)को भाइरसको सङ्क्रमण देखिएकाले नेपालले उच्च सतर्कता अपनाउनुपर्नेमा सम्बद्ध जानकारले जोड दिइरहेका छन् । यसैले सरकारले तत्कालका लागि शैक्षिक संस्था, चलचित्र हल, सभा–सम्मेलनमा हुने भीडभाड रोक्नुपर्ने आवश्यकता देखेको छ । तत्काल शैक्षिक संस्था बन्द नगरिए पनि एक कक्षाकोठामा बढीमा २५ जनासम्म राखेर पढाउन सकिने जनाइएको छ । जनसम्पर्क तथा अन्तक्र्रिया घटाउनु नै कोरोना नियन्त्रणको पहिलो कदम मानिने भएकाले भीडभाड नियन्त्रणमा सरकार केन्द्रित हुनैपर्छ ।

कोरोनाविरुद्ध नेपाल-भारत (सम्पादकीय)

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतका अधिकारीबीच सहकार्य शुरु भएको छ । पशुपतिनगर, झापा, विराटनगर, वीरगञ्ज, भैरहवा, जमुनाह, धनगढीजस्ता व्यस्त नाकाबाट ठूलो सङ्ख्यामा नेपाली र भारतीयको आउजाउ हुने भएकाले यी क्षेत्रमा विशेष निगरानी गर्नुपर्ने आवश्यकता दुबै मुलुकका अधिकारीले महसुस गरेका छन् । कोभिड–१९ को सीमारहित प्रकोप नियन्त्रणमा विश्वकै साझा पहल आवश्यकता महसुस गरिएका बेला नेपाल–भारतजस्ता खुला सिमाना, जनस्तरको व्यापक अन्तरक्रिया हुने देश, जहाँका सीमावर्ती जनताको दैनिकी सीमा वारपारमा चल्छ । त्यहाँ विशेष उच्च सतर्कता अपनाउनु ढिला भइसकेको छ ।