काठमाडौं (अस) । अपि पावर कम्पनीले कोरोनाविरुद्ध लड्न दार्चुलाका विभिन्न निकायलाई ३५ थान अक्सिजन सिलिन्डर सहयोग उपलब्ध गराएको छ ।
कम्पनीले मार्मा गाउँपालिकालाई १० थान, गोकुलेश्वर प्रहरी कार्यालयलाई १० थान र जिल्ला प्रहरी कार्यालय दार्चुलालाई १५ थान गरी कुल ३५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।
साथै, कम्पनीले मार्मा गाउँपालिका–२ लाई स्यानिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको छ । कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले उक्त सामग्री हस्तान्तरण गरे ।
यस्तै, ४ मेगावाट क्षमताको चन्द्रनिगापुर सोलार आयोजनाका प्रमुख दुर्गामणि त्रितालले चन्द्रपुर नगरपालिकास्थित सुरक्षा निकायलाई स्यानिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको कम्पनीले बताएको छ ।
कम्पनीले दार्चुलामा ८.५ मेगावाटको नौगडगाढ र ८ मेगावाटको माथिल्लो नौगडगाढ साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । सोही जिल्लामा ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना निर्माण गरिरहेको छ ।