असोज १७, धरान । लामो समयदेखि थलिएको सागुरीगढी गाउँपालिका ६ मा सञ्चालनमा रहेका होमस्टेमा विस्तारै चहलपहल शुरु भएको छ । असोज १ गतेदेखि सर्वपक्षीय छलफलबाट होमस्टे सञ्चालनमा आएपछि चहलपहल बढेको हो ।
धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. ६ मा रहेको नाम्चे थुम्कीमा सञ्चालन भएका होमस्टे कोरोनाको संक्रमणका कारण बन्द रहेका थिए । संक्रमणकै कारण केही समय उनीहरु कृषि पेशामा लागे तर कोरोना सहज हुँदै गएपछि भने फेरि नाम्चेका होमस्टेमा चहलपहल बढ्न थालेको छ भने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।
गन्तव्य स्थलको परिचय दिलाउन नाम्जेमा मगरहरुले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा ल्याएपछि भेडेटारको सुन्दरतामा सुनमा सुगन्ध थपिएझै थियो । यहा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु एक रात होमस्टेको मजा नलिई कोही पनि फर्किदैन थिए ।
तर, कोरोना भाइरसको संक्रमणको कारण यहा सञ्चलनमा आएका होमस्टे प्रभावित बने । कोरोनाको जोखिम कम हुँदा गए पछि चाडपर्वलाई लक्षित गरी असोज १ गतेबाट होमस्टे सञ्चालनमा आएका हुन् ।
कोेराना संक्रमण अवधिभर यहाका होमस्टे सञ्चालनमा नआउँदा १ करोडभन्दा बढी नोक्सानी व्यहोर्नु परेका उनीहरु बताउँछन् । खुला भएसँगै आन्तरिक तथा बाह्य पर्यटक यहा आएर खाने, बस्ने रमाउने गरेपछि भने उनीहरु केही आशावादी बनेका छन् ।
नाम्जे थुम्की होमस्टे व्यवस्थापनका अध्यक्ष अनिलकुमार राना मगरले कोरोनाकै कारण होमस्टे बन्द हुँदा एक करोड बढी नोक्सानी व्यहोर्नु परेको बताए । उनले भने, ‘कोरोनाले होमस्टे सञ्चालकलाई ठूलो क्षति पु¥यायो, असोज १ गतेदेखि सञ्चालनमा आएपछि केही राहत भने मिलेको छ ।’
उनले अहिले केही सहज भएपछि फाट्टफुट्ट पाहुनाहरु आउने गरेको बताए । उनका अनुसार विगतमा यहाका होमस्टेहरुमा दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म कारोबार हुने गर्दथ्यो ।
अहिले भने पाहुनाहरु आउन थालेपछि भने केही आशा पलाएको उनी बताउँछन् । विराटनगरबाट ६÷७ जनाको टोली नै नाम्जे होमस्टेमा बस्न आएका रविन राजवंशीले लामो समयसम्म आउने वातारण नमिलेको बताए । उनले लामो समयपछि यहा आउँदा अर्कै रमाइलो महसुस भएको बताए ।
उनले भने, ‘हामी रिफ्रेसमेन्टका लागि समयसमयमा आउन गर्थ्यौ तर कोरोनाका कारण दुई वर्षपछि हामी आएका हौं, रमाइलो महसुस गरेका छौं ।’ उनले सडक सञ्जाल राम्रो भइदिएको भए अझ पर्यटक बढ्ने बताए ।