काठमाडौं (अस) । ग्लोकल टिन हिरो नेपाल,२०२१ का लागि आवेदन खुला गरिएको छ । प्रतियोगिताको सातौं संस्करणका लागि जेठ २८ गते आवेदन खुला गरिएको हो ।
गत वर्षझैं यो वर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रूपमा सेप्टेम्बर १ गते हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत घोषणा गरिनेछ ।
उपाधिको माध्यमबाट किशोर–किशोरीमा उद्यमशील सोच विकासमा थप ऊर्जा मिल्न सक्ने आयोजकको भनाइ छ । नेपालमा यो कार्यक्रम २०१५ मा सुरु भएको थियो ।
हालसम्म नेपालका ६ जना किशोर–किशोरीलाई ग्लोकल टिन हिरोका रूपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डिया र श्रीलंकाबाट एक/एक जना सम्मनित भएका छन् ।
पहिलो चरणमा कुल आवेदकलाई अन्तर्वार्ताको आधारमा २० जना छनोट गरिनेछ । त्यसपछि उनीहरूको कामको सुरुआत र प्रभावको आधारमा उत्कृष्ट ६ जनाको छनोट हुनेछ ।
अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दूरदृष्टि मापनका लागि अन्तर्वार्ता लिएर सन् २०२१ को विजेता घोषणा गरिनेछ ।
अन्तिम स्क्रिनिङ र साक्षात्कार अनलाइनमार्फत हुनेछ भने निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्डिङ र व्यवसाय विकास निर्देशक विदुषी राणा, सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक एवं स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति रहनेछन् । किशोर–किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी तिनले समाजमा गरेको प्रभावकारी कार्यलाई अरूमाझ चिनाउने कार्यक्रम वाईवाई ग्लोकल टिन हिरो ग्लोकल प्रालिको कार्यक्रम हो ।