म्याग्दीमा वातावरणीय अध्ययनविना सडक खन्न नपाइने

बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति पु-याउन थालेपछि म्याग्दीमा अव्यवस्थित विकास मोडेलमा परिवर्तन गरिने भएको छ। विना अध्ययन जथाभावी डोजर र स्काभेटर चलाउँदा बाढीपहिरोजस्ता समस्या निम्तिने गरेको भन्दै अव्यवस्थित विकास मोडेलमा परिवर्तन गर्न लागिएको हो।

सम्बन्धित सामग्री

जलविद्युत् आयोजनाले स्थानीयलाई दोहोरो लाभ

म्याग्दी । म्याग्दीमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट स्थानीय समुदाय लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ र रघुगंगा गाउँपालिका–४ दग्नाम, ५ झीँ, ६ पाखापानी, ७ चिमखोला र ८ कुइनेमंगलेका बासिन्दा दोहोरो रूपमा लाभान्वित भएका हुन् । गोरेटो, घोडेटो हुँदै पछिल्ला केही वर्षदेखि राजनीतिक दलहरूले मोटरबाटोको सपना देखाएर भोट माग्दै आएकामा अजिङ्गर (झ्यान्द्राभीर) फोरिएसँगै दर्मिजा, चिमखोला, चौरखानी, घ्यासीखर्कदेखि धौलागिरि हिमालको फेदीसम्मै मोटरबाटो उक्लेको छ । दग्नाम–चिमखोला ४ दशमलव ८१ किलोमिटर सडक खन्न संघ, प्रदेश र स्थानीय पालिकाबाट करीब सात करोड खर्च भएकोमा दग्नाम–दर्मिजा ८०० मिटर र दर्मिजा–चिमखोला खण्डको गोखोभीरको ६३० मिटर अक्करे पहाड फोर्न तुँदीपावर कम्पनीले मात्र १२ करोड खर्च गरेको छ । उक्त कम्पनीले छुट्टै चिमखोलास्थित ठूलोखोलामा बेलिब्रिज र संयुक्त ऊर्जाले कुइनेमंगलेको छरीमा अर्को बेलिब्रिज बनाएपछि धवलागिरि फेदीका अति दुर्गम बस्ती सडकसँग जोडिएका हुन् । तुँदीपावर कम्पनीले राहुघाटखोलामा ३५ दशमलव ५ मेगावाट क्षमताको मंगले राहुघाट र सोही खोलामा अर्को ४८ दशमलव ५ मेगावाट क्षमताको अपरराहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यस्तै राहुघाटखोलामा निर्माणाधीन अर्को संयुक्त ऊर्जाले २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला आयोजना निर्माण गरिरहेको छ । आयोजनाले पनि समुदायमा गर्ने स–साना योजनाबाहेक पहुँचमार्ग निर्माण गर्दा माथिल्ला बस्तीलाई पनि सडक पहुँच पुगेको हो । ‘राहुघाटखोलामा निर्माणाधीन आयोजनाबाट रघुगंगा गाउँपालिकामा सडक निर्माणमा ठूलो आर्थिक राहत भएको छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘संघ/प्रदेशबाट विनियोजित बजेट ट्रेन र हाम्रो क्षमताले यी बस्तीमा दशकअघि सडक जोड्न कठिन थियो, आयोजनाले आफ्ना लागि पहुँचमार्ग बनाउनैपर्ने हुँदा पालिकासँग योजनामा साझेदारीमा सडक खन्यौं, हाम्रो सानो सहभागिताले धेरै लाभ पुगेको छ ।’ शुरूमा पाखापानीलाई रघुगंगा गाउँपालिकाको अस्थायी केन्द्र तोकेपछि उत्पन्न विवाद २०७४ को स्थानीय तह निर्वाचनपछि गाउँसभाको बहुमतले ५, ६ र ८ नं वडाका झीँ, पाखापानी र कुइनेबस्तीलाई मोटरबाटोले जोड्न प्रतिबद्धतासहित पालिकाको केन्द्र रघुगंगा–३ मौवाफाँट तोक्यो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले रघुगंगाका वडा नं ४ र ५ को सिमानामा पर्ने बुक्लस्थित राहुघाट नदीमाथि ट्रस प्रविधिको पुल निर्माण गरेको छ । आयोजनाले बुक्लदेखि रघुगंगा–५ झीँ जोड्ने करीब पाँच किलोमिटर सडक पनि निर्माण गरेको छ । सो सडक र पुलले रघुगंगाको झीँ, पाखापानी र कुइनेका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँटसम्म यातायात सञ्जालसँग जोडेको छ । मौवाफाँट जान बेनी र गलेश्वर हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको झिँका वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । रासस