यस वर्षको मनसुन आज असोज ३० गते आइतबारबाट देशको समग्र भू-भागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबारदेखि नेपालभरबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो ।नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट असोज २९ गते मनसुन बाहिरिएको थियो । नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष सो मिति भन्दा १४ दिन ढिलो गरी नेपालबाट मनसुन बहिर्गमन भएको महाशाखाले जनाएको छ ।यस वर्ष नेपालमा मनसुन २०७९ जेठ २२ गते नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको थियो । मनसुन बाहिरिएसँगै नेपालको मौसम अब सफा रहने र भारी वर्षा नहुने महाशाखाले जनाएको छ । मनसुन सकिएसँगै अब क्रमश तापक्रम भने घट्दै जाने र जाडो बढ्दै जाने हुन्छ ।