माघ १२, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ९६ लाख ३७ हजार खुद नाफा गरेको छ ।
बुधवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ६७ दशमलव ४० प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २ करोड ९५ लाखभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा ८९ प्रतिशत कम भएकाले खुद नाफामा कमि आएको हो । गत वर्ष रू. २ करोड ४८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २६ लाख ७७ हजार मात्र यो नाफा गरेको हो ।
सम्भावित जोखिम शिर्षकमा यस वर्ष रू. ३ करोड १३ लाखभन्दा बढी रकम छुट्याएकाले सञ्चालन नाफामा कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले यो शिर्षकमा रू. १ करोड ४१ लाखभन्दा बढी रकम छुट्याएको थियो ।
कम्पनीको खुद नाफामा खराब कर्जा संकलनमा कमि आउनाले पनि असर परेको देखिन्छ । गत वर्ष यस अवधिमा रू. २ करोड १८ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. १ करोड २४ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १२ करोड ७३ लाखभन्दा बढी छ । गत वर्षभन्दा यस वर्ष ४३ प्रतिशत वृद्धि भई जगेडा कोष रकम रू. ६ करोड ३१ लाखभन्दा बढी कायम भएको छ । गत वर्षभन्दा कम्पनीले ३७ दशमलव ९६ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ४५ करोड ४७ लाख कर्जा सापटी लिएको छ भने ३२ दशमलव २४ प्रतिशत बढी अर्थात् रू. ५१ करोड ९७ लाख निक्षेप संकलन गरेको छ ।
यस अवधिमा कम्पनीले गत वर्षभन्दा ३२ दशमलव ५६ प्रतिशत बढी अर्थात् रू. २ अर्ब ४ करोड ४४ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ६६ प्रतिशत रहेकोमा यस वर्ष २ दशमलव ४२ प्रतिशत पुगेको छ ।
वार्षिक प्रतिशेयर आम्दानी रू. १५ दशमलव १४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ६० रहेको छ ।
यो पनि हेर्नुस् :
१५ % ले पूँजी बढाएको गणपति लघुवित्तको खुद नाफा करीब ७६ % बढ्यो
६ महीनामा गणपति लघुवित्त वित्तीय संस्थाको नाफा ७७ % ले वृद्धि