सौर्य एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज पौडेल पक्राउ

पुस १८, काठमाडौं । त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेल पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । शनिवार विराटनगरबाट सौर्य एयरलाइन्समार्फत काठमाडौं आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेल स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् । शनिवार सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम रहेको भन्ने सूचना प्रहरीले पाएपछि सादा पोसाकमा खटिएको प्रहरीले रातो रंगको भद्रपुर लेखिएको झोला चेक गरेको थियो ।  त्यसभित्र प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुन भित्र स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ । पोखरेलको बयानका आधारमा सौर्यका स्टेसन इन्चार्ज पौडेल पक्राउ परेका हुन् । पोखरेलको प्रहरी अनुसन्धानमा उक्त रकम पौडेलले पठाएको खुलेपछि आइतवार पौडेललाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीले स्टेशन इन्चार्ज पौडेललाई राजस्व अनुसन्धान विभागमा बुझाएको स्रोतले बताएको छ ।

सम्बन्धित सामग्री