ग्लोबल आइएमई लघुवित्तले कमायो रू. १४ करोड ७८ लाखभन्दा बढी नाफा

माघ ६, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू.१४ करोड ७८ लाख ९४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २२ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ९ लाख ८० हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ४० लाख खराब कर्जा उठाएको तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्नमा टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ५५ करोड २५ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ३६ करोड ५४ लाख ४४ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब ६५ करोड १ लाख सापटि लिएर, रू. २ अर्ब ५२ करोड ६३ लाख निक्षेप संकलन गरेर रू. ७ अर्ब ६९ करोड ९० लाख कर्जा लगानी गरेको छ । खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा ३ दशलमव ४६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव ९५ मा झरेको छ ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.५३ दशमलव ५ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३४ दशमलव ४७ गुणा, तरलता अनुपात ७ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव १३ रहेको छ ।  यो पनि हेर्नुस् : २८३ % ले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा

सम्बन्धित सामग्री

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार आजदेखि शुरु

वैशाख ८, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाले बुधवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । स्पर्श लघुवित्तलाई प्राप्तिपछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कास्कीको पोखरा –२६ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुधवार आयोजित एक समारोहका बीच एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षता र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  एकीकृत कारोबार पश्चात् उक्त कम्पनीको कुल चुक्तापूँजी ४३ करोड १७ लाख २० हजार ४११ रुपैयाँ पुगेको छ । अब कम्पनीको कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार रुपैयाँ, निक्षेप/ बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६२० रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीले देशका विभिन्न ५१ ओटा जिल्लाका ९९ ओटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । साथै, वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरु १ लाख २३ हजार ४१३ जना रहेका छन् भने ६३ हजार २९० जना ऋणी सदस्यहरु रहेको कम्पनीले बताएको छ । कार्यक्रमका प्रमुख अतिथि रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा दोहोरोपनको समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्ति नै भएको बताए ।