वैशाख ८, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाले बुधवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् ।
स्पर्श लघुवित्तलाई प्राप्तिपछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कास्कीको पोखरा –२६ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुधवार आयोजित एक समारोहका बीच एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षता र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एकीकृत कारोबार पश्चात् उक्त कम्पनीको कुल चुक्तापूँजी ४३ करोड १७ लाख २० हजार ४११ रुपैयाँ पुगेको छ ।
अब कम्पनीको कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार रुपैयाँ, निक्षेप/ बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६२० रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीले देशका विभिन्न ५१ ओटा जिल्लाका ९९ ओटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।
साथै, वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरु १ लाख २३ हजार ४१३ जना रहेका छन् भने ६३ हजार २९० जना ऋणी सदस्यहरु रहेको कम्पनीले बताएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा दोहोरोपनको समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्ति नै भएको बताए ।