चैत ३०, काठमाडौं । २०७८ सालमा उच्च विन्दु कायम गरेको नेप्से परिसूचकले हजार ४०० विन्दुमा झरेर यो वर्षलाई विदाइ गरेको छ ।
२०७८ वैशाख २ गते वर्षको पहिलो करोबार खुलेको दिन २७३५ विन्दुमा पुगेर बन्द भएको परिसूचक यो वर्षको अन्तिम दिन चैत ३० गते बुधवार २ हजार ४१५ दशमलव २४ विन्दुमा बन्द भएर विदाइ गरेको छ ।
गत कारोबार दिनको तुलनामा आज नेप्से परिसूचक ३० दशमलव २४ अंकले बढेको छ । यो दिन २२९ धितोपत्रको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँमा खरीद विक्री भएको छ ।
यो वर्षको भदौ २ गते ३२०० विन्दुमाथि पुगेर परिसूचकले नयाँ रेकर्ड काय गरेको थियो । त्यस्तै २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएर कारोबार रकमको रेकर्ड ब्रेक गरेको थियो । यो दिन २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड रुपैयाँमा खरीदविक्री भएको थियो ।
यो वर्ष लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने गुमाएका पनि छन् । १२ सय विन्दुबाट लगातार उकालो लागेको बजारमा ३२ सय विन्दुसम्म पुग्दा धेरै लागनीकर्ताले धैर्य गरेर कमाए भने कतिपयले भने बढेको बजारमा लगानी गर्दा गुमाएका पनि छन् ।
यो वर्ष नयाँ रेकर्ड बनाएकोले कतिपय शेयर लगानीकर्ता हर्षित पनि भए । तर, उक्त समयमा शेयर खरीद गर्नहरू अहिले पुरपुरोमा हात लगाएर बस्न बाध्य छन् । नेप्सेले उच्च विन्दु कायम गरेको दिनको तुलनामा करीब ८ सय विन्दु तल परिसूचक झरेको छ ।
उच्च विन्दु कायम गरेर बजारमा उतरचढाव आउँदा कतिपय लगानीकर्ता पछिल्लो समय तनावमा पनि छन् । धेरै कमाउने दाउमा कतिपयले बढेकै बजारमा बैंकबाट ऋण लिएर लगानी पनि गरे । अहिले बजार घट्दा उनीहरूलाई बैंकको ब्याज तिर्न नै हम्मेहम्मे परेको अवस्था छ ।
२०७८ सालमा धितोपत्र बजारका मुख्य घटना
अहिले परिसूचक २४ सय विन्दु तल झरेको छ । यही वर्षको भदौ २ गते उच्च विन्दु ३२ सयमा पुगेर नयाँ रेकर्ड बनाएको नेप्सेले ८ महीनाको अवधिमा त्यो विन्दुलाई भेट्टाउन हम्मेहम्मे परेको छ ।
अहिले उक्त विन्दुबाट करीब ८ ०० सय अंक तल झरेर यही विन्दु आसपास कारोबार भइरहेको छ । शेयर विश्लेषक रविन्द्र भट्टराईका अनुसार जब नेप्से परिसूचक बढ्दै जान्छ, तब नयाँ लगानीकर्ताको आकर्षण पनि बढ्दै जान्छ । त्यही भएरपनि नेप्से बुलिस ट्रेण्डमा जाँदा कारोबार रकम पनि बढ्ने गर्छ ।
तर, बजामा प्रवेश गरेका लगानीकर्ताको संख्या र प्रविधिको प्रयागलाई हेर्दा बजारले आगामी वर्ष २०७९ मा नयाँ दिशा लिने कतिपय विश्लेषको आकलन छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितोमा एक बैंकबाट ४ करोड रुपैयाँ र एकभन्दा बढीबाट १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरिदिएपछि आम लगानीकर्ता सडकमै उत्रिएका थिए । यो नीतिले बजारमा नकारात्मक प्रभाव पार्ने भन्ने लगानीकर्ताको बुझाई थियो । तर, राष्ट्र बैंकले यो नीति अवलम्बन गरेर साना लगानीकर्ताको सहभागितामा सहयोग पुगेको दावी गर्दै आएको छ ।
यसैगरी यो वर्ष नेपाल धितोपत्र बोर्डको अध्यक्ष फेरबदलदेखि नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तनसम्म भए । बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका निवर्तमान सीईओ चन्द्रसिंह साउदलाई बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्न लागेको सर्बाेत्तम सिमेन्टको भित्री शेयार कारोबार गरेको आरोप लाग्यो । साउदले भदौ ८ गते राजिनामा दिए भने ढुंगानालाई सरकारले निलम्बन गर्याे ।
सरकारले बोर्डमा अध्यक्ष रमेश कुमार हमाल र नेप्सेमा कृष्णबहादुर कार्की नियुक्त गर्यो । अध्यक्ष हमाल करीब २ वर्षे बाँकी कार्यकालका लागि नियुक्त भएका हुन भने सीईओ ४ वर्षे कार्यकालका लागि नियुक्त भए । २०७८ सालमा नियुक्त भएका अध्यक्ष र सीईओले धितोपत्र बजारको सुधारमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
धितोपत्र बजारलाई सबैको सहज पहुँच हुने गरी नीतिगत व्यवस्था गर्ने पनि यो वर्ष चर्चाको विषयमा छन् । योसँगै विदेश गएकाहरूलाई आईपीओको कोटा छुट्याउँने समेतका चर्चा पनि यो वर्ष चलेका छन् ।