पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउनेलगायत माग सम्बोधन गर्न सरकारसँग पहल भइरहेको बताएका छन् । पर्वतको कुश्मामा सोमवार सामाजिक संघ संस्थाका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन् ।
आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र अनलाइन डलर एकाउण्टबाट देशमा सहज रूपमा रकम पठाउन मिल्ने व्यवस्थाका लागि नेपाल सरकारसँग पहल भइरहेको बताए । गैरआवासीय नेपालीलाई नागरिकता दिलाउने विषयमा सरकारसँग निरन्तर पहल भइरहेको उनको भनाइ थियो । आचार्यले भने, ‘नागरिकताको विषय संसदमा दुई पटकसम्म पुगिसकेको छ, अब सरकारले यो विषय टुंग्याउने आशा छ ।’
उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न पनि पहल भइरहेको बताए । सामाजिक सुरक्षा कोष स्थापना गर्न सबै तयारी पूरा भएको उनको भनाइ छ । उनले अनलाइन डलर एकाउण्ट बनाएर अनलाइनमार्फत देशमा रकम पठाउने र चाहेको बेला झिक्न मिल्ने व्यवस्था गराउने विषय एनआरएनको प्राथमिकतामा रहेको उल्लेख गरे । यस्तो व्यवस्थाले पूँजी चलायमान हुने, हुण्डीलगायत गैरकानूनी कारोबार रोकिने उनको विश्वास छ ।
आफ्नो जन्मथलो पर्वतमा पर्यटनको विकास, शिक्षामा सुधार, स्वास्थ्यका पूर्वाधार थप, धार्मिक क्षेत्रको प्रचारप्रसारमा गैरआवासीय नेपाली संघका तर्फबाट आवश्यक पहल गरिरहेको आचार्यले बताए । कुश्मामा पछिल्लो समय बढेको पर्यटकीय आकर्षणलाई दिगो बनाउन गैरआवासीय नेपालीहरूले पाँचतारे होटल सञ्चालन गर्ने योजना बनाएको उनको भनाइ छ ।