विश्वकपको उपाधि दाबेदार ब्राजिललाई धक्का लागेको छ । ब्राजिलका स्ट्राइकर नेयमारको गोलीगाँठामा चोट लागेपछि समुह चरणका आगामी खेल खेल्न नसक्ने अवस्थामा पुगेका छन् । टोलीका चिकित्सकका अनुसार टोलीका स्टार खेलाडी नेयमार दाहिने गोलीगाँठामा चोट लागेका कारण आगामी दुई खेलबाट बाहिरिएका छन् ।यसको मतलब नेयमारले कतार विश्वकपमा समूह चरणका कुनै पनि खेल खेल्न पाउने छैनन् ।सर्बियाविरुद्धको खेलको ८० औं मिनेटमा ३० वर्षीय नेयमार घाइते भएका थिए । नेयमारको गोलीगाँठामा उपचार भइरहेको बेला उनले अनुहार छोपेका थिए । खुट्टा सुन्निएको देखिन्थ्यो । यसैबीच ब्राजिलका अर्का खेलाडी डानिलो पनि खुट्टाको चोटका कारण आगामी दुई खेल खेल्न नसक्ने भएका छन् । टोलीका चिकित्सकका अनुसार दुवै खेलाडीको लिगामेन्टमा चोट लागेको छ । दुवै खेलाडीलाई आराम दिएर टोलीका आगामी महत्वपूर्ण खेल खेल्नका लागि चोटबाट निको हुने मौका दिइएको छ ।नेयमारको दाहिने खुट्टामा पछिल्ला केही वर्षयता पटकपटक चोट लागेको छ । लिगामेन्टको चोटका कारण नेयमारले २०१९ कोपा अमेरिका कप पनि खेल्न पाएनन् । यस्तै एउटा चोटका कारण उनी २०२१ मा पनि केही साता टिम बाहिर थिए ।ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० गोल अन्तरले हराएको थियो । अब ब्राजिलले स्विजरल्याण्ड र क्यामरुनसँग खेल्न बाँकि छ। नेयमारले यी दुवै खेल गुमाउने छन् ।