नर्सरी व्यवसायबाट मासिक ६ लाख कमाउँदै

काठमाडौं । पछिल्लो समय इनडोर र आउटडोरमा फूलका बिरुवा रोपिएका गमला राख्ने मोह बढ्दो छ । कार्यालय, होटल, अस्पतालमा मात्र होइन, घरको बार्दली र आँगनमा सजावटका लागि गमलामा फूल रोपेको देखिन्छ । यही सम्भावनालाई देखेर कतिपयले नर्सरी व्यवसाय थालेका छन् । तीमध्ये कतिले यसबाट मनग्ये आम्दानी पनि गरिरहेका छन् । यसको उदाहरण बनेकी छन् ललितपुरकी सावित्री थापा सञ्जेल ।  यस व्यवसायबाट मासिक ५ देखि ६ लाख रुपैयाँसम्म कमाउँदै आएको उनी बताउँछिन् । सञ्जेल भन्छिन्, ‘खर्च कटाएर पनि मासिक २ लाखदेखि ३ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ उक्त व्यवसायबाट घर खर्चका साथै दुई सन्तानलाई पनि पढाउन पुगेको उनी बताउँछिन् ।  झण्डै १६ वर्षअघि शिखा नर्सरी फार्म दर्ता गरेर सञ्चालन गरिरहेकी छिन् उनले । उनले काठमाडौंको थापाथली र रविभवन र ललितपुरको भैंसेपाटी गरी तीनओटा ठाउँमा नर्सरी सञ्चालन गरेकी छन् । नर्सरीबाट आफू मात्रै रोजगार बनेकी छैनन्, १० जनालाई रोजगारी पनि दिएकी छन् उनले ।  उनको नर्सरीमा फूल र फलसँगै तरकारीका बिरुवा पनि पाइन्छन् । नर्सरीमा सयपत्री, मखमली, इन्द्रकमल, गुलाब, चम्पालगायत फूलका बिरुवा पाइने गरेको उनले बताइन् । यस्तै सुन्तला, मुन्तला, जुनार, कागती, लिची, आँप, एबोकाडो, ड्रेगन फ्रुट, स्ट्रबेरीलगायतका बिरुवा पनि उनको नर्सरीमा पाइन्छन् । उनको नर्सरीमा पाइने तरकारीका बिरुवाहरूमा खुर्सानी, फर्सी लगायतका छन् ।  नर्सरीमा २० रुपैयाँदेखि १५ हजारसम्मको बिरूवाहरू पाइने गरेको उनी बताउँछिन् । नर्सरीमा उत्पादित बिरुवाहरू काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा खपत हुने गरेको उनले बताइन् । आफूकहाँ २० देखि ३० वर्ष उमेरका व्यक्तिहरू बिरुवा किन्न आउने गरेकाे उनको भनाइ छ ।  बिरुवासँगै उनको नर्सरीमा माटो मल, पिनालगायत किन्न पाइन्छ । त्यससँगै उनले घरघरमा बिरूवा रोपिदिने, ढुङ्गा छाप्ने, दुबो रोप्ने, फाउन्टेन बनाउने लगायतको सेवा दिने गरेकी छन् ।   'नर्सरी चलाउन जग्गाकै समस्या' नर्सरी सञ्चालनका लागि जग्गाकै समस्या हुने गरेको उनी बताउँछिन् । जग्गाधनीले लामो समयका लागि जग्गा नदिने गरेकाले नर्सरी विभिन्न ठाउँहरूमा सार्दै आउनु परेको उनको गुनासो छ । 'एक ठाउँबाट अर्कोमा नर्सरी सार्दा ४ देखि ५ लाख रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भनिन् । स्थानीय सरकारले नर्सरीका लागि खाली रहेकाे सरकारी जग्गा उपलब्ध गराउनुपर्ने उनको माग छ ।  नेपालमा फूल खेती मौसमअनुसार हुने गरेको उनी बताउँछिन् । यद्यपि, अहिले वर्षभरि नै फूलको खेती हुने गरेको छ । वर्षभरि फूल खेती हुने गरेकाले बिरुवाहरूको माग दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ । 

सम्बन्धित सामग्री

पचपन्न रुपैयाँबाट  व्यवसाय शुरू गरेका धरानका कृष्ण राई, जो कृषिबाटै करोडपति बने

धरान (सुनसरी) । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर शहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेशमै ठूलो सम्भावना रहेको देख्छन् । कृषिबाटै नाम र दाम कमाउनु भएको उनि भन्छन्, “अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ”, सोताङ अर्ग्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गर्नु भएका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोडेका छन्, भव्य घर बनाउनुभएको छ । कृषिबाट उनि आफुले मात्र कमाएका  छैनन्, अरुलाई पनि रोजगारी दिएका छन् । कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ विघा किनेका छन् ।  ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाउनु भएको छ भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी  बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन् । त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्ने गर्छन् भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्ने गर्छन् । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पालेका छन् । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गर्नु भएको छ भने त्यससँगै माछा पनि पालेका छन् । उनको सोताङ अर्ग्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु १२ लाखको हाराहारीमा कमाई भइरहेको उनि बताउँछन् ।            अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको शुरूआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनि भन्छन्, “शुरूमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।” सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देख्नुभयो । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाउनुभयो । “त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ”, उनि सम्झिन्छन्, “त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।” कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उनिका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाले । उनि भन्छन्, “कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।” खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोग्नुभयो तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनि अरुलाई पनि सिकाउँछन् । उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन् । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन्। उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उनि भन्छन्, ‘‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’’            अर्गानिक गाउँ धरान उपमहानगरपालिका–४ मा पर्ने बसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उनिकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरु खुलेका छन् । कृषिबारे बुझ्न आउनेहरुका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ । कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्ग्यानिक बनाउन निक्कै मिहिनेत गर्नु परेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि शुरूका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु भएको थियो । तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उनले किन यस्तो भयो ? भनेर कारण खोजे  । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ । बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ति गरेको महशुस गरी उनले त्यसलाई सुधार्ने बाचा गरे । तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उनको अनुभव छ । माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले । जैविक वनस्पतीकै विषादी बताए। जैविक मल र विषादी बनाउने काम अहिले पनि गरेका छन् । उनि भन्छन्, ‘‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अर्ग्यानिक खेतीका अभियन्ता बनेको हुँ ।’’ अर्ग्यानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । उनि भन्छन्, ‘‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिन तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्र्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरुलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ ।’’ अहिले उनको पाइला पछ्याउँदै बसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्ग्यानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्ग्यानिक कृषि नै रहेको उनि बताउँछन् । बसन्तटार अहिले कृषि अभियन्ताहरुका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणाका स्रोत समेत बन्नु भएका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरेका छन् । परिवारसहित कृषिमै रमाइरहनु भएका राई भन्छन्, “कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावनै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरुले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन ।” रासस

पढाई अनुसारको काम गर्दा ५० प्रतिशतसम्म नाफा कमाउने दुई युवा,आयात पनि विस्थापित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरिरहेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले दिइरहेका छन् । चन्दले मासिक ६० हजार रुपैयाँसम्मको बोट बिरुवा विक्री वितरण गर्दै आएको बताएका छन् । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताए । “विगतमा फलफूल र नर्सरी, सार्वजिनक कार्यालय र पालिका सजावटका लागि भारतीय नागरिकको भर पर्नुपर्ने अवस्था थियो”, उनले भने, “आर्थिक तरलताले व्यवसायमा केही मन्दी देखिए पनि व्यवसायमा निराश हुनुपर्ने अवस्था छैन ।” फलफूलका बिरुवा उत्पादन गरी विक्री वितरणका साथै माग गरेको  स्थानमा ग्रिनहाउस, होटल तथा प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गर्नुभएका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताए । “व्यवसाय बढाउन फेरि जमिन भाडामा लिने योजना गर्दैछु”, उनले भने, “मेहनत गरे घरपरिवारसितै बसेर जीविका चलाउन कुनै समस्या छैन ।” गाउँ तथा नगरपालिका कार्यालय प्रायः सबैले नर्सरी सजावटका लागि फूलका बिरुवा, प्लान्ट खरीद गर्ने गरेको चन्दको भनाइ छ । “बीउ र कलमबाट उत्पादित बिरुवा र सजावटका बिरुवा बाहिरबाट आयात गर्छौँ”, उनले भने, “पछिल्लो समय उत्पादित फूलको बजारमा माग पनि बढ्दै छ ।” विज्ञान अध्ययनका साथै कम्प्युटर विषयमा स्नातक गरेका चन्दले कृषिसम्बन्धी काम गर्ने योजनाका साथ अघि बढेको बताए । आफूले कहीँकतैबाट पनि नर्सरीका लागि अनुदान वा सहयोग नलिएको उनको भनाइ छ । कञ्चनपुरमा पछिल्लो समय नर्सरी सञ्चालन गरी फलफूलका बिरुवा उत्पादन गर्ने क्रम बढिरहेको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका–७ जुडामा ३२ वर्षीय युवा मदन धामी लामो समयदेखि बुवासितै नर्सरी सञ्चालनमा छन् ।  एक बिघामा नर्सरी बनाएर विभिन्न बिरुवा तथा फलफूलका बोट उत्पादन गरिरहेको बताउँदै धामीले वार्षिक १५ लाख रुपैयाँको कारोबार हुने गरेको बताए । “यहाँ उत्पादित फलफूल तथा अन्य बोटबिरुवा सुदूरपश्चिम प्रदेशको ९ ओटै जिल्लामा निर्यात हुँदै आएको छ”, उनले भने, “अझै पनि मागअनुसारको बिरुवा उत्पादन गरी उपलब्ध गराउन सकिएको छैन ।” आफ्नो परिवार विगत तीन दशकयता नर्सरी बनाएर बिरुवा उत्पादन गरिरहेको उनले बताए । “आँप दश जातका साथै चार प्रकारको लिची, कागती, नास्पति, अनार, बाँसका प्रजाति, श्रीखण्ड, रक्तचन्दनको बोट उत्पादन हुन्छ ।” उनले भने, “चालू आर्थिक वर्षमा नर्सरीमा टनेल बनाउन कृषि ज्ञान केन्द्रबाट १ लाख रुपैयाँ अनुदान रकम मिलेको छ ।” जेटिए पढेका धामीको परिवारका अन्य दाजुभाइले पनि यहाँ दुईओटा नर्सरी बनाएर बिरुवा उत्पादनमा गर्दै आएका छन् । “युवा स्वरोजगारमा सरकारले लगानी बढाएर युवालाई कृषि र नर्सरीमै लगाए पनि विदेशिनुपर्ने अवस्था आउँदैन”, धामीले भने, “कृषिमा बजेट भए पनि युवा अझै आयमूलक कामभन्दा मजदुरीकै लागि अन्यत्र जाने गइरहेका छन् ।” पछिल्लो समय स्थानीयस्तरमै फलफूलका बिरुवा उत्पादन बढेपछि भारतबाट आयात गर्ने क्रम घटेको उनले बताए । “व्यावसायिकरूपले फलफूल लगाएर आम्दानी गरौँ भन्ने सोचको विकास भएको देखिँदैन”, धामीले भने, “मेहनत गरेर थोरै क्षेत्रफलमा नर्सरी बनाए पनि आम्दानी गर्न सकिन्छ ।” रासस

स्याउका बिरुवा विक्री नहुँदा जलाएर नष्ट

जुम्ला । जुम्लामा स्याउका बिरुवा विक्री नभएपछि जलाएर नष्ट गरिएको छ । विक्रीका लागि लगाइएका, तर विक्री नभएपछि किसानले बिरुवा नष्ट गरेका हुन् । जुम्लाको पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढाले विक्री नभएपछि करीब ६ हजार स्याउका बिरुवा जलाएर नष्ट गरेका हुन् । यसअघि स्याउका बिरुवा बेचेरै औसत मासिक २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले यस वर्ष विक्री नभएपछि जलाउनुपरेको सुनाए । ‘स्याउका बिरुवा बेचेर वार्षिक २४ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको थिएँ,’ उनले भने, ‘यसपालि विक्री नभएपछि उखेलेर जलाएर नष्ट गरेँ ।’ उनले २ दशकदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई स्याउको बिरुवा विक्री नहुँदाको पीडा छ । यस वर्ष ९ हजार स्याउका बिरुवा उत्पादन गरेका उनी एउटा पनि विक्री नभएपछि निराश देखिन्छन् । ‘९ हजार बिरुवा उत्पादन गरेको छु,’ न्यौपानेले भने, ‘हालसम्म एउटा पनि विक्री भएको छैन ।’ जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा हाल स्याउका ११० नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गर्दै आएका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले किसानले उत्पादन गरेको स्याउका बेर्ना विक्री नभएको गुनासो आएको बताए । रासस