भारतको चामल निर्यात प्रतिबन्धले झस्कियो सरकार, गोदामहरू भर्ने निर्णय

१४ साउन, काठमाडौं । भारतले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ४ साउनदेखि बासमतीबाहेकको चामल निर्यातमा रोक लगाएपछि सरकारले आपूर्ति व्यवस्था बिथोलिनसक्ने निष्कर्ष निकालेको छ । आइतबार सिंहरबारमा मुख्यसचिव बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले खाद्यान्नको मूल्य चर्किन सक्ने र अभावसम्म सिर्जना हुनसक्ने निष्कर्ष निकाल्दै त्यसका विरुद्ध लड्न विभिन्न कामहरु अघि बढाउने निर्णय गरेको छ […]

सम्बन्धित सामग्री

उसिना चामल निर्यातमा पनि भारतको कडाइ

भारतको वित्त मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै आगामी अक्टोबर १६ सम्म सबै प्रकारका उसिना चामलमा २० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो । काठमाडौं। एकपछि अर्को गर्दै खाद्यवस्तु निर्यातमा कर लगाउँदै आएको भारतले दशैं नजिकिँदै गर्दा उसिना चामलमा समेत २० प्रतिशत निर्यात कर लगाएको छ । बजारमा चामलको मूल्य बढेको भन्दै निर्यात निरुत्साहन गर्न भारत सरकारले उसिना चामलमा कर लगाएको हो । भारतीय वित्त मन्त्रालयले एक सूचना जारी गर्दै आगामी अक्टोबर १६ सम्म सबै प्रकारका उसिना चामलमा निर्यात कर लगाउने निर्णय गरेको हो । यसअघि नै भारतले देशका प्रमुख धान उत्पादन क्षेत्रमा कम वर्षा भएकाले उत्पादन घट्न सक्ने प्रक्षेपण गर्दै सबै प्रकारका गैरबासमती चामल निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । केही दिनअघि मात्रै भारतले आन्तरिक बजारमा मूल्य बढ्न सक्ने भन्दै प्याज निर्यातमा लाग्ने शुल्क ४० प्रतिशत पुर्‍याएको छ । यसले गर्दा अचेल नेपाली बजारमा प्याजको भाउ छोइनसक्नु भएको छ । भारतले चामल निर्यातमा कडाइ गरेपछि खाद्य आपूर्तिको शृंखला बिग्रन गई यसले नेपाललगायत भारतबाट चामल आयात गर्ने मुलुकमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ । भारत विश्वमा चामल निर्यात गर्ने प्रमुख राष्ट्रमध्येमा पर्छ । नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष कुमुदकुमार दुगडले नेपालमा अहिले करीब २ महीनालाई पुग्ने चामल मौज्दात रहेकाले भारतको निर्णयले तत्कालै असर परिहाल्ने अवस्था नदेखिए पनि दीर्घकालमा असर पर्न सक्ने संकेत देखिएको बताए । उनका अनुसार भारतले यसअघि निर्यात प्रतिबन्ध लगाएका धान र गैरबासमती चामलको निर्यात खुला गर्न नेपाल सरकारका तर्फबाट कूटनीतिक पहल भएकाले निर्यात खोल्ने सम्भावना पनि छ । ‘भारतले निर्यात खुला गरिदियो भने त केही असर पर्दैन, मानेन भने नेपाली बजारमा ठूलो असर पर्ने निश्चित छ । भारतीय चामल नआउने हो भने दशैंसम्ममा बजारमा असर देखिन थाल्छ,’ उनले आर्थिक अभियानसँग भने । अहिले बजारमा चामलको माग पनि कम छ, जसले गर्दा प्रतिबोरा चामलमा ५० रुपैयाँ जति मूल्य घटेको उनले बताए । केही साताअघि मात्रै अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा चाप पर्ने र बाँकी विश्वमा खाद्य पदार्थको मूल्यमा उतारचढाव बढाउने बताउँदै प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । तर, भारतले यस्ता कुरामा खासै ध्यान दिएको देखिँदैन । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग यतिबेला नौ हजार ८४ मेट्रिक टन मात्रै चामल मौज्दात रहेको कम्पनीका अधिकारी बताउँछन् । यसबाहेक ५ सय ९५ मेट्रिक टन धान कुटानी भएर कम्पनीले प्राप्त गर्ने क्रममा छ । मुलुकमा खाद्यान्न संकट वा अन्य कुनै प्राकृतिक विपदका कारण भोकमरी हुने अवस्था आए त्यसबेलाका लागि भनेर सरकारले खाद्यान्न भण्डारण गरेर राख्छ । संकटका लागि खाद्यान्न जोहो गरेर राख्नुपर्ने प्रावधानअनुसार खाद्य कम्पनीसँग ३३ हजार टन खाद्यान्न मौज्दात हुनुपर्ने हो तर छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले टेन्डरमार्फत किन्न खोजिएको चामल समयमै नआउँदा मौज्दात कम भएको बताए । भारतले चामल निर्यातमा गरेको कडाइका कारण नेपालमा त्यसको असर पर्ने संकेत देखिएको पनि उनले बताए । ‘बजारमा चामल अभाव हुने हो कि वा खाद्यान्न संकट हुने हो कि भन्ने खालको त्रास उपभोक्तामा छ । सर्वसाधारणमा त्रास छाए जस्तो हिसाबले खाद्यान्न संकटकै अवस्था आउने सम्भावना छैन,’ उनले भने । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले यस्तो बेलामा बजारमा कालोबजारी मौलाउन सक्ने भएकाले उपभोक्ता संयमित हुन जरुरी रहेको बताए । उनका अनुसार सरकारले पनि भारतले निर्यातमा कडाइ गर्‍यो भनेर चुप लागेर बस्नुभन्दा कूटनीतिक पहलमार्फत आयात खोल्न पहल गर्नुपर्नेमा जोड दिनुपर्छ । उपभोक्तामा त्रास पैदा हुन नदिन उपभोक्तालाई आश्वस्त पार्ने जिम्मेवारी पनि राज्य कै हुने उनले बताए ।  त्यसो त सरकारले भारतको निर्यात प्रतिबन्धका कारण बजारमा धान, चामल र चिनीजस्ता खाद्यवस्तुको आपूर्ति प्रभावित हुन सक्ने आकलन गर्दै डेढ लाख टनभन्दा बढी खाद्यान्न नेपालमा निर्यात गर्न पत्राचार गरेको छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साउन अन्तिम साता दिएको जानकारीअनुसार १ लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा निर्यात गर्ने अनुमति दिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिएको छ ।  नेपाललाई स्वदेशी उत्पादनको चामलले पुग्दैन । नेपालमा वार्षिक ५५ लाख मेट्रिक टन हाराहारी धान उत्पादन हुन्छ । त्यसबाट ३५ लाख मेट्रिक टन हाराहारी चामल तयार हुन्छ । नेपालीलाई वर्षभर भात खान करीब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने अधिकारीहरूको भनाइ छ ।  यस हिसाबले नेपालको चामल माग धान्न ५ लाख टन हाराहारी चामल आयात गर्नुपर्छ । नेपालमा एक दर्जनभन्दा बढी देशबाट धान, चामल आयात भएको देखिए पनि ९९ प्रतिशत भारतबाटै आयात भएको सरकारी तथ्यांकले देखाउँछ ।  भन्सार विभागका अनुसार गत आव २०७९/८० मा नेपालमा २ लाख २५ हजार ४६ टन चामल र ५ लाख ५५ हजार ८६९ मेट्रिक टन चामल बनाउने धान विदेशबाट आयात भएको देखिन्छ । नेपालमा धान, चामल आयात हुने अन्य देशमा चीन, भुटान, जापान, इन्डोनेशिया, भियतनाम, क्यानडा, अमेरिका, ओमन, थाइल्यान्डलगायत छन् ।

भारतीय प्रतिबन्धको पाठ

विश्व भूराजनीतिक विवादका कारण खाद्यान्न आपूर्ति प्रभावित हुने देखिएपछि र स्वदेशी चामलको उत्पादन घट्ने भएपछि मूल्यवृद्धि रोक्न भारत सरकारले चामल निर्यातमा रोक लगाएको घोषणा गरेको छ । यस्तो निर्णयले तत्काल नेपाललाई असर पार्ने वा नपार्ने भन्नेबारे चाहिँ यकीन छैन, किनकि भारतले अन्य मुलुकका लागि सामूहिक निर्णय गरे पनि नेपालको हकमा खुकुलो हुने गरेको छ । गहुँमा प्रतिबन्ध लगाउँदा नेपालको आग्रहअनुसार भारतले निर्यातको अनुमति दिएको थियो । तर, यस्ता निर्णयबाट नेपालले भने सिक्नैपर्छ । नेपाल–भारत सम्बन्ध सधैं एकनास नहुन सक्छ । सरकारी नेतृत्वले चाहँदा चाहँदै कुनै बेला परिस्थितिजन्य कारणले भारत नेपालप्रति कडा बन्नुपर्ने अवस्था आउन सक्छ । विदेशी मुलुकहरूले जुनसुकै बेला आफूअनुकूल निर्णय गर्ने भएकाले नेपालले अहिले भइरहेको उत्पादन वृद्धिमा लाग्नुपर्छ ।  नेपाल कृषि प्रधान देश भए पनि खाद्यान्नमा परनिर्भरता बढ्दो छ । सरकारले कृषिमा आत्मनिर्भर हुने भन्ने जति नै नारा लगाए पनि एकातिर सही नीति निर्माण गरी कार्यान्वयन गर्न सकेको छैन भने अर्कातिर मल, बीउ, सिँचाइमा युद्धस्तरमा काम गर्न सकेको छैन । विप्रेषण आयले गर्दा जनताले आयातित चामल खरीद गर्न सक्ने भएकाले सरकारले यसलाई कहिल्यै समस्याका रूपमा लिएन । भारतले बारम्बार खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ तर सरकारले यसलाई कहिल्यै पनि गम्भीर समस्याका रूपमा लिएको पाइँदैन । यस्तो समस्या बारम्बार आइरहेकाले नेपालले अब कृषि उत्पादन वृद्धिका लागि मरिमेटेर लाग्नुपर्छ र यस्ता अवरोधबाट पाठ सिक्दै काम गर्ने अवसरका रूपमा लिनुपर्छ ।  विगतमा धानचामल निर्यात गर्ने सक्ने मुलुक अहिले उल्टो यात्रामा गयो भनेर टिप्पणी गरेको पनि पाइन्छ । तर, त्यति बेला सडक असुविधाका कारण पहाडी क्षेत्रमा तराईमा उत्पादित चामल पुग्न सक्दैनथ्यो । नेपालीहरूले भात खाने चलन पनि कमै थियो । केही प्रमुख बजारबाहेक अन्यत्र चामल किन्नसमेत सहज थिएन । त्यसैले नेपाल चामलमा कहिल्यै आत्मनिर्भर छैन भन्न सकिन्छ । यसलाई पहिला आत्मनिर्भर थिएन त अब पनि हुन सक्दैन भन्ने अर्थका रूपमा भने बुझ्नु हुँदैन । संसारका धेरैजसो मुलुक मेहनत गरेरै बनेका हुन् । ८० को दशकसम्म नेपालकै हाराहारी मानिने सिंगापुर ‘एशियन टाइगर’ को रूपबाट परिचित हुन थालिसकेको छ । दोस्रो विश्वयुद्धमा युद्धले थिलथिलो भएको जापान अथक मेहनतका कारण सम्पन्न हुन सकेको हो । त्यसैले नेपालले अब केही गर्न सक्दैन भन्ने होइन । आवधिक योजना बनाउन थालेदेखि नै कृषिलाई उच्च प्राथमिकतामा राखे पनि सरकारले गम्भीरतापूर्वक काम गर्न नसकेका कारण नेपालले प्रगति गर्न नसकेको हो । कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान अझै धेरै छ यद्यपि यसको अंश घट्दै गएको छ । विश्वभरि नै कृषिक्षेत्रको योगदान घटी उद्योगको योगदान बढ्ने प्रवृत्ति रहेकामा नेपालमा कृषिले प्रगति गर्न नसक्दा सेवा क्षेत्रले अर्थतन्त्रको विस्तारमा सर्वाधिक योगदान दिइरहेको छ ।  विगतमा चामल निर्यात गर्न सक्नुको कारण विश्लेषण गरी चामलको विकल्पका खाद्य वस्तु उपभोगको संस्कृति निर्माणका लागि सरकारले पहल शुरू गरिहाल्नुपर्छ । त्यस्तै महँगो चामलभन्दा अन्य कृषि उपज प्रयोग गर्ने बानी बढाउन सकियो भने पनि चामल आयात कम हुन सक्छ । नेपालको सबै माटोमा धान खेती हुँदैन । त्यसैले धानखेती नहुने ठाउँमा अन्य खेती गर्न सहयोग र प्रोत्साहनको आवश्यकता छ । यसले ती वस्तुको उपभोग बढाउन मद्दत गर्न सक्छ र चामल आयात हुन नसके पनि खाद्य सुरक्षामा बलियो बन्न सकिन्छ । यी सबै काम गर्न सरकारसँग एकातिर स्पष्ट योजना हुनुपर्छ र अर्कोतर्फ इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ, जुन अहिलेसम्म नेपाली जनताले अनुभूति गर्न पाएका छैनन् ।

भारतले चामल निर्यातमा लगायो रोक

भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिनालगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुन सक्ने देशभित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।