काठमाडौं । देशको सबैभन्दा ठूलो र पुरानो कालीमाटीस्थित फलफूल तथा तरकारी बजार (kalimatimarket) मा मुख्य गरी भारत र चीनसहित देशका १९ जिल्लाबाट तरकारी, फलफूल, माछा र मसला भित्रिने गर्छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, बारा, चितवन, मकवानपुर, धादिङ, काभ्रे, दोलखा, गोरखा, नवलपरासी, नुवाकोट, पर्सा, रामेछाप, सर्लाही, सिन्धुली, सिन्धुपाल्चोक, सल्यान, दाङसहितका जिल्लाबाट कालीमाटी फलफूल तथा तरकारी बजार (Kalimati fruit and vegetable market) ले नियमित रूपमा तरकारी र फलफूल भित्र्याउने गर्छ ।
दैनिक ४ करोड रुपैयाँसम्मको कारोबार हुने कालीमाटी बजारमा आन्तरिक स्रोतबाट भित्रिने फलफूल र तरकारीमा सबैभन्दा बढी अंश मकवानपुरको छ । मकवानपुरबाट १७ दशमलव ७७ प्रतिशत तरकारी र फलफूल भित्रिने गरेको तथ्यांकले देखाएको छ । त्यसैगरी सबैभन्दा कम दाङबाट भित्रिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले तथ्यांकमा उल्लेख भएका जिल्लाबाहेक अन्य जिल्लाबाट समेत कालीमाटीमा तरकारी भित्रिने तर परिमाण निकै सानो भएकाले छुट्टै तथ्यांक राख्ने चलन नभएको बताए ।
‘गतवर्ष मात्रै कैलाली, कञ्चनपुर, बर्दिया र सुर्खेतसहित ५० भन्दा बढी जिल्लाबाट कालीमाटीमा तरकारी भित्रिएको थियो । तर, त्यो परिमाण निकै सानो भएकाले हामीले त्यसको तथ्यांक अन्य शीर्षकमा राखेका छौं,’ उनले भने । उनका अनुसार आन्तरिक बजारबाट बढीजसो तरकारी आयात हुन्छ । भारतबाट माछा, आलु र प्याज (Potato and onion) बढी मात्रामा भित्रिने गर्छ । फलफूल, लसुन र मसला चीनबाट भित्रिने गरेको छ ।
आलु र प्याजमा भारतको भर पर्नुको विकल्प नभएको श्रेष्ठ बताउँछन् । सरकारको तथ्यांकअनुसार नेपालमा २ लाख ८९ हजार मेट्रिक टन प्याज र ३३ लाख २५ हजार मेट्रिक टन आलु उत्पादन हुन्छ । यतिले आन्तरिक माग नधान्ने हुँदा भारतको भर पर्नुपरेको हो ।
तरकारी तथा फलफूल उत्पादन हुने स्रोत जिल्लाबाट कुनै पनि तरकारी वा फलफूल काठमाडौंसम्म आइपुग्दा त्यसको मूल्य २० प्रतिशतसम्म बढ्ने गर्छ । त्यो चिज उपभोक्तासम्म पुग्दा मूल्य ८० प्रतिशतसम्म बढ्ने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले बताए ।
उनका अनुसार जिल्लाबाट फलफूल र तरकारी काठमाडौं ल्याउँदा ५ प्रतिशत कुहिएर जान्छ । खुद्रा व्यापारीले कालीमाटीबाट किनेर उपभोक्तासम्म पुर्याउँदा ८ देखि १० प्रतिशत खेर गइसकेको हुन्छ । त्यसमाथि ढुवानी भाडा र श्रमिक खर्च जोड्दा फलफूल र तरकारीको मूल्य उपभोक्तासम्म पुग्दा स्रोतमा भन्दा निकै महँगो भइसक्छ । तरकारीको स्रोतबाट उपभोक्तासम्म पुग्दा खेर गएको फलफूल वा तरकारीको मूल्य पनि उपभोक्तामाथि पर्ने हुँदा मूल्यवृद्धि उच्च देखिने हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्यांकअनुसार त्यहाँको कुल कारोबारमा तरकारीको अंश सबैभन्दा बढी ८५ दशमलव ४१ प्रतिशत छ । फलफूल कारोबार ८ प्रतिशत, मसला वस्तुको कारोबार ५ दशमलव शून्य ५ प्रतिशत, माछाको कारोबार १ दशमलव ३० प्रतिशत र अन्य वस्तुको कारोबार शून्य दशमलव ५१ प्रतिशत हुने गरेको छ ।
तत्कालीन खाद्य तथा कृषि बजार सेवा विभागअन्तर्गत २०४३ असोज १५ देखि सञ्चालनमा आएको कालीमाटी बजारमा तरकारी, फलफूल, मसला वस्तु, माछालगायत १ सय १५ भन्दा बढी प्रकारका वस्तु किनबेच हुने गरेको छ ।
कालीमाटी बजारमा दैनिक ७ सयदेखि ९ सय टनसम्म तरकारी र फलफूल भित्रिने गरेको छ । यहाँ थोक विक्रेताको बाहुल्य छ । आलु, प्याज, ताजा तरकारी, फलफूल तथा माछाको न्यूनतम थोक कारोबारको परिमाण ५ किलोग्राम तोकिएको छ । नियमावलीमा भएको प्रावधानअनुसार बजारको ९ प्रतिशत स्थान सहकारी संघसंस्था तथा कृषक समूहका लागि व्यवस्था गरिएको छ ।
यो बजारका मुख्य ग्राहक अन्य बजारका थोक तथा खुद्रा व्यापारी, साइकल व्यापारी, होटेल, रेस्टुराँ, होस्टेल, स्कूल तथा आम उपभोक्ता प्रमुख छन् । थोक कारोबारका लागि तोकिएको परिमाणभन्दा कम खरीद गर्न चाहने उपभोक्ताका लागि खुद्रा बजारको पनि व्यवस्था छ । कालीमाटी बजारमा थोक र खुद्रा गरी ५ सयभन्दा बढी व्यापारी छन् ।
कालीमाटीको बजार ४५ रोपनी क्षेत्रफलमा छ । समितिअन्तर्गत कालीमाटीबाहिर बालाजु माछापोखरीमा २ रोपनी १२ आनामा खुद्रा कारोबार गर्ने बजार खोलिएको छ । कीर्तिपुर नगरपालिकाको चोभारमा करीब २३ रोपनी जग्गामा फलफूल तथा पुष्प बजार निर्माणाधीन अवस्थामा छ । त्यसैगरी धादिङको नौबीसेस्थित आफ्नै स्वामित्वको करीब ४ दशमलव ८ रोपनी जग्गामा संकलन केन्द्र स्थापना गर्ने समितिको योजना छ ।
कालीमाटी बजार व्यवसायी समितिका अध्यक्ष आचार्यले कालीमाटी देशकै सबैभन्दा पुरानो र ठूलो तरकारी तथा फलफूल बजार भएकाले यसलाई देशको प्रतिनिधि बजार मान्नुपर्ने बताए । पछिल्लो समय काठमाडौं उपत्यकाभित्र ठूला तरकारी बजार अरू पनि १०/१२ ओटा खुलेका छन् । तर, तरकारीको मूल्यका हिसाबले कालीमाटी बजारमा सबैको चासो हुने गरेको उनले बताए ।
उपभोक्ता बजार छैन
काठमाडौं उपत्यकामा ठूला तथा थोक तरकारी बजार १३ ओटा छन् । तर, उपभोक्ता बजार (consumer market) नहुँदा न त उपभोक्ताले सही मूल्यमा तरकारी किनेर खान पाएका छन् न पायक पर्ने ठाउँमा किन्ने सुविधा । सबै उपभोक्ता कालीमाटी वा अन्य थोक बजारमा गएर तरकारी किन्न सक्ने अवस्थामा हुँदैनन् । उपभोक्ताका लागि हरेक वडा वा टोलमा एउटा उपभोक्ता बजार स्थापना गर्न सके उपभोक्ताले सहज रूपमा किन्ने वातावरण बन्ने व्यवसायी बताउँछन् ।
यसो गर्दा स्थानीय रूपमा तरकारी उत्पादन गर्ने किसानलाई समेत फाइदा हुने अध्यक्ष आचार्य बताउँछन् । महानगरका साथै अन्य नगरपालिकाले अहिले उपभोक्ता बजारलाई खासै प्राथमिकतामा नराखेको गुनासो बढिरहेको छ ।
#import #export #vegetable #kalimatimarket #abhiyandaily #aarthikabhiyan