नेपालमा पछिल्लो समय वित्तीय पहुँच पर्याप्त बढे पनि अझै सुदूर ग्रामीण क्षेत्रमा वित्तीय सेवा पुग्न सकेको छैन । बैंकहरूको शाखा खोल्नुमात्रै वित्तीय पहुँच होइन, त्यसबाट सर्वसाधारणले वित्तीय सेवा सहजै लिन पाउने अवस्था महत्त्वपूर्ण हो । गाउँगाउँमा वित्तीय पहुँच पुर्याउन, आर्थिक क्रियाकलाप बढाउन सहकारीहरूको भूमिका ठूलो छ । यद्यपि शहरी क्षेत्रमा सञ्चालित केही सहकारीहरूले सदस्यहरूलाई उनीहरूको निक्षेपको रकम नदिएर बेइमानी गरेको पाइन्छ । केही त पलायन पनि भएको पाइन्छ । वित्तीय पहुँचका लागि बैंक तथा वित्तीय संस्था जत्तिकै सहकारी पनि प्रभावकारी देखिएको छ ।
शहर बजारका कतिपय सहकारी वित्त कम्पनीजस्तै गरी सञ्चालनमा रहे पनि तिनको उद्देश्य, गठन प्रक्रिया, सञ्चालन र नियमनका तौरतरीका भने फरक छ ।
वित्त कम्पनीको स्थापना बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७४ बमोजिम हुन्छ भने सहकारीको स्थापना र सञ्चालन सहकारी ऐन २०७४ अनुसार हुन्छ । वित्त कम्पनीहरूको नियामक निकाय नेपाल राष्ट्र बैंक हो भने सहकारीलाई सहकारी बोर्डले नियमन गर्छ । ठूला सहकारीको नियमनमा समस्या रहेको छ । नेपालमा वित्त कम्पनी अर्थात् ‘ग’ वर्गको वित्तीय संस्थाको संख्या १७ छ भने ३५ हजारभन्दा बढी सहकारी रहेका छन् । वित्त कम्पनीमा बचत गर्नेहरूले ब्याज आर्जन गर्छन् । तर ती त्यसका मालिक वा शेयर होल्डर हुँदैनन् । लघुवित्तमा कारोबार गर्न शेयर होल्डर बन्नुपर्दैन । तर, सहकारीमा भने सदस्य नबनेसम्म कारोबार गर्न पाइँदैन । सदस्यहरू भनेका सहकारी संस्थाको वास्तविक मालिक पनि हुन् ।
वित्त कम्पनीहरू कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएका हुन्छन् । बैंक तथा वित्तीय संस्था ऐन, २०७४ बमोजिम सञ्चालन गरिएका हुन्छन् । सहकारी संस्थाहरू सहकारी विभागअन्तर्गत कार्यक्षेत्रको आधारमा स्थानीय तह, प्रदेश सहकारी विभाग वा संघीय सहकारी विभागमा दर्ता हुन्छन् र सहकारी ऐन, २०७४ बमोजिम सञ्चालन हुन्छन् । वित्त कम्पनी स्वीकृत प्रबन्धपत्र तथा नियमावली र कार्यविधि तथा निर्देशिकाहरूको आधारमा सञ्चालन हुन्छ भने संस्थाहरू स्वीकृत विनियम, साधारणसभाबाट अनुमोदन गरिएको नीति तथा कार्यविधिहरूको आधारमा सञ्चालन हुन्छन् । वित्त कम्पनीहरूले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम पूँजीगत आधार कायम गर्नुपर्छ । सहकारी संस्थाको हकमा भने विनियममा व्यवस्था भएबमोजिम र कुल बचत निक्षेपको १५ भागको १ भाग अर्थात् १ः१५ हुने गरी शेयर पूँजी कायम गर्नुपर्ने हुन्छ । वित्तीय संस्थाहरूलाई चुक्ता पूँजीको आधारमा क, ख, ग, घ वर्गमा विभाजन गरिएको हुन्छ । सहकारीहरूको कार्यप्रकृति र विषयका आधारमा सहकारीहरूको वर्गीकरण गरिएको हुन्छ । जस्तै वित्तीय कारोबार गर्ने, बचत तथा ऋण सहकारी, कृषि काम गर्ने कृषि सहकारी, श्रमिक सहकारी, उपभोक्ता सहकारी, सञ्चार सहकारी, यातायात सहकारी आदिमा वर्गीकरण गरिएको पाइन्छ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा जोखिमको आधारमा १.३, ५, २५, ५०, १०० प्रतिशत नोक्सानी व्यवस्था गरेका हुन्छन् । सहकारी संस्थाले भने जोखिमको आधारमा १ प्रतिशत, ३५ प्रतिशत र १०० प्रतिशत कर्जा जोखिम व्यवस्था गरेका हुन्छन् । वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई शेयर कारोबार गर्ने व्यवस्था हुन्छ । सहकारी संस्थाले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई शेयर कारोबार गर्ने व्यवस्था हुँदैन ।
लेखक समृद्धि फाइनान्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।