बारीभरी फलाम र सिमेन्टका पोल, त्यही पोलमा जेलिएका किविका लहर र लहरामा लटरम्म किवी फल । ६१ बर्षिय ज्येष्ठ नागरिकको लोभलाग्दो किबी खेत ।
जोकोहीलाई पनि लोभ्याउने गर्छ गल्कोट नगरपालिका–१ दुदिलाभाटी चौराहका सन्तबहादुर बुढाथोकीको थालेको व्यवसायिक किवि खेतीले । होटल व्यवसाय छोडेर विगत ६ वर्षदेखी किवी खेतीमा लागि पर्नुभएका बुढाथोकीको होटलवालाबाट किवीवालाको रुपमा परिचय नै बदलिएको छ ।
जीवनकालको २५ बर्ष भारतमा सवारी चालक, १२ बर्ष काठेखोला गाउँपालिका बिहुँमा होटल व्यवसाय गरेर गरेर धित मरे पछि उहाँमा किवी खेतीको हुटहुटी चल्यो । घुमफरि गर्दै इलाम पुगेको समयमा त्यहाँको खेतीबाट प्रभावित भएर बुढाथोकीले आफ्नो १० रोपनी जग्गामा किवी लगाउनुभएको छ ।