महाशिवरात्रिमा करीब १० लाख भक्तजनले गरे पशुपतिनाथ दर्शन

फागुन १८, काठमाडौं । साँझ परिसकेको थियो, चिसो स्याँठले निरन्तर हानिरहेको थियो, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको थियो । महाशिवरात्रिका अवसरमा मंगलवार बेलुकीको यो दृश्य बुधवार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन । मंगलवार बेलुकी सूर्यास्तपछि शुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजाआज बुधवार बिहान ५:१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले जानकारी दिए । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा मंगलवारदेखि शुरु भएको भक्तजनको भीड बुधवार बिहानसम्म पनि कायम रहेको थियो । बुधवार बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जानकारी दिएको छ । राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उनले बताए । भत्कियो भष्मेश्वरघाट नजिकको वाग्मती पुलको पर्खाल  पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले राति भत्किएको प्रवक्ता अधिकारीले जानकारी दिए ।  भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुई भक्तजन वाग्मती नदीमा खसेका थिए । खसेकामध्ये एक जना काठमाडौं मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । एक जना घाइते उपचाररत छन् । उनको स्वास्थ्य स्थिति सामान्य छ । पशुपतिनाथ मन्दिरमा मंगलवार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । भक्तजनको मागअनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । पशुपति क्षेत्रमा मंगलवार बिहानदेखि लागेको भीड बुधवार बिहानसम्म पनि उत्तिकै रहेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।  महाशिवरात्रिमा विशेषगरी बेलुकीदेखि भोलिपल्ट बिहानसम्म नै भक्तजनको भीड लाग्ने गर्छ । बिजुली बत्तीको झिलीमिलीले पशुपति क्षेत्रलाई आकर्षक बनाएको थियो । रात्रिमा पशुपतिनाथमा विधिपूर्वक चार प्रहरको पूजा गरिने भएकाले भक्तजनको भीड लाग्ने गरेको हो । करीब १० लाखले गरे पशुपतिनाथको दर्शन बिजुली बत्तीको आकर्षण हेर्न बेलुकी भक्तजन ओइरिएका थिए । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक चार प्रहर पूजा गरिएको छ । पशुपतिनाथ मूल मन्दिर प्रवेश गरी करीब १० लाख भक्तजनले दर्शन गरेको कोषले जानकारी दिएको छ । पशुपति क्षेत्रमा बिहान र दिउँसोभन्दा राति धेरै भक्तजन आएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । राजलवटले महाशिवरात्रिका अवसरमा बिहानदेखि रातिसम्म गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनेको चिया भक्तजनलाई खुवाउनुभएको थिए । गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलोका पोका पनि भक्तजनलाई निःशुल्क वितरण गरिएको उनले बताए । रासस

सम्बन्धित सामग्री

आज महाशिवरात्रि: साढे पाँच लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान

यसपटक महाशिवरात्रि मेला भर्न स्वदेशी र विदेशी गरी करिब १० लाख पशुपति क्षेत्र आउने अनुमान गरिएको छ।...