नेपाली काँग्रेसका उपसभापति र महामन्त्रीहरूले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी बैशाखमै हुनुपर्ने र सोही अनुसार सरकारले मिति तोक्नुपर्ने सुझाव दिएका छन् । शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई बैशाखमै स्थानीय तहको चुनाव गर्ने गरी गठबन्धनमा सहमति जुटाउन र सोही अनुसार मिति तय गर्न सुझाव दिएका हुन् । उपसभापति र महामन्त्रीहरुले शनिबारको सत्ता गठबन्धनको बैठकमा स्थानीय तहको चुनाव आगामी वैशाखमै हुनुपर्ने धारणा राख्न पनि सभापति देउवालाई सुझाव दिएका हुन् ।बैठकपछि महामन्त्री गगन थापाले आफूहरूले दिएको सुझावमा सभापति सकारात्मक रहेको बताएका छन् । ‘सभापतिले गठबन्धनमा कुरा राख्छु भन्नुभएको छ, उहाँले गठबन्धनमा त्यो कुरा राख्नुहुन्छ भन्ने आशा गरेका छोँ’ थापाले भने ।