बैशाख १५, काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच शेयर लगानी सम्बन्धि सम्झौता भएको छ ।
कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १ अर्ब ३९ करोड रहेकोमा सो लगानी मध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपूँजीबाट परिचालन गरिनेछ । यस कम्पनीको हालको पूँजी २३ दशमलव ३७ करोड रुपैयाा रहेकोमा शेयरधनीहरुबाट समेत गरि जम्मा ५५ करोड रुपैयाँ जुटाउने कम्पनीको योजना छ ।
आज भएको सम्झौता बमोजिम, कुल जारी चुक्ता पूँजी ५५ करोड रुपैयाँ मध्ये निफ्राले ५ करोड रुपैयाँ बराबरको स्वपूँजी लगानी गर्ने छ ।
अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने ५० करोड रुपैयाँ जम्मा भएपछि आगामी आर्थिक वर्ष २०७९/८० मा सार्वजिनक निस्काशनबाट कूल पूँजीको २० प्रतिशतले हुन आउने १३ दशमलव ७५ करोड रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निस्काशन (आईपीओ) बाट लगानी जुटाईने कम्पनीले जनाएको छ ।
२०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले बैज्ञानिक खाद्यान्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्रवाह हुने वातावरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ ।
साथै नेपाल इन्फ्रास्टक्चर बैंक, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अन्तर्गत पूर्वाधार विकास बैंकको रुपमा दर्ता भएको बैंकले पूर्वाधार विकासमा स्व्पूँजी तथा ऋण लगानी गर्ने उदेश्य लिएको छ ।
यो कम्पनी संस्थापन गर्नुका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ ।
कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा वैज्ञानिक तवरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसँग रहेको छ ।
अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरीद गर्नुपर्ने अवस्था छ । यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनीले देशका तीन वटा महत्वपुर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ ।
कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ ।
साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ ।