पर्यटन क्षेत्रमा ठोस योजना ल्याउन सरकारलाई टानको आग्रह

काठमाडौं, साउन २९ । सरकारले पर्यटन क्षेत्रलाई हेर्ने परम्परागत दृष्टिकोणलाई परिर्वतन गर्न ट्रेकीङ एजेन्सी एशोसीएसन अफ नेपाल (टान)लागयतका विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् । लामो लकडाउनका कारण थलिएको पर्यटन उद्योगलाई गति दिन सरकारले कुनै योजना नल्याएको भन्दै पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने कार्यक्रम ल्याउन माग गरेकाछन् । लकडाउनको मारमा समेत नेपालको […]

सम्बन्धित सामग्री

पर्यटन मन्त्रालयको नेतृत्व सधैं अस्थिर : पर्यटनको विकासमा भएन केही पनि काम

पर्यटन क्षेत्रको विकासका लागि स्थिर नीति र सबल कार्यान्वयन चाहिन्छ । सरकार र निजीक्षेत्रबीच कामको तालमेल मिल्नुपर्छ । तर, नेपालमा पर्यटनमा जति उपलब्धि प्राप्त भएको छ त्यो सबै निजीक्षेत्रको प्रयासमा भइरहेको छ । यसको अर्थ सरकारले केही पनि गरेको छैन भन्ने होइन, तर सरकारको कामले पर्यटन क्षेत्रले गरेको प्रगति निकै न्यून छ । सरकारले विकासका लागि प्रतिबद्धताका साथ काम गर्न नसकेको सही हो । त्यस्तै स्थिरता नभएकाले बनेका कार्यक्रम कार्यान्वयन हुन पाएका छैनन् । यस्तो प्रवृत्तिबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन रहेको छ । एक दशकमा डेढ दर्जन मन्त्री फेरिएका छन् । औसतमा हिसाब गर्दा एउटा मन्त्रीले ६ महीनामात्रै काम गरेको देखिन्छ । यो समयमा उसले यो गर्छु र त्यो गर्छु भन्नु भन्दा बढी केही गरेको देखिँदैन ।  चाँडो मन्त्री फेरिनेमा पर्छ पर्यटन मन्त्रालय । गृह, अर्थजस्ता मन्त्रालयमा पुग्न सांसदहरूबीच मारामार नै हुन्छ तर पर्यटन मन्त्रालय उपेक्षित छ । मुलुकको अर्थतन्त्रमा निकै सहयोगी पर्यटन क्षेत्र नै यसरी लथालिंग पारामा चलेको छ । मुलुकले पर्यटनलाई जति नै प्राथमिकता दिएको छ भने पनि त्यो व्यवहारत: प्रमाणित हुँदैन । धन्न, यस्तो बेथितिमा पनि पर्यटन व्यवसायमा ठूलो लगानी भएको छ र लाखौंले रोजगारी पाइरहेका छन् । गत आर्थिक वर्षमा पर्यटक आगमन संख्या पनि निकै बढ्यो । राष्ट्रिय महत्त्वका दीर्घकालीन योजना, विकासका गुरुयोजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरताका लागि मन्त्रालयको नेतृत्व छिटोछिटो परिवर्तन हुनु हुँदैन । अझ, मन्त्री आएपिच्छे फेरिने नारा, प्राथमिकता र कार्यक्रमले पर्यटनलाई निकै असर गर्छ । यसमा राजनीतिक दलहरूको ध्यान जान सकेको छैन ।  पर्यटन मन्त्रालय सबैभन्दा अस्थिर मन्त्रालय देखिएको छ । मन्त्री छिटोछिटो फेरिने र फेरिएका मन्त्रीले आआफ्नै नारा र कार्यक्रमको गफ लगाउने प्रवृत्तिले पर्यटन क्षेत्रले गति लिन सकेको छैन । स्पष्ट योजना भएको व्यक्ति मन्त्रालयमा आएका छैनन्, आशालाग्दो नेताले पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् ।  मन्त्रालय र मातहत निकायको योजना र कार्यक्रमको सेवा प्रवाह, प्रभावकारिता, निरन्तरता मन्त्रालयको नेतृत्वसँग गाँसिएको हुन्छ । तर, छिटोछिटो मन्त्री फेरिँदा पर्यटन क्षेत्रका दीर्घकालीन योजना र प्रवर्द्धनात्मक कार्यक्रम अघि बढ्न सकेका छैनन्, चर्चामा आउने कार्यक्रमको घोषणा मात्र भएका छन् । मन्त्री फेरिए पनि मन्त्रालयको स्थायी संयन्त्र चुस्त रहे समस्या पर्दैन थियो । तर, सरकारी संयन्त्रहरू स्थायी ढंगले काम गर्न सक्ने सामथ्र्यका छैनन् । नेतृत्व परिवर्तन भएपछि काममा स्वाभाविक रूपमा केही सुस्ती आउँछ । नेतृत्व फेरिएसँगै नीति पनि फेरिने गरेको छ, जसले गर्दा सरकारी संयन्त्रहरू नेतृत्वले धकेलेर मात्रै अघि बढ्ने र नेतृत्व उदासीन भएमा टालटुले योजना देखाएर जागीर पकाउने मानसिकतामा देखिन्छ । नेपालमा आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्ने प्रणाली नै छैन । न मन्त्री आफ्नो कामप्रति जिम्मेवार देखिन्छन् न कर्मचारी नै । यसको एउटा उदाहरण हो : २०१३ यता नेपाल यूरोपेली संघको कालोसूचीमा रहिरहनु । एक दशकका डेढ दर्जन मन्त्रीले कालोसूचीबाट हटाउने बताए पनि हट्नका लागि आवश्यक काम भने गरेनन् । कुनै पनि पर्यटनमन्त्रीले नेपाल वायुसेवा निगमको सुधारका लागि बलियो काम गर्न सकेका छैनन् । अध्ययन र नेतृत्व परिवर्तनबाहेक सिन्को भाँच्ने काम भएको छैन । यस्तो अवस्थामा पर्यटन क्षेत्र कसरी अगाडि बढ्छ ?  अलपत्र अन्तरराष्ट्रिय विमानस्थल एउटा मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका भरमा नेपालमा पर्यटक ल्याउनुपर्ने अवस्था छ । त्यसमा पनि यसको स्तरोन्नतिको काम अझै पूरा भएको छैन । यो विमानस्थलको विस्तार हुन नसकेका कारण पटकपटक विमानहरू आकाशमा होल्ड गर्नुपरेको अवस्था छ । सञ्चालनमा आइसकेर पनि गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलले व्यवसाय गर्न सकेका छैनन् । भारतले भैरहवा नजिकको हवाई रूट नदिएका कारण यसो भएको देखिन्छ । यद्यपि चीन, थाइल्यान्ड आदि देशबाट हुने उडान पनि पोखरा र भैरहवा पुर्‍याउन सकिएको छैन । पश्चिम क्षेत्रबाट हवाई प्रवेशमार्ग नपाउनुमात्रै यी विमानस्थल सञ्चालन नहुनुको कारण होइन भन्ने यसले देखाउँछ । यहाँ विमानस्थल नै आवश्यक नभएको अवस्थामा यो बनाइएको हो अथवा सरकारले नयाँ विमानस्थलबाट उडान गर्न वायुसेवा कम्पनीहरूलाई पर्याप्त सुविधा दिन नसकेको हो भन्ने यसले देखाउँछ । कुनै पनि नयाँ विमानस्थल सञ्चालन गर्न केही समय लाग्न सक्छ । तर, यतिका समयसम्म एउटा पनि अन्तरराष्ट्रिय उडान नियमित गर्न नसक्नुको कारण सरकारकै कमजोरी नै हो भन्ने देखिन्छ । कुनै पनि मन्त्रीले धेरै समय काम गर्न नसक्नु पनि यसको एउटा कारण हो भन्ने देखिन्छ । नेवानिको बेहाल निजी वायुसेवा कम्पनीले मालामाल कमाइरहेका बेला सरकारी कम्पनी भने सधैं विवादको घेरोमा मात्रै सीमित देखिन्छ । मन्त्री फेरिएपिच्छे आयोग बनाउने, कार्यकारी प्रमुख र अध्यक्ष फेर्ने, नयाँ कार्यक्रम घोषणा गर्ने अनि कामचाहिँ केही पनि नहुने रोग नेवानिको रहेछ । सरकारी प्रभाव र दबाबबाट मुक्त हुने हो भने यसले पक्कै पनि केही व्यावसायिक योजना बनाउन सक्थ्यो होला । न यसलाई विघटन गर्ने हिम्मत कुनै सरकारको देखिएको छ न निजीकरण नै । यी दुवै काम गर्न नसकेको अवस्थामा सरकारी संयन्त्रलाई चुस्त र उत्तरदायी बनाएर विशेष अभियानका साथ पनि यसलाई चलाउन नसकिने होइन । सरकारी कम्पनी भएर पनि नेपाल टेलिकमले निजीक्षेत्रसँग प्रतिस्पर्धा गरेर नाफा कमाएर टन्न बोनस खुवाउन सक्छ भने नेवानिले किन कमाउन सक्दैन ? किन व्यवसाय गर्न सक्दैन ? सरकार फेरिए पनि टेलिकमको आफ्नै व्यावसायिक योजना छ जसमा खासै परिवर्तन भएको पाइँदैन । त्यही मोडलमा नेवानिलाई चलाउन किन सकिँदैन ? निजीक्षेत्रको प्रवेश गराएर शेयर विक्री गरी नयाँ विमान खरीद गर्ने बाटो पनि खुल्छ । तर, यसलाई कोही पनि किन सुधार्न चाहँदैनन् ? एउटा कारण त मन्त्रालयको नेतृत्व नै बढी समय नटिक्नु हो । निगमको दुरवस्था र त्यसबाट पर्यटनमा परेको असरबारे कुनै पनि सरकारले चासो दिएका छैनन् । मन्त्री फेरिएपिच्छे आयोग बनाउने, कार्यकारी प्रमुख र अध्यक्ष फेर्ने, नयाँ कार्यक्रम घोषणा गर्ने अनि कामचाहिँ केही पनि नहुने रोग नेवानिको रहेछ । निगमको आन्तरिक उडानका लागि गतिलो र पर्याप्त विमान छैनन् । अन्तरराष्ट्रिय उडानका लागि एकातिर भएका विमान उडाउन सकिएको छैन भने अर्कातिर विमान थप्ने निगमको प्रयास पनि सफल भएको छैन । कमिशनको चक्करमा कुनै पनि काम नहुनु नै निगमको ओरालो यात्राको कारण हो । यसमा रोक लगाउन प्रतिबद्ध र केही वर्ष टिक्ने मन्त्रीको आवश्यकता देखिन्छ । चिनियाँ विमानको व्यवस्थापन नेपालले कसको प्रभाव वा दबाबमा परेर चिनियाँ विमान किनेको हो त्यो अझै स्पष्ट छैन । एक पक्षले अर्को पक्षलाई आरोप लगाइरहेका छन् र निर्णयकर्ताले यसबारे स्पष्टीकरण दिएका पनि छैनन् । चिनियाँ विमान कमजोर हुन् वा नेपालका लागि अनुपयुक्त हुन् स्पष्ट छैन । गल्ती त भइसक्यो । ऋणको रकम नतिरी उपाय छैन । यस्तोमा चिनियाँ विमान के गर्ने भन्ने टुंगो लगाउन नसक्दा निगमलाई ठूलो भार छ । कि त यसलाई कबाडीमा बेच्नुपर्छ कि त आपत्कालीन अवस्थामा प्रयोग गर्न नेपाली सेनालाई दिन सकिन्छ । निर्माता कम्पनीलाई फिर्ता गर्ने सामथ्र्य नेपालको छैन भन्ने त स्पष्ट नै छ । त्यसैले यी जहाज निगमको जिम्मेवारीबाट सकेसम्म हटाउनुपर्छ । अनि आन्तरिक उडानका लागि निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ विमान ल्याउनुपर्छ । दुर्गममा विमान उडाएर निजीक्षेत्रलाई सुगम क्षेत्रको व्यापार सुम्पिनु कुनै पनि हालतमा राम्रो होइन । सुगममा निगमको उडान प्रशस्त भए प्रतिस्पर्धा भएर आन्तरिक उडान पनि सस्तो हुन सक्छ । अन्तरराट्रिय उडानमा निगमको अंश नबढाउने हो भने पर्यटन क्षेत्रको विकास हुनै सक्दैन भनिदिए पनि हुन्छ । पर्यटक आए पनि अत्यधिक पैसाचाहिँ विदेशी कम्पनीले नै लैजानेछन् । यो अवस्थाको अन्त्य गर्न कुनै पनि मन्त्रीले काम गरेनन् । प्राधिकरणको विभाजन नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामका निकायमा अलग गर्ने काम अघि बढ्न सकेको छैन । नेपाल इयूको कालोसूचीमा पर्नुको एउटा कारण यो पनि मानिएको छ । विश्वभरि नै एउटै संस्था नियामक र सेवाप्रदायक बनाउने चलाउन छैन । त्यसैले यसअनुसार नेपालले प्रक्रिया अगाडि बढाए पनि, कानूनी आधार तय भए पनि त्यसअनुसार काम भने भएको छैन । नागरिक उड्डयनसम्बन्धी अन्तरराष्ट्रिय संस्था आइकाओले पनि यसमा प्रश्न उठाएकै हो । त्यसैले प्राधिकरणको विभाजन ढिलाचाँडो गर्ने पर्ने बाध्यता छ । यसको विभाजनको काम गर्न कुनै पनि मन्त्रीले आँटेका छैनन् ।  पर्यटन नीति नेपालको २० वर्षे पर्यटन नीति बने पनि त्यसअनुसार काम भएको छैन । खासमा पर्यटनका लागि केकस्तो नीति लिने, कस्ता पर्यटन प्रडक्टमा ध्यान दिने, पर्यटनलाई योजनाबद्ध ढंगले कसरी अघि बढाउने भन्ने कुरा पर्यटन नीतिले तय गर्छ । यस्तो नीति व्यावहारिक हुनुपर्छ । व्यवसायी, सरकार र पर्यटनविज्ञ मिलेर सही पर्यटन नीति बनाउन आवश्यक छ । कुनै पनि मन्त्रीले यसका लागि काम गरेको देखिँदैन ।  पर्यटन प्रवर्द्धनका कार्यक्रम मन्त्री फेरिएपिच्छे कसैले भ्रमण बिदा, कसैले आन्तरिक पर्यटन प्रवर्द्धन, कसैले भ्रमण दशकजस्ता कार्यक्रमको घोषणा गरे पनि कुनै पनि कार्यक्रमको शुरुआत भएन । कागजमा बनाइएका यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धन हुने कुरै भएन । पर्यटन प्रवर्द्धनका लागि खडा गरिएको नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन छ । उसले प्रवर्द्धनको कार्यक्रम गर्न सकेको छैन । अहिलेसम्मका पर्यटनमन्त्रीले स्टन्टको काममात्रै गरे भन्दा फरक पर्दैन  नयाँ पर्यटन मन्त्रीले केही गर्लान् ?  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा हितबहादुर तामाङ पुगेका छन् । १३ महीना पर्यटन मन्त्रीको जिम्मा पाएका सुदनका किरातीको बहिर्गमनसँगै तामाङ आएका हुन् । किरातीले पर्यटन क्षेत्रमा खासै उल्लेख्य काम भने गर्न पाएनन् । यद्यपि उनले नेवानिको सुधारका लागि केही कदम भने चालेका थिए । तर, उनको काम परिणाममुखी भने देखिएको छैन । नयाँ मन्त्री तामाङलाई पर्यटन प्रवर्द्धन गर्न भूमिका खेल्ने, नीतिगत सुधारको काम गर्ने, निजीक्षेत्रसँग सहकार्य गर्दै पर्यटनमा व्यावसायिक वातावरण बनाउनेलगायत जिम्मेवारी छन् । त्योभन्दा बढी दीर्घकालीन महत्त्वका काम गर्नु जरुरी छ । तामाङको प्रमुख काम भनेको निगमको सेवा विस्तार गर्न जहाज किन्ने, निगमको संरचनागत सुधार गर्ने, विमानस्थलको सञ्चालन राम्रोसँग गर्ने र ईयूको कालोसूचीमा परेको नेपालको उड्डयन सुरक्षालाई उक्त सूचीबाट हटाउनु नै हो । यी पक्षमा सुधार नगरी नेपालको पर्यटनले गति लिन सक्ने देखिँदैन । त्यसैले पर्यटनमन्त्रीको पहिलो काम भनेको निगमको सुधार र व्यवसाय विस्तार नै हुनुपर्छ । पर्यटन मन्त्रालय मातहतका वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणमा दीर्घकालीन र लाभदायी सुधारका काम गर्ने हो भने पर्यटन मन्त्रीले काम गरेको मानिन्छ । निवर्तमान मन्त्री किरातीले वायुसेवा निगमका लागि दुर्गम क्षेत्रमा उडान गर्ने तीनओटा ट्वीनअटर जहाज किन्ने प्रक्रिया अगाडि बढाएका थिए । उक्त प्रक्रियामा प्राविधिक त्रुटि देखिएपछि रोकिएको छ । नयाँ जहाज किनेर निगमको उपस्थिति देखाउने गरी आन्तरिक उडान थप्नुपर्ने देखिन्छ ।  नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्दै व्यवस्थापन सुधार गर्नु अहिलको प्रमुख काम हो । निगमले अन्तरराष्ट्रिय उडानका लागि दुईओटा न्यारोबडी भाडामा ल्याउने प्रक्रिया अगाडि बढाएको छ । निगमले ती जहाजसँगै अन्तरराष्ट्रिय उडानमा थप जहाजसहितको क्षमता विस्तार गर्नुपर्ने छ । निगमले जति धेरै गन्तव्यमा उडान गर्न सक्यो त्यति नै बढी पर्यटक ल्याउन सकिन्छ । त्यसैले वायुसेवा निगमका लागि जहाज किन्ने र भएका जहाज नाफामूलक क्षेत्रमा उडाएर ऋण तिर्न सक्ने तुल्याउनु तामाङको सफलता हुनेछ । नेपाली उड्डयनलाई ईयूको कालोसूचीबाट हटाउन सके निगमको उडान यूरोपेली क्षेत्रमा गर्न सकिन्छ । त्यस्तै पर्यटन बोर्डलाई प्रभावकारी बनाएर प्रवर्द्धनात्मक कार्य तीव्र बढाउनु जरुरी छ । त्यसैगरी पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन नीति बनाएर काम गर्नुपर्छ ।  त्यसैगरी गौतम बुद्ध र पोखरा विमानस्थलमा व्यावसायिक उडान गराउनु नयाँ मन्त्रीको चुनौती हो । पोखरामा पनि चीन सरकारबाट ऋण लिएर बनाएको विमानस्थल सञ्चालनमा आएको १ वर्षभन्दा बढी हुँदासमेत एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन । त्यस्तै हालत गौतम बुद्ध विमानस्थलको पनि छ । निजगढ विमानस्थल निर्माणको विषय अझै अन्योलमा रहेको छ । किरातीको समयमा सार्वजनिक निजी साझेदारीमा चारओटै विमानस्थल सञ्चालन गर्न दिने र कुनै कम्पनीले तीनओटा विमानस्थल सञ्चालनको जिम्मा लिएर निजगढ विमानस्थल बनाउन खोजे उसलाई दिने तयारी भएको थियो । नयाँ पर्यटनमन्त्रीले यसलाई निरन्तरता दिन्छन् वा दिँदैनन् थाहा छैन ।  नेपालमा पर्यटन क्षेत्रले जति गति लिएको छ त्यसमा सरकारको भन्दा निजीक्षेत्रको पहलले नै भएको हो भन्न सकिन्छ । निजीक्षेत्रले ठूलो लगानी गरेको छ र आफ्नो व्यवसायका लागि उसले पर्यटक ल्याउन आफै पहल गरेको छ । गर्ने त यस्तै हो तर पनि नेपालबाट प्रत्यक्ष उडान विभिन्न देशमा हुन सके पर्यटक आगमन बढ्छ । यस्तो उडानले पर्यटकले यात्राका लागि कम पैसा तिर्दा हुन्छ भने समयको पनि बचत हुन्छ । त्यसैले नेपालका प्रमुख बजारमा नेपाल वायुसेवाको उडान बढाउनु नै पर्यटनको दिगो विकासको आधार हो । अहिले आउने पर्यटकले विदेशी वायुसेवा प्रयोग गरिरहेका छन् । त्यसैले पर्यटकले गर्ने खर्चको ठूलो अंश यी नै विदेशी कम्पनीले लगिरहेका छन् । निगम भने विमान किन्दाको ऋणको साँवाब्याज तिर्न नसकेर समस्यामा छ । पर्यटन मन्त्रालय सबैभन्दा अस्थिर मन्त्रालय देखिएको छ । मन्त्री छिटोछिटो फेरिने र फेरिएका मन्त्रीले आआफ्नै नारा र कार्यक्रमको गफ लगाउने प्रवृत्तिले पर्यटन क्षेत्रले गति लिन सकेको छैन । स्पष्ट योजना भएको व्यक्ति मन्त्रालयमा आएका छैनन्, आशालाग्दो नेताले पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् । त्यसैले मुलुकले पर्यटन क्षेत्रलाई नै उपेक्षा गरेको देखिन्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष, पर्यटन : उतारचढावबीच आशालाग्दो प्रगति

अहिलेको अवस्थामा संसारभरका पर्यटक अलिक प्राकृतिक गतिविधि, आइसोलेशनमा हुने गतिविधि र कम भीडभाड हुने स्थानको खोजीमा छन् ।  सन् २००० यता नेपालको पर्यटन क्षेत्र निकै चुनौतीपूर्ण अवस्थामा हिँडिरहेको देखिन्छ । खासगरी सन् १९९९ मा पहिलोपटक भारतीय विमान अपहरण भयो, त्यसपछि नियमित रूपमा कुनै न कुनै खालको संकटबाट नेपालको पर्यटन क्षेत्र गुज्रिएको छ । यो अवस्थालाई हेर्दा नेपालको पर्यटन क्षेत्र त्यति राम्रो र सहज रूपमा चलेको देख्न सकिँदैन । बहुदल आइसकेपछि नयाँ राजनीतिक व्यवस्था शुरू भयो । राज्यले उदारीकरणको नीति लिइसकेपछि लगानी पनि भित्रियो भने पर्यटनमा नयाँ बजारहरूको खोजी पनि हुँदै आएको थियो । पर्यटकको संख्या पनि बढेको थियो ।  यो क्रम चल्दै जाँदा एक्कासि १९९९ को डिसेम्बरदेखि त सिरिजमै संकट भोग्नुपरेको छ । यसमा केही उल्लेख गर्नुपर्ने तथ्यहरू छन् । नेपालले पहिलोपटक सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनायो । यसले गर्दा तथा पर्यटन प्रवर्द्धनको कारणले होला त्यसको १ वर्षपछि सन् १९९९ मा ५ लाख पर्यटक नेपाल आए । त्यसको डिसेम्बरमा भारतीय विमान अपहरण भएपछि केही समय भारतबाट आउने विमानहरू नियमित हुन सकेनन् । यसले संसारभर नेपालप्रति नकारात्मक सन्देश गयो । यिनै कारणबाट पर्यटक आगमन संख्या घट्न थालेको देखिन्छ ।  सन् २००१ मा नेपालमा राजदरबार हत्याकाण्ड भयो । यसले पनि विश्वभर गलत सन्देश गयो । यसले गर्दा नेपाल आउनेको संख्यामा पुन: कमी आयो । दरबार हत्याकाण्डअघि नै शुरू भएको सशस्त्र द्वन्द्व यसपछि भने झनै पिकमा पुगेको थियो । ठाउँठाउँमा दुर्घटना हुने, बन्दहडताल अत्यधिक भयो । राजनीतिक अस्थिरता करीब ५/७ वर्षसम्म कायमै रह्यो । यसले गर्दा पनि चुनौतीपूर्ण अवस्था रह्यो । शान्ति प्रक्रिया पूरा भएपछि भने नेपालमा पर्यटक आउने क्रममा झीनो सुधार हुँदै आएको पाइन्छ । यद्यपि यसपछि पनि बन्दहडताल कायमै रह्यो । सशस्त्र द्वन्द्व सकिएपछि सरकारले पर्यटनलाई ऊर्जा दिने उद्देश्यले सन् २०११ लाई ‘नेपाल भ्रमण वर्ष’का रूपमा घोषणा गर्‍यो । यसको लक्ष्य नेपालमा १० लाख पर्यटक भित्र्याउने थियो । यो लक्ष्य सोही वर्ष पूरा हुन नसके पनि त्यसपछिका वर्ष सन् २०१२ देखि ३ वर्षसम्म लगातार ८ लाखको हाराहारी पर्यटक आए । राजनीतिक अस्थिरताबीच पनि सकारात्मक दिशातर्फ अघि बढिरहेको पर्यटनमा सन् २०१५ को विनाशकारी भूकम्पको प्रभाव देखियो । आपूर्तिको असहजताले गर्दा ८ लाख हाराहारी पुुगेको पर्यटक आगमन स्वाट्टै घटेर सवा ३ लाखमा सीमित भयो । यसले पनि पर्यटनमा नकारात्मक भूमिका निर्वाह गरिदियो ।  नेपाली डायस्पोरा, गैरआवासीय नेपालीहरू, कूटनीतिक मिसनहरू, नेपाललाई मन पराउने संघसंगठनका साथै क्लबहरूसँग राम्रो समन्वय हुन सक्यो, जसले गर्दा पर्यटनमा राम्रो सञ्चार भयो ।    सन् २०१६ देखि भने नेपालको पर्यटनले राम्रो पिकअप लियो । त्यसबेला मैले नेपाल पर्यटन बोर्डको प्रमुखको हैसियतमा काम गर्ने मौका पाएँ । सरकारी र निजीक्षेत्रको सहकार्यमा नेपालको वास्तविक तथ्यांकमा केन्द्रित भएर हामीले सन्देश प्रवाह गरेका थियौं । ठूलाठूला क्याम्पियन र अन्तरराष्ट्रिय मिडियासँग मिलेर सहकार्य गरियो । थुप्रै अन्तरराष्ट्रिय मिडियालाई नेपाल भ्रमण गराएका थियौं, जसले गर्दा मुलुकको पर्र्यटन छिटो रिकभरी हुन पाएको थियो ।  सन् २०१६ मा ४० प्रतिशत पर्यटकको आगमन र त्यसपछि कोरोना संक्रमणपूर्व वार्षिक औसत २० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो । यो भनेको निकै राम्रो वृद्धिदर हो । संसारभरका प्रतिष्ठित पर्यटकका संस्थाहरूले समेत नेपाललाई विश्वमा तीव्र गतिमा पर्यटक आगमन वृद्धिदर हुने देशमा तेस्रो स्थानमा राखेका थिए । राम्रो प्रगतिबीच सन् २०२० को कोभिड महामारीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई पुन: ठप्प नै बनायो । यो महत्त्वाकांक्षी योजना घोषणा हुँदै गर्दा देखिएको महामारीका कारण नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आयो । २ दशकको नेपालको पर्यटनलाई हेर्दा निकै नै आरोहअवरोह पार गरेको विश्लेषण गर्न सकिन्छ । यी दशक मूलत: विभिन्न संकटबाट गुज्रिन पुगेको अवस्था देखिन्छ । अर्काेतर्फ संकट व्यवस्थापन र रिजिलियन्समा राम्रो अनुभव प्राप्त गरेका छौं । यहीबीचमा हामीले २/३ ओटा महत्त्वपूर्ण राष्ट्रिय अभियान पनि गरेका छौं । पर्यटन प्रवर्द्धनका लागि सन् १९९८ मा नेपाल भ्रमण वर्ष, सन् २००२ मा डेस्टिनेसन नेपाल क्याम्पियन (यो अभियानले पर्यटकको संख्या बढाउनभन्दा पनि आएका पर्यटकको संख्या नघटोस् भन्ने लक्ष्य राखेको थियो ।) आयोजना गरिएको थियो ।  नेपालको पर्यटनमा नकारात्मक सन्देश जाँदै गर्दा अर्को रणनीतिका रूपमा शहरलाई ब्रान्ड बनाउने अभियानका रूपमा योजना अघि सारिएको थियो । त्यसमा पहिलो चरणमा पोखरालाई लिइएको थियो । यही लक्ष्यअनुसार भिजिट पोखरा २००७ मा गरिएको थियो । त्यसपछि २०११ र २०२० लाई भ्रमण वर्षको रूपमा घोषणा गरिएको छ ।  संकटपछिको प्रवर्द्धनमा आन्तरिक पर्यटक संकटपछि नेपालले पर्यटन उत्थान तथा प्रवर्द्धनका लागि राष्ट्रिय अभियानहरू सञ्चालन गरेका उदाहरण छन् । हरेक संकटपछि आन्तरिक पर्यटन पुनरुत्थानको पहिलो पाइला हुन्छ । भूकम्पपछिको वर्षलाई पहिलोपटक आन्तरिक पर्यटन प्रवर्द्धन वर्षको रूपमा काम गरियो । यसपछिको वर्षलाई घुमफिरको वर्षका रूपमा हामीले मनाएका छौं । त्यसले पनि र आजको दिनमा पनि आन्तरिक पर्यटन निकै चलायमान भएको छ । यी कारणले गर्दा पनि नेपाल एउटा छिट्टै ‘बाउन्स ब्याक’ हुने देशका रूपमा स्थापित भएको छ, जुन हालका कुराहरूले पनि दर्शाएको छ । कोभिड अलि नियन्त्रण हुनासाथ हामीले देख्न थालिसकेका छौं । अर्काे, सकारात्मक दिशातर्फ हेर्ने हो भने ४/५ वर्षको अवधिमा हेर्दा नेपालको पर्यटकीय अवस्थालाई विविधीकरण गर्न सक्यौं । नेपाल ब्रान्डिङका हिसाबले पर्वतीय गन्तव्य र साहसिक गतिविधि हुने गन्तव्यका रूपमा मात्रै चिनिन्थ्यो । यसले गर्दा वर्षका १/२ महीना पर्यटक आउने र एउटा साहसिक पर्यटनमा रुचि राख्ने पर्यटक मात्रै आउने अवस्था थियो । नेपाल यतिमै मात्रै सीमित हुनु हुँदैन भनेर लाइफटाइम एक्सपिरियन्सको थिममा प्रवर्द्धन गर्न थालिएको हो । यसमा नेपालको वाइल्डलाइफ, संस्कृति, सम्पदा र एडभेन्चरलाई अध्यात्मसँग जोडेर प्रचारप्रसार गर्न थालिएको हो । आन्तरिक पर्यटनको विस्तारले नयाँ गन्तव्य पनि थपिएका छन् । अहिले हिमाली र पहाडी भेगमा आन्तरिक पर्यटकको चाप बढेको छ । सशस्त्र द्वन्द्वको समयमा बाहिरबाट आउने पर्यटकको संख्यामा कमी भए पनि आन्तरिक पर्यटनले महत्त्व पाएको थियो । तर, द्वन्द्वपछि बाहिरबाट पर्यटक आउन थालेपछि यसलाई बिर्सिएको अवस्था रह्यो । यो अवस्था २०७२ को भूकम्प आउँदासम्म रह्यो । भूकम्पपछि पुन: पर्यटक घट्न थालेपछि पुन: आन्तरिक पर्यटकमा जोड दिँदै घुमफिर वर्ष पनि घोषणा गरिएको थियो । अहिले कोभिडको बेलामा पनि आन्तरिक पर्यटनले भरथेग गरेको छ । अब नेपालको पर्यटनमा आन्तरिक पर्यटक हेलाको विषय नहुने गरी अघि आइसकेको छ । यस अवधिमा सबैभन्दा चुनौती पूर्वाधार रह्यो । विविधतालाई प्रचारप्रसार गर्न थालियो । आन्तरिक पर्यटनलाई पनि महत्त्व दिन थालियो । जुन पहिला थिएन । पूर्वाधारको विकास हुन सकेको भए योभन्दा राम्रो हुने थियो । यस बीचमा आन्तरिक पर्यटनमा राम्रो गर्न सक्यौं । विविधतालाई प्रचार गर्दा अन्य सिजनमा पनि पर्यटक आउन सक्ने वातावरण बनेको छ । यसले गर्दा ३ लाखमा रहेको पर्यटकलाई १२ लाख आसपासमा ल्याउन सक्यौं । बलियो पक्ष भनेको नेपालको बाहिर रहेको नेटवर्कलाई राम्रोसँग परिचालन गरियो । नेपाली डायस्पोरा, गैरआवासीय नेपालीहरू, कूटनीतिक मिसनहरू, नेपाललाई मन पराउने संघसंगठनका साथै क्लबहरूसँग राम्रो समन्वय हुन सक्यो, जसले गर्दा पर्यटनमा राम्रो सञ्चार भयो ।  पछिल्लो समयमा समुदायमा आधारित पर्यटन प्रवर्द्धनमा बलियो जग बसेको छ । यसरी हेर्दा सन् २०१० देखि सन् २०२० विप्रेषणले धानेको दशक बन्यो । पूर्वाधारको अवस्थामा पनि अहिले सुधार भएको छ । यसले गर्दा अबको दशक अर्थात् सन् २०३० सम्म पर्यटनले नेपालको अर्थतन्त्रको ड्राइभ र लिड गर्न सक्ने बलियो आधार तय भएको छ । त्यो आधार यसबीचमा देखिएको छ । जस्तो, अहिले १२ लाख पर्यटक संख्या हुँदै गर्दा दुईओटा अन्तरराष्ट्रिय विमानस्थलहरू सञ्चालन हुँदै छन् । यसले गर्दा ३५ लाखदेखि ४० लाख पर्यटक सजिलै भित्र्याउन सक्ने अवस्थामा हुनेछौं । होटेलहरूमा लगानी भित्रिएको छ । पर्यटन प्रवर्द्धनका स्रोतहरू बढ्दै आएका छन् । नेपालगञ्ज, धनगढी, सुर्खेत, इलाम, विराटनगरजस्ता क्षेत्रमा होटेलहरूमा राम्रो सुधार भएको छ । बाटोहरू सुधार हुनुका साथै नयाँ गन्तव्यमा कनेक्टिभिटी पनि बढ्दै छ । हिमाली भेगका विमानस्थलमा सुधार भएको छ । पर्यटनसम्बन्धी कलेज र मानव संसाधनमा पनि सुधार भएको छ । तालीम केन्द्र विस्तार हुँदा सप्लाई क्षेत्रपट्टि सुधार भएको छ । नेपालमा मात्रै नभएर विश्वको आवश्यकतालाई यो देशले पूर्णता दिएको छ । दुबई, मलेशियाजस्ता देशमा नेपालबाट जनशक्ति गएका छन् । हिमाली भेगका विमानस्थलमा सुधार भएको छ । पर्यटनसम्बन्धी कलेज र मानव संसाधनमा पनि सुधार भएको छ । तालीम केन्द्र विस्तार हुँदा सप्लाई क्षेत्रपट्टि सुधार भएको छ ।   पूर्वाधार क्षेत्रको सीमिततालाई तीनओटा विमानस्थलले फराकिलो बनाइदिएको छ । जसले गर्दा पर्यटकको संख्या उल्लेख्य बढ्ने आकलन छ । पर्यटन आइसोलेशनमा विकास हुने होइन । अन्य पूर्वाधार बलियो हुँदा मात्रै पर्यटन पनि बलियो हुने हो । सडक, विमानस्थलको कनेक्टिभिटी, विद्युत्को उपलब्धता, इन्टरनेटको गति बढाउनु पनि पर्छ । अहिले अंग्रेजी भाषाका पर्यटकलाई गाइड गर्न सक्ने जनशक्ति तयार छ । तर, अन्य भाषाका पर्यटक आउँदा तिनलाई गर्ने आतिथ्यमा भाषा अनिवार्य हुन्छ । चीन हाम्रा लागि ठूलो बजार हो ।  यो वर्ष चीन खुलिहाल्ला जस्तो देखिँदैन । यो वर्षभर चिनियाँ भाषा, खाद्यान्न, गाइड तयार गर्नतर्फ लागेमा हामीले सन् २०२३ मा ठूलो संख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्न सक्छौं । यो अवधिमा मार्केटमा धेरै विविधता देखाउन सकिएको छैन । यो अवधिमा मार्केटको फैलावटमा विविधीकरण हुन सकेको छैन । २ तरीकाबाट यसलाई हेर्न सकिन्छ । एक कुनै देश र त्यस देशभित्रका क्षेत्रहरू । जस्तो भारत नेपालका लागि ठूलो स्रोत बजार हो । पर्यटक क्यासिनो, धार्मिक, हनिमुन, साथीभाई र व्यापार व्यवसायको उद्देश्य राखेर आउँछन् । यीबाहेक त्यहाँबाट साहसिक पर्यटनका लागि न्यूजिल्यान्ड तथा अस्ट्रेलिया जाने गरेका छन् भने लक्जरियस, कर्पाेरेट विधाका पर्यटक नेपालमा अझै आउन सकेका छैनन् । हामीले नयाँ मार्केट खोज्नेभन्दा देशभित्रै रहेका पर्यटनका नयाँ प्रडक्ट खोज्नुपर्छ । यसले महंगा पर्यटक भित्र्याउन सकिन्छ । अहिले निकै तीव्र गतिमा बंगलादेशको अर्थतन्त्र अघि बढेको छ । ढाका १ घण्टामा पुग्न सकिन्छ, र त्यहाँ ४ करोड जनसंख्या बस्छन् । यो धनीहरूको जनसंख्या हो । तर, हामीले यसलाई आकर्षण गर्न सकिरहेका छैनौं ।  अर्काे, मध्यपूर्वका दुबई, मलेशिया जस्ता देशहरू बजार हुन् । टर्की पनि स्रोत बजार हो भने नयाँ देश र नयाँ विधामा नेपाल थप लाग्नुपर्छ । पुरानो कनेक्सन भएका देशहरू आउँछन् नै । अब हामीले हेर्नुपर्ने भनेको नेपालमा पर्यटक किन आउने भन्ने नै हो । नेपालले अब यही विषयमा केन्द्रित गरेर सन्देश प्रवाह गर्नुपर्छ । शताब्दीकै ठूलो महामारीबाट नेपालसहित अन्य देश गुज्रिएका छन् । अहिलेको अवस्थामा संसारभरका पर्यटक अलिक प्राकृतिक गतिविधि, आइसोलेशनमा हुने गतिविधि र कम भीडभाड हुने स्थानको खोजीमा छन् ।  अहिलेको अवस्थामा संसारभरका पर्यटक अलिक प्राकृतिक गतिविधि, आइसोलेशनमा हुने गतिविधि र कम भीडभाड हुने स्थानको खोजीमा छन् ।    नेपाल ठ्याक्कै यस्तै खाले गन्तव्य हो । यसले गर्दा नेपाल स्रोत बजारको रूपमा प्रचारित हुनुपर्छ । अर्काे, मानिसहरूले सुरक्षित गन्तव्य छ कि छैन भन्ने पनि हेरिरहेका हुन्छन् । नेपाल कोभिड–१९ विरुद्धको खोप लगाउने देशमा अग्रपंक्तिमै छ । किनभने अहिले पनि ८० प्रतिशतसम्मले खोप लगाएका छन् । पर्यटन क्षेत्रमा पनि खोप लगाइसकेका र प्रमुख गन्तव्यका नागरिकले पनि खोप लगाइसकेको अवस्था छ । नेपालका लागि यो ठूलो आत्मविश्वास हो । यसका साथसाथै नेपालले पर्यावरणमैत्री, दिगो पर्यटन र हरित कोरिडोरमा काम गर्नुपर्छ । प्रकृति र संस्कृतिलाई संरक्षित गर्दै पर्यटन विकासलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।  (हिमा वि.कसँगको कुराकानीमा आधारित)

बेकामे पर्यटन बोर्ड

नेपालको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न सरकार र निजीक्षेत्रको साझेदार संस्थाका रूपमा खडा गरिएको नेपाल पर्यटन बोर्डले अपेक्षाअनुसार काम गर्न सकेको छैन । त्यसमा पनि कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सबैभन्दा बढी क्रियाशील हुनुपर्ने यो संस्था अहिले निष्क्रिय जस्तै छ । कोरोनाको महामारी अन्त्य हुने लक्षण देखा पर्दै जाँदा पर्यटनलाई गति दिन प्रचारप्रसारको नयाँ रणनीति अपनाउनुपर्नेमा उल्टै नेतृत्वविहीन बनेर कामविहीन बनेको छ । त्यसैले यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । बोर्डको कार्यकारी प्रमुख बन्नका लागि निकै दौडधुप गर्ने तर प्रभावकारी रूपमा पर्यटन प्रवर्द्धनका योजना बनाउने नसक्ने प्रमुख पाउनु यसको नियति नै बनेको छ । बोर्डलाई चलायमान बनाउने प्रमुख व्यक्तिको क्षमता र नियतिमाथि नै टीकाटिप्पणी हुने गरे पनि सही र योग्य व्यक्ति ल्याउन सार्थक पहल भएको देखिँदैन । कोभिड–१९ ले गर्दा २ वर्षदेखि बाह्य पर्यटको आगमन करीब- करीब ठप्प छ । पर्यटक आगमन ठप्प हुँदा बोर्डले पाउने बजेटको आकार पनि घटेको छ । त्यसैले अहिले स्रोत व्यवस्थापनमा समेत दबाब परेको छ । तैपनि बोर्डले आफूसँग भएको आन्तरिक स्रोतसाधनको उच्चतम परिचालन गर्न सकेको छैन । बोर्डको स्रोत भनेको सरकारी अनुदान र विभिन्न पर्यटकीय संघसंस्थाबाट प्राप्त हुने रकम हो । यो रकम पर्यटनको प्रवर्द्धनका लागि खर्च हुनुपर्ने हो । दुर्भाग्य, कोरोनाका कारण थलिएको पर्यटनलाई पुनर्जीवन दिन आवश्यक प्रवर्द्धनात्मक कार्य गर्न सकेको छैन । भएका काम पनि परिणाममुखी देखिएका छैनन् । यस्तोमा बोर्ड प्रमुखविहीन हुँदा कामै नहुनु स्वाभाविक हो । बोर्डमा केही पदाधिकारीले राजीनामा दिएका छन् । बोर्डका प्रमुख कारबाहीमा परेका छन् । बोर्डलाई यसरी नै लथालिंग छाड्ने हो र यसको जिम्मेवारी र कार्य क्षमतामा सुधार नल्याउने हो भने पर्यटनको पुनरुद्धार अभैm ढिलो हुन सक्छ । त्यसैले सरकारले तत्कालै योजना र लक्ष्य लिएको योग्य व्यक्तिलाई बोर्डमा नियुक्ति दिन ढिला गर्नु हुँदैन । कोरोना भाइरस संक्रमण महामारीका कारण झन्डै डेढ वर्षदेखि पर्यटन क्षेत्र शिथिल बनेको छ । यो अवस्थामा सरकार र नेपाल पर्यटन बोर्डले अघि सार्ने योजना र कार्यक्रममा पर्यटन क्षेत्रको पुनरुत्थान निर्भर रहन्छ । विश्वभरि नै पर्यटन व्यवसाय निकै घटेको छ । तर, अन्य देशले तीव्र गतिमा फरक रणनीति र प्रर्वद्धनात्मक एवं प्रचारात्मक कार्य थालेकाले अहिले तिनीहरू बिस्तारै तंग्रन थालेका छन् । नेपालको अवस्था भने उल्टो छ भन्दा हुन्छ । अहिले ओमिक्रोन भेरिएन्टको संक्रमण पनि मत्थर भइसकेको छ । खोप पनि अत्यधिकले लगाइसकेका छन् । पर्यटकहरू फाट्टफुट्ट देखापर्न थालेका छन् । यही बेला बोर्डको भूमिका बढी आवश्यक छ । बोर्डले व्यवसायीहरूसँग अन्तरक्रिया गरेर कुन कुन क्षेत्रमा कसरी प्रवर्द्धनात्मक कार्य गर्दा बढी प्रभावकारी हुन्छ भनेर योजना बनाई तत्कालै कार्यान्वयनमा जानुपर्छ । पर्यटन बोर्डले विगतमा अध्ययन–अनुसन्धान, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मेला–महोत्सवमा बजेट छुट्ट्याउने गथ्र्यो । पर्यटन बोर्डको उद्देश्य अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्नु हो । पर्यटनसँग सम्बद्ध नीति बनाउन पनि उसको भूमिका हुन्छ । उसले सरकार र निजीक्षेत्रलाई जोड्न पुलको काम गर्न सक्छ । बोर्डको काम समग्र पर्यटन प्रवर्द्धनका गतिविधि गर्नु हो । तर, जे परिकल्पना गरेर ऐन, विधान निर्माण गरियो, त्यसअनुसार बोर्डले काम नै गर्न सकेको छैन । सोच र योजना राम्रो आए पनि कार्यान्वयनको पाटो कमजोर भयो । त्यही भएर स्थानीय मेलामहोत्सवमा खर्च गरेर बजेट सक्ने काम भएको छ जुन गलत हो । अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गर्न भएको खर्चको प्रतिफलबारे बोर्डमा छलफल नै भएको पाइँदैन । त्यसबारे अध्ययन पनि भएको छैन । त्यो कति प्रभावकारी भयो, कति फाइदा भयो, अर्कोपटक लगानी गर्ने कि नगर्ने भन्ने विषयमा बोर्डले गम्भीर भएर अध्ययन गर्नुपर्ने हो । फलदायी नभएको कामहरू रोकेर नयाँ खालको प्रचार नीति ल्याउनुपर्ने हो । त्यस्तो भएको पनि पाइँदैन । पर्यटन बोर्डको अध्यक्ष पर्यटन सचिव हुने व्यवस्था छ र सचिव फेरिएसँगै अध्यक्ष फेरिइहाल्नाले पनि बोर्डले राम्ररी काम गर्न नसकेको हो । बोर्डका सीईओ विवादमा तानिँदा पनि कार्यान्वयन पक्ष असाध्यै फितलो भयो । नेपालमा कस्ता पर्यटक आए, कति पर्यटक आए, त्यसको तथ्यांकसमेत बोर्डसँग भएको पाइँदैन । यस्तो तथ्यांकविना गरिने प्रचारकै कारण पनि फलदायी परिणाम नआएको हो । नेपालका लागि कुन बजार बढी उपयुक्त छ भनेर त्यसअनुसार प्रचार गर्न पनि बोर्ड चुकेको अनुभव हुन्छ । बोर्डलाई अस्तव्यस्त बनाउने एउटा कारण राजनीति पनि हो । समूहमा मिलेर काम नगर्ने अनि आआफ्नो स्वार्थअनुरूप काम गर्ने पर्यटन व्यवसायीहरूको कारण पनि बोर्ड प्रभावकारी बन्न नसकेको हो । पर्यटन व्यवसायमा लाग्ने र बोर्डमा प्रतिनिधित्व गर्नेहरू धेरैजसो उच्च व्यक्तिहरू नै छन् । उनीहरूले सीईओ र सचिवलाई उचित सुझाव दिएको भए र सही काम गर्न बाध्य पारेको भए पनि बोर्ड प्रभावकारी हुन्थ्यो । काम गर्ने इच्छाशक्ति नहुँदा र बोर्डलाई हाँक्न धेरै बोर्ड सदस्यले प्रतिनिधित्व नगर्दा यो अवस्था आएको हो । यस्तो परिणाममुखी काम नगर्ने बोर्ड किन आवश्यक पर्‍यो भन्ने प्रश्न पनि उठ्न थालेको छ । तैपनि प्रवद्धर्नात्मक काम गर्न एउटा सशक्त र निजीक्षेत्रको प्रतिनिधित्व भएको संस्था उपयुक्त हुन्छ । यसको काम बोर्डले गर्न सक्छ । बोर्डमा आउने व्यक्तिहरूमा व्यवसाय र आफ्नो कर्तव्यप्रति जिम्मेवारीबोध भएमा बोर्डलाई निकै प्रभावकारी बनाउन सकिन्छ । यसलाई बलियो बनाएर आफ्नो उद्देश्यमा सफल बनाउन सरकार, व्यवसायी सबैले बोर्डलाई घचघच्याउनुपर्छ र गलत गर्ने वा काम नगर्नेलाई पदबाट हट्नुपर्ने बाध्यता सृजना गर्नुपर्छ । विवादित व्यक्ति र योजनाविहीन व्यक्तिलाई बोर्डमा ल्याउनै हुँदैन । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : अध्यक्ष गोल्छा

पुस १९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पूँजीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएका छन् ।  तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पूँजीगत खर्च मात्र बढन सकेपनि त्यसले केही सहयोग गर्ने उनको धारणा थियो ।  भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतवार आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको वेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए ।  निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै उनले यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको बताए ।  अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको वेला पुन : कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए ।  यतिवेला अन्तरराष्ट्रिय उडानहरु बन्द भएको, देशहरु पुन : लकडाउनतर्फ गइरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ भन्दै अध्यक्ष गोल्छाले भने, ‘अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमीक्रनको त्रासले सेटब्याक हुने खतरामा छ ।’ अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो सञ्जालको कार्यगत एकता,सहकार्य, अपनत्व आवश्यक रहेको उनले बताए ।   अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृतिनै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गरे ।  महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए ।  महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले  भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए । संघका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद मानन्धरले संघले महासंघसँग सदैव संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो ररिरहने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो नेतृत्वको भावी योजना सुनाउँदै अध्यक्ष मानन्धरले पर्यटन विकासमा वर्तमान कार्यकाल विशेष रुपमा केन्द्रित हुने बताए । स्थानीय निकायले जथाभावी उठाएका करहरु रोकिनुुपर्ने र चेम्बर कानून ल्याउनुु पर्नेमा जोड दिंदै उनले त्यसमा सहयोग गर्न आग्रह गरे ।

कोभिडले थला परेपछि सरकारी सहायता खोज्दै होटल व्यवसायी

दुई वर्षदेखि ठप्प भएको होटल व्यवसायलाई सञ्चालनमा ल्याउन व्यवसायीहरुले सरकारको सहयाेग खोज्न थालेका छन् । सरकारले नयाँनयाँ योजना ल्याए मात्र व्यवसाय माथि उठ्न सक्ने भन्दै व्यवसायीहरुले तत्काल सहकार्यका लागि सरकारसँग अनुरोध गरेको होटल एसोसिएनस नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताउनुभयो । कोभिडपछि दुबई, माल्दिप्स, श्रीलंकालगायतका देशमा पर्यटन क्षेत्र सुधार भैसकेको उदाहरण छ । हामीले पनि सरकारले साथ दिए यस्तै काम गर्न सक्छौ तर सरकारले साथ दिनुपर्छ, शाहले बताउनुभयो । व्यवसाय उठ्ने अवस्थामा छैन, सरकारले कर असुल्न छाडेको छैन तर दुई वर्षदेखि एक रुपैयाँ पनि आम्दानी गरेका छैनौं कसरी कर बुझाउने उहाँले प्रश्न गर्नुभयो ।