प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महाराजगञ्जस्थित प्रहरी अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रहरी अस्पतालको विषयमा आज प्रहरी प्रधान कार्यालयमा भएको छलफलमा प्रहरी महानिरीक्षक थापाले नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरका कारण सङक्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा सेवालाई थप चुस्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आजको बैठकमा नेपाल प्रहरी अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनस्रोत तथा जनशक्तिको व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो ।
प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिने चिकित्सक तथा कर्मचारीले सुरक्षाका मापदण्ड पूर्ण पालना गरी अझै बढी संवेदनशील भई पारिवारिक वातावरणका साथ उपचारमा सरिक हुने स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।