वीरगञ्ज । नजिकिँदै गरेको फागु पर्वलाई लक्षित गरी वीरगञ्जमा बजार अनुगमन तीव्र पारिएको छ । वीरगञ्ज महानगरको बजार अनुगमन टोलीले मंगलबार वीरगञ्जको बसपार्क र बाईपास क्षेत्रमा अनुगमन गर्दा व्यापारीहरूमा भागाभाग मच्चिएको थियो ।
अनुगमन टोलीलाई देखेपछि सो क्षेत्रमा व्यापारीले आ–आफ्नो पसल बन्द गरेर भागेका थिए । केही व्यापारीले सरकारका अनेक निकायले अनुगमनको नाममा दुःख दिएको भन्दै प्रतिवादसमेत गरेको महानगरका खाद्य अधिकृत विपिनकुमार दासले बताए ।
अनुगमन अधिकृत दासको नेतृत्वमा भएको थियो । अनुगमन टोलीलाई कतिपय ठाउँमा व्यापारीहरूबाट असहयोग भएको उनले बताए । बजार अनुगमन समितिका संयोजक महानगरका उपमेयर इम्तियाज आलमले त्यस्ता पसल सिल गर्न निर्देशन दिएपछि केही व्यापारी आफैंले पसल र होटलहरू खोलेका थिए ।
अनुगमन टोलीले होटल, कोल्ड स्टोर र किराना पसलहरू अनुगमन गरेको टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी बताए । त्यसक्रममा म्याद सकिएका लिची जुस, चिसो पेय, चिप्स र बियर जफत गरी नष्ट गरिएको पनि उनले जानकारी दिए ।