गत चैत महीनाको २८ र २९ गते स्वावलम्बन विकास केन्द्रको संयोजनमा काठमाडौंमा दुई दिने तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको आयोजना भयो । होटल याक एण्ड यतिमा सम्पन्न उक्त कार्यक्रममा लघुवित्त कार्यक्रमसँग आबद्ध करीब ६ सय महिला सदस्य र २०० लघुवित्त संस्थाका पदाधिकारी तथा नीतिनिर्माता गरी करीब ८ सय जनाको सहभागिता रहेको थियो । लघुवित्त कार्यक्रमको सान्दर्भिकता र आवश्यकतालाई मनन गर्दै यसको व्यापकतालाई बढाउँदै लैजाने उद्देश्यले प्रत्येक दुई दुई वर्षमा लघुवित्त सदस्य सम्मेलन आयोजना गर्ने नीति तय भए अनुरूप २०७३ र २०७५ मा राष्ट्रिय सदस्य सम्मेलन भएका थिए । विश्वव्यापी कोरोना महामारीका कारण तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन एक वर्ष ढिला गरी सम्पन्न भएको हो ।
सरोकारवालाहरूको वास्तविक भोगाइ, अनुभव र ज्ञानको आदानप्रदानले आगामी दिनमा निर्माण हुने नीतिगत व्यवस्था, निर्देशन र कार्यान्वयन तह बलियो र प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रमको आयोजनाले यस क्षेत्रको दीगो विकास हुन्छ र स्थायित्व प्रदान गर्दछ । त्यसैले लघुवित्त क्षेत्रले अहिले भोगिरहेका र भविष्यमा आइपर्न सक्ने समस्याहरूको समाधान गर्न, यस क्षेत्रको वर्तमान अवस्था र विद्यमान नीतिनियम तथा निर्देशनको लेखाजोखा गर्न तथा लघुवित्त क्षेत्रको आगामी कार्यदिशा तय गर्न नियमनकारी निकाय, संस्था र सदस्य लगायतका सरोकारवाला बीच विस्तृत छलफलको निचोड प्रभावकारी बन्न सक्दछ । कमजोर आर्थिक अवस्था, न्यून चेतनास्तर र बेरोजगारीका कारण समुदायमा अपहेलित भएर विगतमा अत्यन्त कठिन जीवन यापन गर्न बाध्य लक्षित वर्गले लघुवित्त क्षेत्रसँग आबद्ध भएकै कारण आफ्नो आर्थिक अवस्था सुधार्न, गुणस्तरीय सामाजिक र मानवीय जीवन बिताउन सक्षम भएको वास्तविकताले लघुवित्त क्षेत्रको महत्त्वलाई प्रकाश पार्दछ । साथै, सहभागी अन्य सदस्यका लागि उत्प्रेरणाको स्रोत बन्दै आएको छ ।
चुल्होचौकामा सीमित महिला वर्गलाई वित्तीय सेवा प्रदान गरी स्वरोजगारमूलक व्यवसायी बनाउन लघुवित्त कार्यक्रमले प्रोत्साहित गर्दै आएको छ । चरम गरिबीका कारण अत्यन्त निम्न स्तरको जीवन यापन गर्न बाध्य महिला वर्गको उत्थानले मुलुकको निरपेक्ष गरिबी न्यून गर्न सहयोग पुग्ने भएकाले लघुवित्त कार्यक्रमले महिलालाई प्राथमिकता दिँदै आएको पाइन्छ । लघुवित्त वित्तीय संस्थाहरूसँग आबद्ध ५६ लाख सदस्य मध्ये महिलाको सहभागिता ९७.३१ प्रतिशत छ र बाँकी २.६९ प्रतिशत पुरुष सदस्य रहेका छन् । करीब ३२ लाख ऋणी सदस्यमा महिलाको संख्या ९७.३८ प्रतिशत र पुरुष सदस्यको संख्या २.६२ प्रतिशत रहेको पाइन्छ । त्यसैगरी सहकारी संस्थामा आबद्ध शेयर सदस्यमध्ये महिलाको आबद्धता पुरुषको भन्दा १२ प्रतिशत बढी हुनुले सहकारी संस्थाबाट सञ्चालित लघुवित्त कार्यक्रमले पनि महिला वर्गलाई नै प्राथमिकता दिएको पाइन्छ ।
नेपालमा लघुवित्त कार्यक्रम परम्परागत ढाँचामा सञ्चालन हुँदै आएको पाइन्छ । त्यसैले आगामी दिनमा यस क्षेत्रले समयानुकूल प्रविधिको प्रयोग गर्नुपर्ने, सदस्यलाई वित्तीय रूपले साक्षर बनाएर मात्र लघुवित्तीय कारोबारमा सहभागी गराउनुपर्ने, संस्थाहरूबीच अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साह गर्दै कार्यक्रमको गुणस्तर कायम गर्नुपर्ने, न्यायोचित नाफालाई प्राथमिकतामा राख्नुपर्ने लगायतका विषयमा सहभागीको जोड रहेको थियो । सदस्यको हैसियत र आवश्यकताभन्दा बढी सजिलै प्राप्त गर्न सकिने कर्जा र बहुबैकिङका कारण ऋणी सदस्यमा अनुत्पादक खर्च गर्ने बानीको विकास भई लघुवित्त क्षेत्रलाई संकटतर्फ धकेल्दै लैजाने सम्भावना पनि छ । त्यसैले नेतृत्व वर्ग, कर्मचारी र सदस्य स्वयंले यसतर्फ समयमा नै सचेत हुनुपर्ने सम्वन्धमा छलफल चलेको थियो । बहु बैकिङलाई नियन्त्रण गर्नका लागि कर्जा सूचना केन्द्रमा लघुवित्त संस्थाहरूको आबद्धता भए पनि सुचारु रूपले कार्य सम्पादन हुन नसकेकोमा सहभागीले चिन्ता व्यक्त गरेका थिए ।
‘घर घरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ” भन्ने नाराका साथ शुरू भएको सम्मेलनले वर्तमान अवस्थामा तीन शून्यको अवधारणा, यसको महत्त्व र प्रवर्द्धनलाई सम्बद्ध संस्थाले योजनाबद्ध रूपमा समेट्नुपर्ने कुरालाई कार्यक्रमले महत्त्व दिएको थियो । तीन शून्य अन्तर्गत गरिबी, बेरोजगारी र हरित गृह ग्यास उत्सर्जनलाई शून्य बनाउनका लागि लघुवित्त संस्थाले भूमिका खेल्नुपर्नेतर्फ व्यापक रूपमा छलफल भएको थियो । कार्यक्रममा सहभागीमध्ये १५ जना सफल उद्यमी सदस्यहरूको अनुभव, अनुभूति र मनका कुराले कार्यक्रममा रौनक प्रदान गरेको थियो । विशेष गरी एकल महिला र कमजोर अवस्था भएका लक्षित वर्गको मेहनत, साहस र लघुवित्तीय सेवा उपयोग गरेका कारण उनीहरूको जीवनमा आएको सकारात्मक परिवर्तन समाजले हेर्ने दृष्टिकोणमा भएको परिवर्तन प्रत्यक्ष सुन्न पाउँदा सेवाग्राहीहरूमा थप हौसला मिलेको थियो ।
सम्मेलनमा सफल सदस्यलाई आफ्ना अनुभव शेयर गर्दै गर्दा कर्जाको सदुपयोग नगरेकै कारण सफलता प्राप्त गर्न नसकेका सदस्यलाई पनि कार्यक्रममा सहभागी गराउन सकेको भए उनीहरूलाई कर्जा सदुपयोग गर्नेतर्फ उत्साहित बनाउन सहयोग मिल्ने थियो । त्यसैगरी सदस्यको आर्थिक, सामाजिक र मानवीय हैसियत माथि उठिसकेको अवस्थामा पनि लघुवित्त संस्थासँगको निरन्तरको आबद्धताले नियामकीय व्यवस्थाको अनुपालना नभएको देख्न सकिन्छ । यसरी लघुवित्त क्षेत्रमा एकातिर स्तरोन्नति भएका सदस्यहरू लघुवित्त क्षेत्रमा नै आबद्ध भइरहने र अर्कोतिर अतिविपन्न वर्गले अझैसम्म लघुवित्तीय सेवाबाट वञ्चित रहनुपरेको अवस्था छ । त्यसैगरी सहकारी संस्थाले पनि लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको वर्तमान समयमा यसका नियामकीय निकायसँग सम्बन्धित नेतृत्व तहलाई पनि सहभागी गराउन सकेको भए कार्यक्रम थप उपलब्धिमूलक हुने अवस्था रहन्थ्यो ।
ठूलो संख्यामा लघुवित्तका सदस्यहरू समेत सहभागी हुने यस्ता सफल सम्मेलन बिरलै आयोजना हुने गरेको पाइन्छ । यसका लागि आयोजकको आँट र साहसलाई उच्च मूल्यांकन गरिनुपर्दछ । सदस्यहरूको अनुभव, अनुभुति र मनका कुराहरूलाई एकअर्कामा साटासाट गर्न पाउने र नियामकीय र व्यवस्थापकीय नेतृत्वले पनि प्रत्यक्ष सहभागी हुने भएकाले सदस्यहरूको अवस्था, चाहना र भावी कार्यक्रमहरूसँग सम्बन्धित रहेर नीतिगत व्यवस्थामा आवश्यकताअनुरूप परिमार्जन तथा थपघट गर्न पृष्ठपोषण मिल्ने देखिन्छ । साथै, भावी कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने अवसर प्राप्त हुने गर्दछ । तसर्थ आगामी दिनमा आयोजना हुने यस्ता सम्मेलनले घरघरमा उद्यमशीलता भित्र्याएर दिगो, मर्यादित र अनुशासित लघुवित्ततर्फ थप जोड दिनुपर्ने देखिन्छ ।
लेखक लघुवित्त क्षेत्रका जानकार व्यक्ति हुन् ।