डोल्पाको काइके गाउँपालिका–३ स्थित अरनिको साधारण तथा प्राविधिक माध्यमिक विद्यालयले माध्यमिक तहको अंग्रेजी विषय शिक्षकका लागि दुईपटक विज्ञापन गरिसक्यो । अहिलेसम्म विद्यालयले शिक्षक पाउन नसकेको विद्यालयका प्रधानाध्यापक गोविन्द घर्तीले बताए ।
पाल्पाको ग्रामीण क्षेत्रका विद्यालयमा महत्वपूर्ण विषयको पठनपाठन प्रभावित हुने गरेको छ । विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक व्यवस्थापन गर्न नसक्दा पठनपाठन प्रभावित बनेको हो । यी विषयको शिक्षकका लागि पटक पटक विज्ञापन गरिए पनि शिक्षक अभावले दरखास्त नपरेको विद्यालयले गुनासो गरेका छन् ।
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणितका शिक्षक पाउनै मुस्किल हुन थालेको छ। विद्यालय तहमा विद्यार्थी कम उत्तीर्ण हुने विषयमा शिक्षक पाउन नसक्दा नतिजा झन् खस्किने अवस्था देखिएको छ। मालिका गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयले गत चैत महिनादेखि गणित शिक्षक आवश्यकताका लागि पाँच पटकसम्म आवेदन खुलायो तर पनि गणित शिक्षक पाउन सकेको छैन।
स्थानीय तहले पटक–पटक विज्ञापन गर्दा पनि गाउँका विद्यालयले विषयगत शिक्षक पाउन सकेका छैनन् । गाउँमा अन्य अवसर नहुने, स्थायी शिक्षक आएपछि छाड्नुपर्ने र सेवा सुविधा पनि कम हुने कारण शिक्षक पाउन मुस्किल भएको हो ।
तनहुँको भानु नगरपालिका–३ चाम्बासस्थित हिमालय माध्यमिक विद्यालयले माध्यमिक तहमा अंग्रेजी विषयको शिक्षक नपाउँदा प्राथमिक तहको शिक्षकबाट पठनपाठन गराउँदै आएको छ ।
काभ्रेको भुम्लु गाउँपालिका–२ सिम्थलीमा रहेको अरुणोदय माध्यमिक विद्यालयमा गणित शिक्षक खाली रहेको एक वर्ष भइसकेको छ । पटक–पटक विद्यालयले शिक्षक आवश्यकताको सूचना प्रकाशन गरे पनि उक्त विद्यालयले गणित शिक्षक नियुक्त गर्न सकेको छैन ।