प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनु पर्ने माग गर्नु भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेताहरूले यस्तो माग राख्नुभएको हो ।
उहाँहरुले कञ्चनपुर क्षेत्रमा भारत सँगको सीमा स्ट्रीप म्यापका आधारमा तय गर्दा धेरै ठाउँमा नेपाली भूमि भारत तर्फ परेको उल्लेख गर्दै यसलाई सच्याइनुपर्ने माग समेत गर्नुभयो । नेताहरूले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई भएको कुरा जानकारी गराउनु भएको थियो ।