हेम बिजी
संविधान पनि बोल्दो रहेछ
देखाउँदै घाइते मुटु
ऊ बोल्यो
र, भन्यो– म माथि
असंवैधानिक हतियार प्रहार गरियो
सत्ताका खेलाडीहरू खेल्ने
खेलमैदान
बर्बरतासाथ भत्काउँदा
मेरो
गलत बयान गरियो ।
प्रजातन्त्र पनि बोल्दो रहेछ
मन दुखाउँदै
ऊ बोल्यो–
सत्ताका खेलाडीहरू खल्ने
खेलमैदान
बर्बरतासाथ भत्काउँदा
अप्रजातान्त्रिक हतियार प्रहार गरियो
र, मेरो
मर्म पनि भत्काइयो ।
लोकतन्त्र पनि बोल्दो रहेछ
आत्म रुवाउँदै
ऊ बोल्यो–
सत्ताका खेलाडीहरू खेल्ने
खेलमैदान
बर्बरतासाथ भत्काउँदा
अलोकतान्त्रिक हतियार प्रहार गरियो
र, मेरो
भावना पनि भत्काइयो ।
एक दिन
एकैसाथ बोले
संविधान, प्रजातन्त्र र लोकतन्त्र
र, भने–
यो गणतन्त्र युगमा
सोचेका पनि थिएनौँ
तर
हाम्रो मुटु, मर्म र भावना
अधिनायक हतियारले लुछियो ।