बीस वर्षअघि नै गरिएका अध्ययनहरूले नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी र आर्थिक रूपले बलियो बनाउन विभिन्न सुझाव दिँदै आएका छन् । तर, ती सुझावको कार्यान्वयन गर्न कुनै पनि सरकारले पाइला चाल्न सकेनन् । त्यही भएर यो सेतो हात्ती नेपालको सार्वजनिक संस्थानको असफलताको उदाहरण नै बनेको छ । विदेशी रणनीतिक साझेदार ल्याएको भने निगम अहिले नेपाल आउने बाह्य कम्पनीहरूमाझ बलियो भइसक्थ्यो होला । अहिले त आन्तरिक उडानमा समेत निजी कम्पनीहरूले नाफा कमाउँदै, जाँदा निगम घाटामा जाँदै छ । आफैले गराएका आधा दर्जन बढी अध्ययनका सुझाव लत्याएर सरकारले जुन बेथितिका साथ निगम सञ्चालन गर्न दियो, त्यसकै परिणाम आज निगम ४७ अर्ब ऋणमा डुबेको छ ।
निगमको घाटाको एउटा प्रमुख कारण चिनियाँ जहाज हो । चिनियाँ जहाज किन्दा धेरै खालको नराम्रा असर पर्ने भनी विरोध हुँदा पनि राजनीतिक नेतृत्वले प्राविधिक पक्ष नहेरी चिनियाँ जहाज खरीद गर्ने निर्णय गर्यो । ती जहाजले खर्च बढाएको बढायै छन् तर कमाउने सुरसार छैन । यही जहाजका कारण नेपाल यूरोपेली संघको कालो सूचीमा परेको हो भनी विश्लेषणसमेत गरिन्छ । नेपाली जहाजलाई यूरोपमा उड्न त्यो बेला लागेको प्रतिबन्ध अहिलेसम्म पनि खुलेको छैन । ईयूले नेपाली जहाजहरूको सुरक्षाका बारेमा प्रश्न उठाएपछि त्यसले नेपालको पर्यटन क्षेत्रलाई पनि असर पार्यो । ती जहाज किन्दा लागेको ऋण तिर्ने बाटो नै देखिँदैन ।
निगमसँग दुईओटा वाइड–बडी जहाज छन् । प्रत्येक जहाजको २७४ जना यात्रु बोक्ने क्षमता छ । साधारणतया न्यारो–बडी जहाजको १४० देखि १७० जनासम्म यात्रु बोक्ने क्षमता हुन्छ । वाइड–बडी जहाज न्यारो–बडीको तुलनामा धेरै महँगो हुन्छ र यसले तेल पनि धेरै खान्छ भनिन्छ । यस्तोमा, वाइड बडी जहाज किन्दा निगम समस्यामा परेको देखिन्छ । बजार राम्रो पाएको भए यसले कमाउन सक्थ्यो । तर, अहिलेसम्म लामो दूरीमा यसले उडान गर्न पाएकै छैन । यूरोपका प्रमुख शहरमा यो उडाउन सकेको भए निगम घाटामा गए पनि मुलुकको पर्यटनले लाभ लिन सक्थ्यो । त्यसो नहुँदा अहिले यी जहाज निगमका लागि यति ठूलो बोझ भएका छन् कि निगम माथि उठ्नै सक्ने देखिँदैन । कोभिडको संकट सकिएपछि आउने दिनहरूमा पनि वाइड–बडीका जहाज जापान, कोरिया र साउदी अरेबिया वा सिड्नी उडाएर नाफामा लैजान कठिन रहेको धेरैको भनाइ छ ।
निगमको यस्तो अवस्था आउनुमा राजनीतिक हस्तक्षेप प्रमुख कारण मानिन्छ । निगमको प्रमुखमा व्यावसायिक मान्छे आउन नदिने लामो समयसम्म का मगर्न नदिने गर्दा यो अस्थिरताको शिकार बनेको हो । अहिले निजीकरणका लागि लागिपरेका प्रकाश पौडेललाई बीचैमा निष्क्रिय पारियो । कुनै पनि नेतृत्वले ल्याएको योजनामा उसले काम गर्न नपाएपछि कसरी निगम व्यावसायिक बन्न सक्छ ?
विनय श्रेष्ठ
नयाँ बजार, काठमाडौं ।