असोज ४, टोकियो (जापान) । विश्वमै सबैभन्दा लामो समय काम गर्ने देशहरुमध्ये एक हो जापान ।
लामो कार्यसमयका कारण आत्महत्या गर्नेको संख्या पनि यहाँ उच्च छ । यस्तोमा विदेशी कामदारहरुको मानवअधिकारको सुरक्षा गर्ने स्मार्टफोन एपको विकास गर्न सयौं कम्पनीहरु लगि परेका छन् ।
जापान अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका) सँगको सहकार्यमा टोयोटा मोटर कर्पोरेशन, खुद्रा विक्रेता कम्पनी एइओन,सफ्ट बैंक ग्रुप कर्पोरेशनसमेतका २०० भन्दा धेरै घरेलु कम्पनी तथा संघ–संस्थाहरुले मिलेर सो एप बनाउन लागेका हुन् ।
जाइका र योसँग सम्बद्ध मानवअधिकार संगठनले भने सचिवालयको रुपमा काम गर्नेछ । जाइकाका एक अधिकारीले यस्तो बताएको भन्दै सोमवार स्थानीय समाचार संस्था क्योदोले समाचार छापेको छ ।
जापानमा विदेशी कामदारहरुको कार्य घण्टा बारे प्रश्न उठिरहेको र उनीहरु उत्पीडन परेको घटनाबारे विश्वभर चासो बढिरहेकै समयमा एप विकास गर्न तत्परता देखाइएको हो । यस एपमार्फत प्राविधिक प्रशिक्षार्थी र अन्य कामदारहरुलाई आफूले काम गरिरहेको कम्पनीलाई सूचित नगरीकन तेस्रो पक्षीय संगठनहरुसँग परामर्श गर्न सक्नेछन् ।
यो एपको परीक्षण आगामीवर्ष गरिने बताइएको छ । एप मार्फत विदेशी कामदारहरुले आफ्नो कार्यस्थलमा भोग्नु परेको समस्याबारे सिधै सचिवालयलाई जानकारी गराउन सक्नेछन् । कामदारहरुको सामान्य जिज्ञाशाको स्वचालित रुपमा उत्तर दिन कृत्रिम बौद्धिकताको पनि प्रयोग गरिने छ ।
यही एपमार्फत कार्यस्थलमा हुने दुव्र्यवहारबारे सूचित गर्न सकिने व्यवस्था मिलाउनेबारे पनि एप विकासकर्ताहरुले विचार गरिरहेका छन् । साथै जापानमा जीवनयापन सम्बन्धी बहुभाषामा उपयोगी जानकारीहरु उपलब्ध गराउन पनि खोजिने जाइकाका एक अधिकारीले बताएका छन् । एजेन्सी