अवकाशको उमेर हद कति उपयुक्त ?

अहिले निजामती सेवामा कर्मचारीको अवकाशको उमेर बढाउनुपर्छ भन्दै विभिन्न सञ्चारमाध्यमबाट विचारहरू बाक्लैगरी बाहिर आएका छन् । खासगरेर, तिनका विचारमा वर्तमान अवकाशको उमेर हद ५८ वर्षलाई बढाएर ६० देखि ६५ वर्ष गर्नुपर्छ भन्ने छ । तिनका विचारमा अहिले नेपालीहरूको औसत आयु बढेको, अवकाशप्राप्त कर्मचारीलाई निवृत्तिभरणमा सरकारले धेरै खर्च बेहोर्नुपरेको मूल रूपमा यसका लागि दुईओटा दलील अघि सारिएका देखिन्छन् । उसैगरी तिनका अरू दलीलमा न्यायाधीशहरूको अवकाश उमेरको माथिल्लो हद ६५ वर्ष रहेको, शिक्षकहरूको अवकाशको उमेर हद ६३ वर्ष रहेको, संवैधानिक पदका अधिकारीहरूको अवकाशको उमेर ६५ वर्ष रहेको भन्ने पनि आएको छ ।  खासमा भन्ने हो भने कर्मचारीको अवकाशको उमेर विगतमा ६० वर्ष रहेकोमा २०४६ सालको परिवर्तनपछि २ वर्ष घटाएर ५८ मा झारिएको हो । त्यो मात्र होइन, देशको केन्द्रीय बैंकले त ३० वर्षे, ५८ वर्षे र विशिष्ट श्रेणीका कर्मचारीको हकमा अर्को थप सातवर्षे सेवा अवधि पनि लागू गरेकै हो । त्यहाँ तीन प्रकारका अवकाशका प्रणालीमध्ये जुन पहिले आउँछ सोहीअनुसार कुनै पनि कर्मचारी सेवा निवृत्त हुने व्यवस्था अद्यापि त्यहाँ कायमै रहेको पाइन्छ । सैनिक सेवा र प्रहरी सेवामा पनि अवकाशसम्बन्धी उमेर हद तहपिच्छे फरकफरक पाइन्छ । खासमा भन्ने हो भने ती सेवाका माथिल्लो पदमा लामो समयसम्म पदासीन हुन नपाइने प्रणाली प्रचलित रहेको देखिन्छ ।  सरकारले बुद्धि पु¥याउने हो भने जागीरको अवधि बढाउने होइन, बेलैमा त्यहाँका अनुभवप्राप्तलाई निजीक्षेत्रतिर स्थानान्तरण गर्ने वातावरण बनाउँदै लैजाने नीति अवलम्बन गर्नैपर्छ ।  हुन पनि संस्थाको माथिल्लो पदीय सेवाकै कुरा गर्दा सीईओ, प्रबन्ध निर्देशक, महाप्रबन्धक, कार्यकारी अध्यक्ष, सञ्चालकजस्ता पदहरूमा कार्यावधिको समयसीमा तोकिएकै राम्रो हुन्छ । त्यो तोकिनुको अभीष्ट भनेको संस्था हाँक्न भनेर नियुक्ति पाउनेले आफ्नो कार्यकालभरी राम्रो कार्यसम्पादन ढुक्कसित गरोस् भन्ने नै हो । तर, कतिपय उपल्लो पद राजनीतिक प्रभाव र दबाबका कारण तोकिएको अवधिसम्म कुनै अमूक पदाधिकारीले पूर्ण उपभोग गर्न नपाएका उदाहरण भने हामीकहाँ बग्रेल्ती छन् । यसै मेसोमा यहाँ उल्लेख गर्नलायक के हो भने यो अवकाशको उमेरसम्बन्धी चर्चा खासमा कुनै अमूक माथिल्ला पदाधिकारीहरू विद्यमान अवकाशको हदका कारण अमूक सर्वोच्च पदमा पदासीन हुन नपुगिएला कि ? भनेर शक्ति केन्द्रहरूमार्फत कर्मचारी नियमावलीमा उमेर हद बढाउनुपर्नेजस्ता संशोधन गर्नुपर्ने आवाजहरू बाहिर आउने गरेको अर्को यथार्थ पनि हुँदै हो । त्यहाँ अवकाश उमेरको वैज्ञानिकताभन्दा पनि अमूक पदाधिकारीको पदीय स्वार्थ नै हाबी हुने गरेको अदृश्य सत्य हो । तर, कसैले पनि अवकाशको यस्तो हद घटाउनुपर्छ भनेको चाहिँ देखिएन, सुनिएको छैन ।  नेपाली प्रशासनमा यस्ता चर्चा हुनु विगत केही दशकदेखिकै विशेषता बनेको छ । जसको आधार वैज्ञानिकताभन्दा हल्ला र पद लोलुपताबाहेक अर्थोक देखिएको छैन । वास्तवमा कुनै कर्मचारी, खासगरेर सरकारका निजामती, सैनिक वा प्रहरी र शिक्षा वा न्याय सेवाकै किन नहोऊन् सबैको अवकाशको उमेर हद एकैखाले नभएकाले कमसे कम तिनलाई एकरूपता गर्ने हो कि ? भन्ने एउटा तर्क अगाडि ल्याउन भने सकिन्छ । तर, कुनै कार्यरत कर्मचारीलाई छिटो अवकाशमा निवृत्त गराउँदा सरकारले अथाह खर्च बेहोर्नुपरेको तर्कको चाहिँ कुनै औचित्य छैन । तिनका विचारमा अवकाशमा दिइने निवृत्तिभरणको खर्चभन्दा कर्मचारीलाई उमेर हद बढाएर पाल्दा कम खर्च हुन्छ भन्ने हो, जुन सरासर गलत हो । किनभने निवृत्त हुने कर्मचारीले पाउने पेन्सन कार्यरत कर्मचारीले पाउने तलबजति पनि हुँदैन, धेरै नै कम हुन्छ । साथै, निवृत्त कर्मचारीलाई कार्यरतलाई भैंm अरू खाले भत्ता र सुविधा पनि दिनु पर्दैन । त्यसअतिरिक्त लामो समयसम्म पदमै टाँसिइरहँदा प्राप्त हुने अन्य अदृश्य प्रकारका लाभ वा शुभलाभहरूको हिसाबकिताब गर्ने हो भने त त्यसको दलील उचित नहोला । तथापि, एउटा नदेखिएको सत्यचाहिँ के हो भने सरकारी सेवामा रहने कर्मचारीमा लामो कालसम्मै, भरसक आजीवन, पदमै पदासीन रहिरहन पाए हुन्थ्यो भन्ने राणाकालीन मनोविज्ञानले भूमिका खेलेको छ, जुन गलत छ ।  कतिपयले त कर्मचारी धेरै लामोसम्म पदमा रहे भने ती अनुभवी हुन्छन् र त्यसले कर्मचारीकै उत्पादकत्व बढ्छ पनि भनेको पाइन्छ । यो पनि गलत हो । किनभने लामो कार्यकाल र धेरै लामो अवकाशको उमेर हदले उत्पादकत्वमा वृद्धि होइन, ह्रास आउँछ । त्यसले संस्थामा नयाँ रक्त सञ्चार प्रवाहमा समेत रोक लाग्ने हुँदा नव प्रवेशीहरूको ढोका पनि थुनिन्छ । अर्को, पदासीनहरूमा पद लोलुपताले गर्दा तिनमा जाँगरभन्दा पनि ‘लेथार्जिक’ संस्कार हाबी हुने डर पनि हुन्छ । समयमै बढुवा भएन र पदमै रहिरहने रोगले तिनमा निराशासमेत आउने सम्भावनालाई नकार्न सकिँदैन । यो नेपाली प्रशासनमा यत्रतत्र देखिएकै पनि हो । यसैले कुनै पनि संस्थामा लामो अवकाश प्रणाली लागू गर्नुमा भन्दा त्यसलाई उत्पादकत्वसित जोडेर अवकाश वा उपदान प्रणाली ल्याउनु उचित हुन्छ ।  माथिल्लो पदमा धेरै काल टाँसिइरहनेमा भन्दा पनि त्यसलाई कुनै निश्चित अवधि तोकिनु नै बढी वैज्ञानिक हुन्छ । जस्तो अहिले सचिवको अवधि ५ वर्ष तोकिएको छ । त्यसैगरी सहसचिव स्तरसम्मका कुनै पनि सरकारी कर्मचारीहरूलाई पनि सचिवकैजस्तो गरेर पदीय हदबन्दी आवश्यक भइसकेको छ । किनभने त्यो पदमा १० वर्षेे अवधि भनेको पनि धेरै हो । त्यो पद भनेको नीति निर्माण तहको पद हो । यसैले त्यस्ता पदमा कुनै अमूक कर्मचारी तोकिएको अवधिमा बढुवा हुँदैनन् भने तिनलाई उचित र सम्मानसहितको अवकाश प्रणालीभित्र ल्याइनुपर्छ । अर्थात् तिनले वर्तमान अवकाशको अन्तिम हदको अवधि कुर्ने होइन कि तिनलाई उत्पादकत्वका हिसाबले ससम्मान बेलैमा निवृत्त गराउनु वैज्ञानिक हुन्छ । एउटा सहसचिवजस्तो पदमा १०–१० वषर््ासम्म पनि कुनै अमुक कर्मचारी बढुवा हुँदैन भने विद्यमान प्रशासनिक प्रणालीमा बढुवाका प्रणालीगत कमजोरीहरू छैनन् भने कार्यक्षमताका हिसाबले त्यतिको पदासीन अवधिलाई लामो र कम उत्पादकत्वको भन्नैपर्छ । अत: भइरहेको ५८ वर्षे अनिवार्य अवकाश प्रणालीलाई २ वा अरू केही वर्ष थपेर ६० वा ६५ वर्ष पुर्‍याउँदैमा नेपाली निजामती प्रशासनमा कायापलटै हुने भन्ने कुरा वैज्ञानिक छैन । अचेल नयाँ पुस्तामा कुनै एकै संस्थामा लामो समयसम्म जागीर खाने प्रवृत्ति वा संस्कार पनि हराउन थालेको वा कमी आउन थालेको छ । यो कुरा अरूतिर हेर्नै पर्दैन, नेपालमै कार्यरत स्ट्याण्डर्ड चार्टर्ड बैंकमा हेरे पुग्छ । निजीक्षेत्रको राम्रो विकास भएको देशमा त क्षमता भएकाहरू कुनै एउटै संस्थामा ५ वर्षभन्दा बढी जागीर गर्न रुचाउँदैनन् । त्यहाँ कर्मचारीको स्थानान्तरण दर उच्च पाइन्छ । नेपालमा पनि बैंक वित्तीय क्षेत्रको विगतको इतिहास हेर्ने हो भने केन्द्रीय बैंकले अवलम्बन गरेको मौजुदा अवकाश प्रणाली, जुन तुलनात्मक हिसाबले अरूको भन्दा केही वैज्ञानिक पनि देखिन्छ, को फाइदा निजीक्षेत्रका बैंकहरूमा देखिएकै हो । यसलाई जसले जे जसरी लिऊन् तर छिटै अवकाश पाएकाहरूले निजीक्षेत्रमा राम्ररी नै आफूलाई बिकाएकै हुन् ।  अब, सरकारले बुद्धि पुर्‍याउने हो भने जागीरको अवधि बढाउने होइन, बेलैमा त्यहाँका अनुभवप्राप्तलाई निजीक्षेत्रतिर स्थानान्तरण गर्ने वातावरण बनाउँदै लैजाने नीतिचाहिँ अवलम्बन गर्नैपर्छ । त्यो भनेको कुनै कर्मचारीलाई लामो समयसम्म जागीरमै अल्झाइराख्ने वा तिनले पनि अल्झिरहने होइन कि समयमै अवकाश वा निवृत्त भई उत्पादनशील कार्यमा सरिक हुने भन्ने नै हो । सरकारले त्यस्ता जनशक्ति परिचालन गरेर लैजाने, प्रोत्साहित गर्ने र सकिन्छ भने त्यस्तामा जानेहरूलाई अत्यन्त न्यून ब्याजदरमा कुनै ‘सिडमनी’ उपलब्ध गराएर (कोष वा वित्तीय संस्थाहरूबाट) र आवश्यकताअनुसार प्रविधि र तालीम दिएर कुनै उत्पादनमूलक उद्योग व्यवसायमा होम्ने वातावरण बनाउनुपर्छ । बढ्दो बेरोजगारीको अवस्थालाई ध्यानमा राख्दा पनि लामो अवधिको अवकाशको उमेरहद (६० वा ६५ वर्ष) बढाउनुको कुनै अर्थ छैन ।  प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी  निर्देशक हुन् । 

सम्बन्धित सामग्री

उद्यमी बन्न गाह्रो छ, असम्भव छैन : यी उपाय अपनाए व्यवसायमा लाग्न सकिन्छ

देशलाई उद्यम चाहिन्छ भन्छौ, सियोदेखि जहाजसम्म विदेशबाट ल्याउँछौं । जुत्तादेखि टोपीसम्म विदेशी नै रुचाउँछौ । तापनि उद्यमशीलताको रटान दिन्छौं । पाठ्यक्रममा उद्यमशीलताको विकासको विषय समावेश गरेर पढाउँछौं । उद्यमशीलताको अवधारणाको जन्मदाता जोसेफ सुम्पिटरको भनाइ अनुसार बजारमा भएका वस्तु वा सेवामा रचनात्मक उथलपुथल ल्याउने कार्य हुन्छ, जसको परिणाम नयाँ वस्तु तथा सेवा बजारमा आउँछ । त्यसो त ज्याक्मा मानिसको शिकायतमा व्यवसाय शुरू गर भन्छन् । नयाँ पुस्ताका विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर लैजान शिक्षक र विद्यालयले अल्छी गर्छन् । अर्कोतर्फ विद्यार्थीहरूलाई काल्पनिक व्यावसायिक योजना अर्थात् बिजनेश प्लान बनाउन लगाउँछौं । साथै, नेपालमा व्यावसायिक वातावरण भन्ने विषय पनि पढाउँछौं ।  चेसमा अरूले खेलेको बोर्डमा गेम जित्न सकिँदैन । उद्यमशीलतामा सफलताका लागि हरेक मानिसको आआफ्नै तौरतरीका, परिस्थिति बुझाइ अनुभव ज्ञान सोच हुन्छ । यो गणित जस्तो सूत्रमा चल्दैैन । यस विषयमा हामी उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्दैनौँ, केवल किताबी ज्ञान र सैद्धान्तिक घोडाबाट विद्यार्थीहरूलाई दुर्गम गोरेटोतर्फ डोेर्‍याउँछौैं । उद्यमी र कारखानावालाले आफ्नो उद्यमकला, व्यवसाय र उद्योग अरूलाई देखाउन, बुझाउन पनि कन्जुस्याइँ गर्छन् ।  ब्याज खाने, भाडा खाने र तलब खाने मान्छे कदापि उँभो लाग्दैन भनिन्छ । जागीरभन्दा पनि आफ्नो काम गरेमा सन्तानका लागि केही दिने कुरा हुन्छ । तसर्थ जागीर खानुभन्दा आफ्नो काम गर्नु ठीक हुन्छ ।  स्वदेशीलाई व्यापार र व्यवसाय गर्ने वातावरण नै छैन । खासमा समुदाय, वर्ग, जात विशेषले मात्र यो काम गर्ने भन्ने चाहिँ होइन, जसले जे सक्छ, जान्छ, ज्ञान छ त्यही गर्ने हो । यसमा अन्यथा सोच्नु हुँदैन ।  उद्यम गर्न एक लगानीकर्ताले जलविद्युत् छान्यो भने सातओटा मन्त्रालयमा फाइल नचाउनुपर्छ । जिल्ला, विभाग, शाखा, प्रशाखा, उपशाखा, प्रभाग त कुरै छाडौं तर कहिल्यै एकद्वारमा लैजान प्रयास भएन किनकि हामीलाई मान्छे निर्यात गर्ने र सामान आयात गर्ने बानी परिसकेको छ ।  दातृसंस्थाहरूले समेत दिगो विकासका लागि दाताको निर्भरताभन्दा उद्यमशीलतातर्फ जान सुझाव दिएका छन् । यसबाट सरकारलाई दिगो रूपमा आय हुने र आयोजना फलदायी हुने देखिएको छ । नेपालमा उद्यमशीलताका लागि उद्यमीहरूले विदेशी महँगो प्रविधि तथा मेशिनभन्दा नेपाली परम्परागत तथा सुधारिएको प्रविधि अपनाएमा सहज र लागत कम हुन्छ ।  व्यवसाय थालनी गर्दा पैसा र आइडियामध्ये कुन पहिला चाहिन्छ ? यी दुई विषय  अहम् छन् ।  चाँदीको थालमा सुनको चम्चाले खाने सम्भ्रान्तहरूबाट उद्यमशीलताको तालीम, प्रशिक्षण, कार्यशाला, गोष्ठीमा दिइएका सूत्र, धारणा र विचारहरू शुरुआती स्तरका उद्यमीहरूलाई पक्कै काम नलाग्ला ।   तीन दशकभन्दा बढी ससानो काम, जागीर, पेशा गरेका आधारमा केही अनुभव र ज्ञान बाँड्नु उपयुक्त ठान्दछु ।  १.     व्यवसायमा जुन अवसर देखेर लागिन्छ व्यवसाय शुरू गरेपछि त्यो कहिल्यै भोगिँदैन । जे नसोचेको हो, त्यही पहिला आउँछ र त्यही उद्यमीले भोग्नुपर्छ । उद्यमी अर्थात् साहू बन्न कम्तीमा शुरूका १ वर्षसम्म आर्थिक, व्यावसायिक, पारिवारिक, सामाजिक, मनोवैज्ञानिक गरी पाँचओटा मूल जोखिम लिएर लाग्नुपर्छ ।  २.     युद्धस्तरमा समस्यासँग जुध्नुपर्छ । कम्तीमा व्यवसायको स्वरूप हेरेर साना उद्यममा ६ महीना र मझौला तथा ठूला उद्यममा १ देखि ३ वर्षसम्म ३६५ दिन नै खटिरहनुपर्छ । तसर्थ साहू बन्न साँच्चिकै गाह्रो छ ।  ३.     उद्यमशीलताको जरो तीतो भए पनि फल मीठो हुन्छ । उद्यमशीलताका प्रवर्तकहरू सबैले गर्ने उद्यम उद्यम होइन भन्छन् । उनीहरूको भनाइमा उद्यम नवीनतम, कसैले नगरेको, पहिलोपटक शुरू गरेको हुनुपर्छ । तर, बिल्कुल नयाँ कसैले गर्दै नगरेको काम गर्नलाई नौलो, विचार, अवधारणा, प्रस्ताव, नीति, प्रविधि हुनुपर्छ । जानिफकारको भनाइमा संसारमा मौलिक भन्ने चिज छैन । छ भने १ प्रतिशत मात्र हुन्छ । बाँकी ९९ प्रतिशत नक्कल नै हो । ४.     व्यापार र व्यवसाय गर्न पैसाभन्दा आँट, लगन, जोश, जाँगर, हिम्मत, होशियारी, जागरुकता चाहिन्छ । पैसा हुँदैमा व्यवसाय,  र उद्यम हुने भए नेपालमा सबभन्दा बढी पैसा राणाजी तथा दरबारिया अनि पछिल्लो अवस्थामा राजनीति गर्ने मानिसहरूसँग छ । तर, उनीहरू व्यवसायमा आउन सकेका छैनन् किनकि उनीहरूसँग आँट र हिम्मत छैन । पैसा छ तर पनि काम गर्ने अवधारणा छैन ।  ५.     उद्यम, व्यवसाय, इलम गर्न पैसाभन्दा अगाडि पहल र प्रस्ताव चाहिन्छ । यसलाई बिजनेश प्रपोजल, कन्सेप्ट नोट, आइडिएशन, बिजनेश प्लान भनिन्छ ।  ६.    बचत, लगन, र उद्यमशीलता तीन तत्त्व एकअर्काका परिपूरक हुन् । साथै उद्यमी बन्न हामीसँग सृजनशीलता तथा नवप्रवर्तन अर्थात् इन्नोभेशन हुनुपर्छ । यसमा नौलोपना, अलग्गै प्रकृति एवं सृजना हुनुपर्छ । उदाहरणका रूपमा जोन पेम्वरटनले पानीलाई कार्बोनेट वाटर बनाएर कोक उत्पत्ति गरेको, कसैले केराका परिकारबाट बनाना कटेज बनाएको, ट्राउट माछा फार्म, अस्ट्रिच फार्म आदि मान्न सकिन्छ ।  ७.     बजारको अध्ययन, चयन र सम्भावना बुभ्mनुपर्छ । नेपाल विश्वका दुई महाशक्तिको बीचमा रहेकाले बजार अनन्त छ । तर, हामीले बुभ्mन सकेका छैनौं । बन्दरगाह, विद्युत्, बौद्धिक तथा वैज्ञानिक जनशक्तिको अभावमा उद्यम, व्यवसाय र उद्योग सम्भव छैन । गर्न सक्ने, बेच्न सक्ने भनेको एउटा पानी, अर्को प्रकृति र हिमाली जडीबुटी पनि हो ।  ८.     उद्यम व्यवसायका लागि नेटवर्क, सृजनशीलता, नवप्रवर्तन, बजार, परामर्श चाहिन्छ । राज्य तहबाट स्टार्टअप, घरेलु उद्योग, शीप, तालीम, उद्यमशीलता भने पनि खासमा कुनै प्रभावशाली, लक्ष्यभेदी काम हुन भने सकेको छैन । उद्योग मन्त्रालय, कर कार्यालय, वडा कार्यालय, वाणिज्य विभाग, घरेलु कार्यालय, कम्पनी रजिस्टार बीचमा घनीभूत समन्वयविना उद्यमशीलता असम्भव छ ।  ९.     उद्यमशीलताका लागि अपरिहार्य तत्त्वहरूमा आँट, सोच र लगन पर्छन् । लगानीका लागि पैसाको जोहो मात्र गरेर पुग्दैन । अवधारणा चाहिन्छ । अवधारणालाई आइडिएशन भनिन्छ । १०.    व्यावसायिक योजना, पूँजी संकलन, श्रम व्यवस्थापन, जोखिम अनुमान, प्रतिस्पर्धाको हेक्का, बजारको सम्भावना, सरकारी ऐन नियम कानूनको प्रावधान, उपभोक्ताको स्तर, आयस्रोत आदि सोचनीय  पक्षहरू हुन् । ११.    उद्यमशीलतामा अपरिहार्य चिज लगन, मेहनत र समय हो । त्यस्तै एकाग्रता भएमा जुनसुकै उद्यम वा व्यवसाय सफल हुन्छ । १२.    नेपालको परिस्थितिमा स्वास्थ्य, शिक्षा र यातायात, सूचनाप्रविधिमा प्रचुर  सम्भावना छ । कम्पनी रजिस्टार कार्यालयमा उद्योगी तथा व्यवसायीले उद्योग व्यवसाय दर्ता गर्न जाँदा कुनकुन व्यवसायमा, कहाँकहाँ सिन्डिकेट छ, कम्पनी रजिस्टारमा दर्ता गरेपछि कहाँकहाँ, कुनकुन बिन्दुमा, कुनकुन अड्डाले व्यवसाय गर्न तगारो हाल्छ, दुःख दिन्छ, थप स्वीकृति लिनुपर्छ अथ्र्याउन, बुझाउनुपर्छ ।  सरकारले स्नातक गरेका कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, कोशी प्रदेशका गाउँपालिकाका युवाहरूलाई निःसर्त विनाधितो ऋण दिनुपर्छ । यो ऋण नवप्रवर्तनात्मक उद्योग व्यवसायमा लगाएमा केही आशा गर्न सकिन्छ । यसका लागि बैंकलाई जिम्मा दिनुपर्छ । अनुगमन गाउँपालिकाले गर्नुपर्छ ।  यसो गर्दा बैंकप्रति विश्वास पनि बढ्छ, काम गर्न सहज हुन्छ र बैंकलाई पनि काम पुग्छ । यसरी स्नातक युवालाई उद्यमशीलताको ऋण दिँदा उनीहरूलाई बोन्ड शर्तनामा गराउनुपर्छ । विदेश जान नपाउने, कार्य क्षेत्रमा निरन्तर रहनपर्ने, तोकिएको क्षेत्रबाहेक अन्यत्र लगानी गर्न नपाउने, जागीर गर्न नपाउने, करमा दर्ता गर्न नपर्ने, गाउँपालिकामा दर्ता गर्ने, सकेसम्म पेशा इलम गर्न आफ्नो जग्गा भएको हुनुपर्ने, कृषि, वन पैदावर, उमेर हद अविवाहित तथा २०–२५ वर्ष राख्नुपर्छ । साथै स्थानीय साधनस्रोतलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।  लेखक नेपाल विज्ञापन संघका कार्यकारी निर्देशक हुन् ।

बैंकका सञ्चालकलाई उमेरको हदबन्दी

नेपालको राजनैतिक वृत्तमा उमेरको उपल्लो हदको चर्चा बेलाबखत आउने गर्छ । तथापि, त्यसले मूर्त रूप लिन भने सकेको देखिएन । उमेरको यस्तै चर्चा बेलाबखत नेपाली वित्तीय क्षेत्रमा पनि बाक्लै गरी हुने गरेको पाइन्छ । तर, सत्तामोह र बैंक वित्तीय संस्थाको सञ्चालकको पदमोह उस्तै होइनन् । उपल्लो उमेरले कार्य सम्पादनमा नकारात्मक प्रभाव पार्छ भन्ने हो भने नेपालमै पनि केही बैंकरहरू सत्तरी/असीको उमेरमा पनि सक्षम भेटिन्छन् । यसबाट सक्षम व्यक्तिलाई उमेरको हद आवश्यक छैन भन्ने पुष्टि हुन्छ । यसै सन्दर्भमा चर्चा गर्नुपर्दा बारेन एन्ड बफेट नामक अमेरिकी कम्पनीको उदाहरण अगाडि ल्याउन सकिन्छ । त्यहाँ अधिकांश निर्देशकहरू असी वर्ष नाघेका छन् । खासगरेर, अमेरिकी वित्तीय संस्थाहरूमा विगत केही वर्षयता उमेरको माथिल्लो हदमा नियन्त्रण आवश्यक नभएको विचारहरू आउन थालेका छन् । त्यहाँ कतिपय वित्तीय संस्थामा सञ्चालक हुन पाउने तल्लो उमेर नै पचास वर्षको तोकिएको छ जबकि नेपालमा २५ वर्ष पूरा भएका कुनै व्यक्ति वित्तीय संस्थाको सञ्चालक हुन पाउने व्यवस्था (बाफिया दफा १८) छ । आफूले लगानी गरेको संस्थामा पक्कै पनि स्वार्थ गाँसिएकै हुन्छ । कुनै सञ्चालक यही कारणले भन्दा पनि शेयरधनीहरूबीच लोकप्रियता र विज्ञताका कारण पटक पटक चुनिएर आउँछ भने त्यसलाई रोकिहाल्नु पर्छ भन्ने विचार जायज होइन । कतिपय अमेरिकी वित्तीय संस्थामा १२ वर्षभन्दा बढी सञ्चालक भएर बस्न नपाइने बन्देज पनि देखिन्छ । हाल अमेरिकी बैंकहरूमा बोर्ड डाइरेक्टरका लागि ७२ वर्षको उमेरको उपल्लो हद कायम छ । तर, तिनलाई नियुक्त गर्ने समितिले संस्थामा राखिराख्नु आवश्यक देखे भने त्यो उपल्लो उमेरको हद नलाग्ने व्यवस्था पनि गरिएको देखिन्छ । राजनीतिक पदमा होस् वा वित्तीय क्षेत्र, एउटै व्यक्ति लामो समयसम्म सत्तामा वा पदमा रहिरहनुलाई स्वार्थबझान र संस्थागत सुशासनका हिसाबले राम्रो मानिन्न । राजनीतिमा संस्थागत सुशासनको कुरा बिरलै गर्ने गरिन्छ तर वित्तीय क्षेत्रमा त्यो अपरिहार्य मानिन्छ । अझ वर्तमान प्रविधिले ल्याउने जोखिमलाई दृष्टिगत गर्दा त यसको परिपालना मात्र होइन, यसका लागि चनाखो भएर बस्ने नियमनकारी निकायहरूले समेत त्यसको अब्बल प्रयोग गर्नुपर्ने हुन्छ । उमेर हदकै सिलसिलामा दुई वर्षअघि नेपालको वित्तीय क्षेत्रमा एउटा तरङ्ग आएको थियो । त्यो तरङ्ग केन्द्रीय बैंकले वित्तीय संस्थाका सिइओ र सञ्चालकको उपल्लो उमेरको हदसम्बन्धी नियमनले ल्याएको थियो । त्यस नियमनबाट वित्तीय संस्थामा कार्यरत केही सिइओ र सञ्चालकहरू एकाएक सेवाबाट विमुख हुनुपर्ने अवस्था पनि आयो । सञ्चालकलाई भन्दा पनि यसले सिइओलाई पिरेको देखियो । एक वाणिज्य बैंकका सिइओले त कानूनी चुनौती पनि दिए । सम्मानित अदालतले पनि त्यसको रक्षा गरिदियो । फलतः हठात् जागिर गुमाएका ती सिइओ पुनर्बहाली भएर अहिले करीब असीको उमेरमा पनि बैंकमा सक्षम रहेका देखिन्छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा व्यवस्था नै नभएको हकमा नियमनकारी निकायले नियन्त्रण गर्न नमिल्ने नजीर त्यसले बसाए पनि हाल सो ऐनको संशोधन विधेयक संसदमा विचाराधीन रहेकाले उमेर हदसम्बन्धी यो क्षेत्रको चर्चा सेलाइहालेको भने छैन । केन्द्रीय बैंकले संस्थागत सुशासनकै लागि भनेर बैंक र वित्तीय संस्थाका सञ्चालकहरूलाई उपल्लो उमेर र पदावधिमाथि नियन्त्रण राख्न खोजेको देखिन्छ । उपल्लो उमेर कार्यसम्पादनमा बाधक हुन्छ भन्ने विधेयकको आन्तर्य बुझ्न गाह्रो परोइन । एकीकृत निर्देशनको संस्थागत सुशासनले नेपालमा वित्तीय क्षेत्रका सञ्चालकलाई ७० वर्षे उपल्लो उमेरको हद तोकेको छ । सत्तरी वर्ष नाघेकालाई नियुक्ति, पुनर्नियुक्ति र मनोनयनसमेत गर्न नपाउने बन्देज लगाएको छ । ७४ वर्ष नाघेको व्यक्ति सञ्चालक पदमा बहाल रहन नपाउने भएकाले कतिपय वित्तीय संस्थामा कार्यरत त्यस उमेर समूहका बहालरत सञ्चालकहरू एकाएक पदविहीन हुन पनि पुगेका थिए । ऐनमै नभएको व्यवस्थाविरुद्ध कतिले कानूनी चुनौती दिए  कतिले नियमनकारीसित जोरी खोज्न उचित ठानेनन् । मूलतः नियमनकारी निकायले उमेरको उपल्लो हदको कुनै तात्विक तर्क भने दिन सकिरहेको देखिँदैन । त्यस्ता विषयमा पहिले गम्भीर रूपमा छलफल चलाएर नियमन व्यवस्थित गर्न सकिन्थ्यो  । अहिले उमेरकै  त्यसखाले व्यवस्था राखेर बाफिया संशोधनका क्रममा संसदमा विधेयक विचाराधीन छ । तर, कतिपय राजनीतिक व्यक्तिहरू र उच्च घरानियाहरूको समेत वित्तीय संस्थामा स्वार्थ, लगानी रहेका कारण नियमनकारी निकायको सो प्रस्ताव सजिलै पारित हुने कुरामा आशंका पनि छँदै छ । वित्तीय संस्थाका सञ्चालक भनेका (स्वतन्त्र र विज्ञ सञ्चालकबाहेक) त्यस्ता संस्थामा लगानी गरेका व्यक्तिहरू नै हुन्छन् । कतिपय संस्थापक र कतिपय सर्वसाधारण शेयरधनीबाट चुनिएरै जाने हुन्छन् । त्यसको व्यवस्था कम्पनी ऐनले गरेकै छ ।   आफूले लगानी गरेको संस्थामा पक्कै पनि स्वार्थ गाँसिएको हुन्छ । कुनै सञ्चालक यही कारणले भन्दा पनि शेयरधनीहरूबीच लोकप्रियता र विज्ञताका कारण पटक पटक चुनिएर आउँछ भने त्यसलाई रोकिहाल्नु पर्छ भन्ने विचार जायज होइन । पच्चीस वर्षे कुनै सञ्चालक पटक पटक निर्वाचित भएर आउने हो भने वर्तमान सत्तरी वर्षसम्म उसले धेरै नै पटक सञ्चालक पदमा बहाल रहनसक्ने हुन्छ । वित्तीय संस्थालाई नै हानिनोक्सान पुर्‍याउने गरी उसका कार्यकलापहरू भए त्यसका लागि हो नियमन । तर, उपल्लो उमेर हदकै कारण कुनै सञ्चालकको लोकप्रियता र विज्ञतालाई खुम्च्याउने गरी नियमन गरिनु राम्रो होइन । हो, मानिस सधैँ भौतिक र मानसिक रूपले सबल रहिरहन सक्दैन । उमेरको माथिल्लो वयमा पुग्ने जोकोही यी दुवै आधारले सक्षम नहुन सक्छन् । तर, कोही मानसिक, भौतिक र प्राज्ञिक रूपले सक्षम छ र उसलाई संस्थाका शेयरधनीहरूले पत्याउँछन् भने उसलाई रोकिहाल्नुपर्ने देखिन्न । यसैगरी संस्थापक र सर्वसाधारण शेयरधनीहरूबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूलाई एकैखाले उमेर हदको नियम राखिनु उचित होइन । नेपालका बैंक र वित्तीय संस्थाहरूमा संस्थापक  लगानीकर्ताहरूलाई केन्द्रीय बैंकको विशेष खाले नियन्त्रण रहेकाले सर्वसाधारण शेयरधनी र संस्थापक शेयरधनीबीच आकाशजमीनको फरक देखिएको वर्तमान परिप्रेक्ष्यमा यी दुवै वर्गलाई एउटै डालोमा राख्नु उचित हुँदैन । यसैले संस्थापकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको अवधि र उपल्लो उमेरको हदमा पुनरवलोकनको आवश्यकता देखिएको छ । वित्तीय संस्थाहरूमा जाने सञ्चालकमा तत्सम्बन्धी विज्ञता र ज्ञान एवम् अनुभवले पनि उत्तिकै महत्व राख्ने हुँदा हाल बाफियामा कायम रहेको तल्लो उमेरको हदलाई समेत पुनरवलोकन गरी पैंतीस वर्ष कायम गर्नु बढी वैज्ञानिक देखिन्छ । हालको कानूनमा सञ्चालक हुनका लागि तल्लो उमेरको हद (पच्चीस वर्ष पूरा भएको) तोकिएको भए पनि त्यस्ता सञ्चालक कति उमेर पुगेसम्म कायम हुने नियुक्ति हुने अर्थात् उपल्लो उमेरको हद कतिसम्म हुने भन्ने कुरा उल्लेख छैन । यसको अर्थ के हो भने कुनै पनि शेयरधनी ऐनले तोकेको अयोग्यतासम्बन्धी कुराहरूबाट पार रहेको अवस्थामा उमेरको माथिल्लो हद उसलाई लागू हुँदैन । वर्तमान ऐनमा सञ्चालकको पदावधिको हद तोकिएको भए पनि ऊ पुनः निर्वाचित हुन सक्ने व्यवस्था छ । अध्यक्ष र कार्यकारी प्रमुखलाई लगातार दुई कार्यकालभन्दा बढीको पदावधिमाथि अङ्कुश लगाइएको छ । तथापि, कुनै सञ्चालकलाई शेयरधनीले निर्वाचित गरिरहेको खण्डमा बाँचुञ्जेल सञ्चालक हुने घटनालाई हालको बाफियाले रोक्दैन । सम्भवतः यसै कुरालाई दृष्टिगत गरेर पनि बाफियामा उमेर हदको कुरा आएको हुन सक्छ । तथापि, एउटा सञ्चालकमा रहिरहनका लागि साठीदेखि असी वर्ष कुन चाहिँ उपल्लो उमेर उपयुक्त हो भनेर कोहीसित पनि आदर्श उत्तर छैन, नियमनकारीसित पनि । यसैले यसखाले नियमनको कुरा उठाउँदा पहिले त्यसको औचित्यमाथि व्यापक बहस हुनु जरुरी हुन्छ । सञ्चालकलाई उमेरैकै उपल्लो हद तोक्ने सम्बन्धमा भारतीय उदाहरण हेर्दा के देखिन्छ भने त्यहाँको कम्पनी कानूनमा पहिलेको ६५ वर्षको हदलाई बढाएर हाल ७० वर्ष गरिएको छ । यसैलाई आधार बनाएर भारतीय रिजर्व बैंकले निजी क्षेत्रका बैंकका पूर्णकालिक सञ्चालक र सिइओको उमेरको हद ७० वर्ष तोकेकोे छ । अर्थात्, सत्तरी वर्षको हुँदासम्म कुनै व्यक्ति बैंकमा काम गर्न सक्छ भन्ने त्यहाँका नियमनकारीको अवधारणा रहेछ भन्ने अनुमान गर्न सकिन्छ । गैरकार्यकारी निर्देशकका हकमा भने ७५ वर्षको उमेर हद राखिएको छ । तर, संस्थाले विशेष प्रस्ताव पारित गरेर ७५ वर्ष पुगेको कुनै स्वतन्त्र सञ्चालकलाई पदमा रहिरहन भने छुट दिएको देखिन्छ । यो हेर्दा के अनुभूत हुन्छ भने मानिसलाई उमेरले काम गर्नबाट छेक्दैन । त्यहाँजस्तो नेपालमा पूर्णकालिक सञ्चालकको व्यवस्था छैन । मानसिक, भौतिक, शारीरिक र बौद्धिक एवम् प्राज्ञिक रूपबाट कुनै सञ्चालक सबल छ र त्यसबेलासम्म उसको व्यावसायिक दक्षता र वित्तीय स्वार्थमा कुनै प्रश्न उठेको छैन भने लामो उमेर वित्तीय संस्थालाई बाधक छैन भन्ने  तर्कलाई पनि ध्यानमा राख्नै पर्छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

विधान महाधिवेशन सकिए पनि नेकपा एमालेभित्र नसुल्झिएका तीन विषय

भर्खरै विधान महाधिवेशन गरेर आगामी मङ्सिर दोस्रो साता पार्टी महाधिवेशनको तयारी गरिरहेको संसद्‌को सबैभन्दा ठूलो दल नेकपा एमालेभित्र कतिपय विषयहरूमा अझै मतभेद कायम रहेको नेताहरूले बताएका छन्।एमाले नेताहरूका अनुसार प्रमुख तीन विषयमा यसअघि असन्तुष्ट समूहमा रहेका पार्टीका दोस्रो र तेस्रो तहका नेताहरूको विमति छ। उनीहरूले पार्टी नेतृत्वले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको र पार्टीको बैठक बोलाएर आन्तरिक प्रश्नहरूबारे छलफल नगरिएको बताउने गरेका छन्।त्यस्तो असहमति राखिरहेका नेताहरू विगतमा माधव नेपाल समूहसँग नजिक भए पनि नेपालले अलग्गै दल दर्ता गरेपछि उनीहरूले एमालेमै बस्ने निधो गरेका थिए।एमाले नेतृत्वले भने अधिकांश विषय कार्यान्वयन भइसकेको बताउने गरेको छ।१० बुँदे कार्यान्वयनएमालेमा असन्तुष्ट पक्षका नेताहरूलाई मनाउन गत असार अन्तिममा १० बुँदे सहमति गरिएको थियो। जसमा एमालेको नवौँ महाधिवेशनबाट बनेका कमिटीहरू पुन:स्थापित गर्दै पार्टी कमिटीहरूलाई २०७५ जेठ २ को स्थितिमा फर्काउने उल्लेख थियो।तर नेतृत्वले १० बुँदे सहमतिको पूर्ण कार्यान्वयन नगरेको र सहमति उल्लङ्घन गरेको एमालेमा फरक विचार राख्दै आएका नेताहरूको आरोप छ।असोज १५ देखि १७ गतेसम्म गोदावरीमा चलेको विधान महाधिवेशन अघि नै १० बुँदे सहमति कार्यान्वयनका गर्ने भनिए पनि हालसम्म त्यसका लागि ठोस पहल नभएको असन्तुष्ट नेताहरूको दाबी छ।'देशका विभिन्न भागमा कहाँ कहाँ समस्या छन् पहिचान गर्ने र हल गर्न प्रयत्न गर्ने तथा गम्भीर समस्या छन् भने स्थायी समितिबाट हल गर्ने काम बाँकी छ। अधिकांश ठाउँमा सम्बोधन भइसकेको छ तर केही ठाउँमा विशेष गरी सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन हुन बाँकी छ,' एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने।कार्यदलको संयोजक बनाइएका अर्का उपाध्यक्ष भीम रावल आफैँ १० बुँदे कार्यान्वयन नभएकोमा असन्तुष्ट छन्। उनको प्रमुख असन्तुष्टि आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट हटाइएकोमा रहेको नेताहरूले बताउने गरेका छन्।एमालेलाई एकताबद्ध बनाउन १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन जारी गरिए पनि त्यसको कार्यान्वयन नभएको रावलले बताए।'१० बुँदे सहमति र त्यसको आधारमा जारी गरिएको अन्तर पार्टी निर्देशनको कार्यान्वयन देशभरि निःसङ्कोच किसिमले कसरी गर्ने भन्ने चुनौती हामी सामु छ,' उनले भने।कार्यान्वयनको विवाद टुङ्ग्याउन स्थायी समिति बैठक बोलाउने भनिए पनि विधान अधिवेशन सकिएको दुई सातासम्म स्थायी समिति बैठकको टुङ्गो छैन।तर एमाले प्रवक्ता समेत रहेका सचिव प्रदीप ज्ञवाली अधिकांश ठाउँमा १० बुँदे कार्यान्वयन भइसकेको दाबी गर्छन्।'यदि देशैभरि कार्यान्वयन हुन्छ खास ठाउँमा कार्यान्वयन हुँदैन भने समस्या चाहिँ पार्टीका नीतिहरूमा होइन त्यो ठाउँको नेतृत्वका बीचमा आपसी समझदारी नभएको हो भन्ने बुझ्न जरुरी छ,' उनले भने।७० वर्षे उमेर हदअघिल्लो महाधिवेशनले एमाले विधानमा ७० वर्षपछि पार्टीको कार्यकारी जिम्मेवारीबाट अवकाश लिनुपर्ने व्यवस्था गरेपछि केही नेताहरूले पार्टी राजनीतिबाट अवकाशको घोषणा गरेका थिए।तर हालैको विधान महाधिवेशनले त्यसमा संशोधन गर्दै ७० वर्षसम्म उम्मेदवार हुन पाउने र निर्वाचित भएपछि उमेर हद लागु नहुने व्यवस्था गर्‍यो। कार्यकारी पदमा पुगिसकेको अवस्थामा ७० वर्ष पुगेपछि के हुने भन्नेबारे पर्याप्त छलफल नै नगरी घोषणा गरिएको भन्दै कतिपय नेताहरूले यसमा असन्तुष्टि जनाउँदै आएका छन्।'नवौँ महाधिवेशनमा छलफल गरिरहँदा हाम्रो उद्देश्य ७० वर्ष पुगेपछि कुनै पनि व्यक्तिले अवकाश लिने भन्ने थियो। अहिले यसका व्याख्याहरू फरक फरक ढङ्गले आइरहेका छन्,' उपाध्यक्ष रावलले भने।विधानको अन्तिम रूप हात नपरेको भन्दै रावलले हात परेपछि पार्टी बैठकमा प्रश्न उठाउने वा नउठाउनेबारे निर्णय लिने बताए।'७० वर्ष नपुग्दासम्म उम्मेदवार हुन पाउने कुरा त स्वाभाविकै हो तर पछि कुनै कार्यकारी पदमा पुगिसकेको अवस्थामा ७० वर्ष पुगेपछि के हुने भन्ने विषय जुन छ त्यो विषयमा त पर्याप्त छलफल नै भएन,' उनको दाबी छ।रावल सहितका कतिपय नेताहरूले विधान महाधिवेशनमा भएका छलफलको मर्म विपरीत यो व्यवस्था लागु गरिएको आरोप लगाउँदै आएका छन्।एमाले प्रवक्ता प्रदीप ज्ञवाली उमेर हद लगायतका विषय विधान महाधिवेशनबाट टुङ्गो लागिसकेको भन्दै त्यसमा विवाद गरिरहन जरुरी नभएको बताउँछन्।केन्द्रीय कमिटी थप गर्ने विषयअसन्तुष्ट नेताहरूसँग भएको १० बुँदे सहमतिमै केन्द्रीय कमिटीको १० प्रतिशत नबढ्ने गरी पार्टीमा योगदान गरेका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने उल्लेख थियो। तर छुटेका नेताहरूलाई थप गर्नुपर्ने सहमति तीन महिना बितिसक्दा समेत कार्यान्वयन नभएको नेताहरूको गुनासो छ।'योग्य इमानदार कतिपय साथीहरू छुट्नु भएको छ उहाँहरूलाई केन्द्रीय कमिटीमा ल्याउनुपर्ने आवश्यकता छ, यसको कार्यान्वयनको विषय अब स्थायी समिति बैठकमा हामी उठाउने पक्षमा छौँ,' उपाध्यक्ष ज्ञवालीले भने।नेता रावलले १० बुँदे सहमतिमै स्थापित भएको विषय कार्यान्वयनमा नेतृत्वले चासो नदेखाएको बताए।तर नेतृत्वसँग नजिक मानिने प्रवक्ता ज्ञवाली रावल नेतृत्वको कार्यदलले सिफारिस नगरेका कारण नेतृत्वले मनोनयन नगरेको बताउँछन्।अरू विषय के छन्एमालेका कतिपय नेताहरूले संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीको निर्णयको पनि थप समीक्षा हुनुपर्ने बताउँदै आएका छन्।एमाले विधान अधिवेशनविधान अधिवेशनले केपी ओली सरकारको पालामा भएका संसद् विघटन वाध्यात्मक भएको उल्लेख गरेको भएपनि त्यसबारे थप छलफल हुनुपर्ने माग पार्टीमा सेलाएको छैन।'विधान महाधिवेशनमा पार्टी एकतालाई जोगाएर लैजानुपर्ने विषय महत्त्वपूर्ण भएकाले कतिपय विवादित विषय थाती राखेर जाऔँ भनेका थियौँ। त्यसैले कतिपय तटस्थ किसिमका भाषाहरू पनि दस्ताबेजमा परेका छन्। प्रतिनिधिसभा विघटनको विषय ठूलो राष्ट्रिय बहसको विषय बन्ने नै छ,' उपाध्यक्ष रावल भन्छन्।विधान महाधिवेशन अघिको केन्द्रीय कमिटी बैठकमा यस विषयमा अधिवेशन पछि समीक्षा गर्ने भनिएको अर्का उपाध्यक्ष ज्ञवालीले बताए।'दस्ताबेजमा वाध्यात्मक भनिए पनि कतिपय विषयहरू पार्टीमा समीक्षा गरेर पाठ सिक्नुपर्ने विषय हुन्छन् यो पनि त्यस्तै भएकाले समीक्षा र छलफल जारी रहनुपर्छ भन्ने मेरो पनि धारणा हो,' उनी भन्छन्।संसद् विघटन पार्टीमा उपयुक्त समयमा छलफल हुनसक्ने विषय भए पनि तत्काल विधान महाधिवेशनले लिएको निर्णयका आधारमा पार्टी अघि बढ्ने प्रवक्ता ज्ञवालीले बताए।विधान महाधिवेशन अघि नेता घनश्याम भुसालले एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादको कार्यान्वयन नीति थप स्पष्ट पार्नुपर्ने विषय पनि उठाएका थिए। विधान महाधिवेशनपछि छलफल गर्ने भनेर थाती राखिएको यो विषय अहिले एमालेमा सेलाएको छ।बैठक कहिले बस्छ?पार्टी बैठक बोलाएर महाधिवेशन तयारी र विधान महाधिवेशनको समीक्षा हुनुपर्ने एमाले नेताहरूको माग छ। तर पार्टी नेतृत्वले बैठक बोलाउन आलटाल गरिरहेको उनीहरूको आरोप छ।'सबैभन्दा पहिलो कुरा त १० बुँदे सहमति कार्यान्वयनमा आइपरेका समस्याबारे कार्यदलको बैठक बसेर समस्याको पहिचान गर्ने र स्थायी समिति बसेर हल गर्नुपर्ने काम बाँकी छ,' उपाध्यक्ष ज्ञवालीले भने।महाधिवेशनबाट पास भएका दस्ताबेजहरूलाई अन्तिम रूप दिन र त्यसलाई स्थायी समितिबाट अनुमोदन गर्न बाँकी रहेको नेताहरूले बताएका छन्।त्यसका लागि पनि छिट्टै स्थायी समिति बैठक बसेर टुङ्ग्याउनुपर्ने उनीहरूको माग छ। पार्टी महाधिवेशनको कार्य तालिका नजिकिँदै गएका कारण स्थायी समिति बैठक ढिलो गर्न नहुने एमालेका असन्तुष्ट नेताहरूले बताउँदै आएका छन्।प्रवक्ता ज्ञवालीले विधान महाधिवेशनको समीक्षा र पार्टी महाधिवेशन तयारीका लागि छिट्टै स्थायी समितिको बैठक बस्ने बताए।'विधान महाधिवेशनको पनि समीक्षा होला। मूलत: दशौँ राष्ट्रिय महाधिवेशनको तयारी बारे नै अबको स्थायी समिति बैठकमा छलफल हुने छ,' उनले भने। -बिबिसी नेपालीबाट

निजामतीमा उमेर हद

संसद्बाट सङ्घीय निजामती सेवा ऐन पारित गर्ने विषयले प्राथमिकता पाउने देखिएको छ। निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने उमेर ५८ वर्ष नै उपयुक्त हो वा यसमा परिवर्तन गर्नुपर्ने हो भन्ने विषयमा संसद्ले निर्णय दिनुपर्ने अवस्था छ। नेपालको निजामती सेवामा लामो समयदेखि ६० वर्षको उमेरलाई नै अनिवार्य अवकाश पाउने उमेर तोकिए