प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केवलकार प्रालिले साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको कम्पनीले जनाएको छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ ।कम्पनीका अनुसार चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ । यस अवधिमा केवलकार बन्द हुने भए पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ।