काठमाडौं। लिडएक्स नेपाल र आइडिया स्टुडियो नेपालद्वारा पहल गरिएको ‘समुदायमा विद्यार्थी’अन्तर्गत विभिन्न क्षेत्रका स्नातक तहका विद्यार्थीले ‘प्रोजेक्ट खुला आकाश’ परियोजना सञ्चालन गरेका छन् । मीरा सेन्टरमा प्रारम्भिक उमेरका बालबालिकाका लागि खेल मैदान निर्माण गर्ने लक्ष्यका साथ यो परियोजनाको परिकल्पना गरिएको बताइएको छ ।
मीरा केन्द्र बनेपा, काभ्रेको प्रारम्भिक बाल हेरचाह विकास केन्द्र हो, जसले पाँच वर्षमुनिका बालबालिकाको स्वस्थ विकासको लागि आवश्यक सुरक्षित पालनपोषण र अन्य सेवा प्रदान गर्दै आएको छ । केन्द्रले बालबालिकाको समग्र विकासका लागि हेरचाह, शिक्षा र स्वास्थ्य सेवाका सन्दर्भमा उनीहरूको आवश्यकता पूरा गर्न उपयुक्त वातावरण प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।
परियोजना अन्तर्गत केन्द्रमा खेल मैदान निर्माण, खेलौना, स्टेशनरी सामान, क्रिकेट ब्याट, फुटबल, ह्वाइट बोर्ड, स्न्याक्स लगायत उपलब्ध गराइएको छ । आइडिया स्टुडियो नेपाल र लिडएक्स नेपालका दुईजना स्नातक फेलोले लियो क्लब डिस्ट्रिक्ट काउन्सिल ३२५ एम नेपालबाट थप ११ जना स्नातक लियोसँग सहकार्य गरेका छन् । उनीहरूमा नेतृत्व, लचिलोपन, टोली निर्माण, परियोजना व्यवस्थापन, अनुकूलन क्षमता आदि विकास गर्ने लक्ष्य राखिएको परियोजना खुला आकाशमा सहभागी हुने अवसर दिइएको बताइएको छ । परियोजनालाई डा. छिरिङ लामा, लियो क्लब नेपाल, प्रभु बैंकका कर्मचारी र साया माथेमाले पनि आर्थिक सहयोग गरेका थिए ।