काठमाडौं (अस) । अटोमोबाइल सम्बन्धी प्राविधिक सेवा प्रदायक कम्पनी बोसले काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । भारतमा करीब १०० वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय स्थापना गरेको हो । उक्त कार्यालयबाट अटोमोटिभ पार्टपुर्जा, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लायन्सेस सेग्मेन्टका वस्तु तथा सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
११ सर्भिस पार्टनर र २५ कर्मचारीको साथमा सन् २०२४ सम्ममा आफ्नो विक्री तेब्बरले बढाउने लक्ष्यका साथ नेपाल प्रवेश गरेको कम्पनीले दाबी गरेको छ । हाल नेपालमा १ हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिने तयारी कम्पनीले गरेको छ ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले सम्पर्क कार्यालय स्थापना भएसँगै चाँडो सेवा दिन आतुर रहेको बताए । ‘सञ्चालनको आकार विस्तार गर्ने अभियानमा रहेका हामी प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रसिद्ध मुलुक नेपालमा सेवा शुरू गर्ने पर्खाइमा छौं,’ उनले भने । बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयमार्फत सार्क सदस्य मुलुकसँग सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको उनको भनाइ छ ।