रुकुमपूर्व । रुकुमपूर्वमा ५० शय्याको अस्पताल निर्माण गरिने भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ स्थित पुरानै अस्पताल रहेको ठाउँमा ५० शøयाको नयाँ संरचना निर्माण गर्न लागिएको हो । सो गाउँपालिकाको अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, अस्पताल विकास समिति अध्यक्ष फत्तेकुमारी ओली, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश चौधरीले बुधवार संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकार ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट र शहरी विकास तथा भवन कार्यालय दाङको प्राविधिक सहयोगमा भ्याटबाहेक १५ करोड ५७ लाख ४५ हजार ९२९ रुपैयाँ लगानीमा सो अस्पतालको भवन निर्माण हुने लागेको बताइएको छ । खड्का–पीएस–जेभी निर्माण कम्पनीले भवन निर्माणको जिम्मा लिएको छ । गत जेठ ३ गतेदेखि काम शुरू भएकोमा आगामी २०८० साउन २० गते अर्थात् अबको दुई वर्षमा भवन निर्माण गरिसक्ने सम्झौता भएको निर्माण सेवा कम्पनीका प्रतिनिधि प्रकाश शाहले जानकारी दिए । रासस