झापा । स्थानीय निरु राजवंशी बिहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको बाहिरी ढोका अगाडि आइपुग्छिन् । अनि शुरू हुन्छ चिया, नास्ता पकाउन । चिया पाक्न नपाउँदै १० देखि २० कप भन्दै ग्राहकको अर्डर शुरू हुन्छ । यसरी उनको दिन बित्ने गरेको छ दिन भयो ।
मेचीनगर नगरपालिकाको १५ ओटै वडाको मतगणना यतिबेला नगरपालिकाको कार्यालयभित्र भइरहेको छ । मत परिणाम सुन्न बसेका दलका कार्यकर्ता राति अबेरसम्म र बिहान उज्यालो नहुँदै आइपुगेर चियानास्ताको अर्डर शुरू गर्छन् । जिल्लाका पाँचओटा पालिकाको परिणाम आइसके पनि १० पालिकाको गणना जारी छ ।
आफूले मत दिएको पार्टीको परिणाम सुन्न आउने विभिन्न क्षेत्रका मतदातादेखि नेतासम्म गरी दैनिक एक हजार ५०० को हाराहारीमा नगरपालिका आसपास क्षेत्रमै हुन्छन् । उनीहरूलाई नै लक्षित गरेर मेचीनगर नगरपालिकाको गेटनजिकै चलिरहेको आधा दर्जन होटलसहित सडकमा चियानास्ता बेच्नेहरूको पसल यतिबेला बढेका छन् ।
लामो समयदेखि ईंटाभट्टा बजार चोकमा आलु र प्याजको पकौडा बेच्दै आएकी निरुको अझै एक हप्ता त्यही व्यवसाय फस्टाउने देखिन्छ । ‘बजारतिर मान्छे छैनन् । सबै यतै भीड लागेका छन्,’ उनी भन्छिन्, ‘व्यापार पनि हुने, चुनाव पनि हेर्न पाइने भनेर यतै व्यवसाय शुरू गरेको हुँ । अब भोट गनिसकेपछि पुरानै ठाउँमा फर्किन्छु ।’ उनले दैनिक खर्च कटाएर रु. एक हजार ५०० भन्दा बढी आम्दानी गर्दै आएको बताइन् ।
निरुजस्तै पालिकाको परिसरमा खुद्रा व्यापार शुरू गर्ने यतिबेला १० जना छन् । सबै पसलका व्यापारीलाई चिया, नास्ता, पापड, पकौडा बनाएर बेच्न भ्याइनभ्याई छ । झण्डै एक महिनायता विभिन्न स्थानका चोक बजारमा व्यवसाय चलाउँदै आएका उनीहरूको व्यापार ठप्प थियो । ‘आम्दानीसँगै रमिता हेर्न मज्जा आइरहेको छ,’ जेठ ३१ गते अपराह्नदेखि मत गणनास्थल परिसरमै पापड, पकौडा बेच्दै आएकी लिली चौधरीले भनिन्, ‘बिक्री पनि राम्रो भइरहेको छ, ग्राहकले कुरेर पनि बस्नु पर्दैन । अर्डरको सामान पुर्याउनै धौधौ छ ।’
लामो समयदेखि नगरपालिका छेउमै होटल सञ्चालन गर्दै आएका रमेश केसीको दिनमै जस्तो रातमा पनि यतिबेला व्यापार चलेको छ । उनको होटलमा मत परिणाम सुन्न आएका राजनीतिक दलका कार्यकर्ता, उम्मेदवारदेखि पार्टीका नेतासम्मको खाना, खाजा, चिया खानेको भीड लाग्ने गर्छ । रासस