राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माणकार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ । यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ । भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ । यो विमानस्थलमा पनि प्राविधिक जनशक्ति अभावमा उपकरण जडानको कार्य ढिला भइरहेको छ । अहिलेसम्मको कामको समग्र प्रगति हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो ।