विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा

काठमाडौं । नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा देखिएको छ । तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा नेपालमा विदेशी विनिमय डेरिभेटिभको अवस्था यस्तो देखिएको हो । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय डेरिभेटिभ बजार सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकले उक्त अध्ययनको प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको हो । अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गरेको छ । साथै, डेरिभेटिभ उपकरणसम्बन्धी कानूनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे पनि विश्लेषण गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारे पनि विश्लेषण गरिएको छ । अध्ययनले विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने पनि औंल्याएको छ । हालको ओभर दि काउन्टर (ओटीसी) बजारलाई सहजता प्रदान गर्न र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न दीर्घकालन रूपमा फर्वार्ड, स्वाप्स र विकल्पहरूलाई प्रवद्र्धन गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनअनुसार दक्षिण एशियाको देशहरूमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । नेपालको हकमा भने प्रारम्भिक अवस्थामा नै रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालका सबै वाणिज्य बैंकहरू फरवार्ड मार्केटमा संलग्न नरहेको देखिएको छ । आधाजसो बैंकहरू भने स्वाप्स कारोबारमा संलग्न देखिएको प्रतिवेदनमा उल्लेख छ । वाणिज्य बैंकहरूले २०२० मा रू. २ खर्ब २८ अर्ब ९४ करोड बराबरको यस्तो कारोबार गरेका छन् । २०२० मा सामान्य रूपमा मात्र यस्तो कारोबार बढेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१८ मा भने १ खर्ब ४३ अर्ब १२ करोड बराबरको यस्तो कारोबार भएको देखिन्छ । सर्वेक्षणले वाणिज्य बैंकबाट डेरिभेटिभ उत्पादनको प्रयोग बढेको देखाएको छ । यस्तै, गैरवित्तीय फर्महरूतर्फ १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेका छन् । अध्ययनमा ११५ ओटा यस्ता फर्महरूलाई प्रश्नावली सोधिएको थियो । त्यसमा ८१ ओटा फर्मले मात्रा त्यसको उक्त दिएका थिए । त्यसमध्ये १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि अधिकांश स्टील तथा धातु उत्पादक फर्महरू रहेका छन् । यस्तै, ३७ प्रतिशत फर्महरूले दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको बताएका छन् । विदेशी विनिमय जोखिम रहेको भन्न बाँकी फर्महरूमध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव नै रहेको अध्ययनले देखाएको छ ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकद्वारा विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन

कात्तिक १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको छ ।            अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानूनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे विश्लेषण गरेको छ । त्यस्तै अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाबारे पनि छोटकरीमा विश्लेषण गरिएको उल्लेख छ ।            सार्क मुलुकमध्ये भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । सर्वेक्षण नतिजाअनुसार नेपालमा सबै वाणिज्य बैंक फरवार्ड मार्केट सङ्लग्न रहेको र आधाजसो बैंक स्वाप कारोबारमा सङ्लग्न रहेको पाइएको छ ।            बैंकले ८१ उत्तरदाता गैरवित्तीय फर्म (११५ ओटा फर्मलाई प्रश्नावली सोधिएको) मध्ये १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिन्छ । जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्म रहेका छन् । दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्महरू ३७ प्रतिशत रहेको र विदेशी विनिमय जोखिम रहेको भन्ने बाँकी फर्ममध्ये ५२ दशमलव ९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ ।            तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनबाट देखिएको छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने अवस्था छ । हालको ओटिसी मार्केटलाई अझ सशक्त बनाउँदै हेजिङलाई सहजता प्रदान गर्न र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न दीर्घकालीनरुपमा प्रवर्द्धन गर्नुपर्ने देखिएको अध्ययनमा उल्लेख छ ।रासस