पुस ५, काठमाडौं । चार ओटा अलग - अलग कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको छ ।
दुई ओटा वाणिज्य बैंकसहित चार ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको हो । नेपाल एसबिआई बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न मंगलवारसम्म शेयर कायम गर्नुपर्ने छ ।
ती चार ओटा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
नेपाल एसबिआई बैंकले यस वर्ष ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश पारित गर्न प्ुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।
त्यस्तै एनएमबि बैंकले यस वर्ष १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस पुस २२ गते २६औं वार्षिक साधारण सभा मार्फत पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भने पुस ७ गते एक दिन मात्र बुक क्लोज गर्ने भएको छ ।
छिमेक लघुवित्तले भने यस वर्ष २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश पुस २३ गते २०औं वार्षिक साधारण सभा मार्फत पारित गराउने तयारी गरेको छ ।
कम्पनीले सभा प्रयोजनका लागि पुस ७ गतेदेखि सभा हुने दिनसम्मनै बुक क्लोज गर्ने भएको छ ।
गणपति लघुवित्तले यस वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा ती चार ओटै कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पुस ६ गतेसम्मका शेयरधनीहरु मात्र योग्य हुनेछन् ।