काठमाडौं । कुनै समय आम मानिसजस्तै पेशा र पारिवारिक जिम्मेवारीमा केन्द्रित काठमाडौं, बालुवाटारकी स्मृति पोखरेल ४ वर्षदेखि निरन्तर क्यान्सरपीडित बालबालिकाको जीवन बचाउने अभियानमा छन् । यस अवधिमा उनले क्यान्सर भएर जीवन र मृत्युको दोसाँधमा पुगेका ५० भन्दा धेरै बालबालिकालाई नयाँ जीवन दिएकी छन् ।
एउटा बच्चा बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो भन्ने भावनाले काममा उत्साह थपिरहेको स्मृति बताउँछिन् । छँदाखाँदाको पेशा छाडेर स्मृति यता लाग्नुको छुट्टै कथा छ । एकपटक रातो बंगला फाउन्डेशनको कामले काभ्रे पुगेका बेला एउटा स्कूलमा एकजना अधबैंशे पुरूष आर्थिक सहयोग माग्दै रहेछन् । उनीबारे बुभ्mदै जाँदा ५ वर्षे छोरा शिशिर सरयूको आँखामा क्यान्सरको उपचार गर्न सहयोगको याचना गर्दै हिँडेको थाहा भयो ।
शिशिरको अवस्थाबाट भावुक बनेकी स्मृति उनका अभिभावकलाई केही आर्थिक सहयोग गर्न सक्ने आश्वासनसहित सम्पर्क नम्बर दिएर काठमाडौं फर्किन् ।
‘त्यसअघि बच्चालाई पनि क्यान्सर हुन्छ भन्ने मलाई थाहा थिएन्,’ उनी भन्छिन्, ‘काभ्रेबाट फर्केको ३ दिनसम्म शिशिरको अवस्था सम्झिएर निद्रा लागेन । शिशिरका लागि केही गर्नैपर्छ भन्ने भावना झन् बलियो हुँदै गयो ।’ केही दिनपछि शिशिरका बुबाले फोन गरेर छोरालाई उपचार गराउन कान्ति बाल अस्पताल ल्याएको जानकारी दिए ।
‘शिशिरलाई आर्थिक सहयोग गर्न कान्तिको अंकोलोजी वार्डमा पुग्दा दिमागै खलबलिने दृश्य देख्नुपर्यो,’ उनले भनिन् । त्यहाँका ३२ ओटा बेड २ महीनादेखि १६ वर्ष उमेर समूहका क्यान्सरपीडितले भरिएका थिए ।
‘अस्पतालको त्यो अवस्थाले मेरो मनमा निकै ठूलो झट्का दियो । अनि म उनीहरूलाई पनि सहयोग गर्ने अठोट गरेर फर्किएँ,’ स्मृतिले भनिन् । त्यो कुरा उनले नजिकका साथीभाइ, आफन्त र इस्टमित्रसँग पनि शेयर गरिन् । र, उनीहरूसँग सहयोग पनि माग्न थालिन् । ‘एक किसिमले मैले त्यस बेलादेखि नै एउटा अभियान शुरू गरिसकेकी रहेछु,’ स्मृतिले भनिन् ।
दर्जनौं क्यान्सरपीडितलाई नयाँ जीवन दिने काम सहजै र एक्लैले गर्न नसकिने बुझाइले स्मृतिलाई संस्था नै दर्ता गराएर काम अघि बढाउने निर्णयमा पुर्यायो । अनि रातो बंगला फाउन्डेशन र नेपाल इन्जिनीयरिङ कलेजको आकर्षक जागीर छाडेर क्यान्सरपीडित बालबालिकाको सेवामा लागेको स्मृति बताउँछिन् ।
उनको त्यो निर्णयमा साथ दिन आइपुगिन्– स्कूले जीवनदेखिकै मिल्ने साथी केसाइन डिकी लामा । लामा, स्मृति र अरू तीनजना डाक्टर ९विष्णु अधिकारी, सुधा बस्नेत र सुचारिता तुलाधर० मिलेर गत सेप्टेम्बरमा विश नेपाल फाउन्डेशन नामक क्यान्सरपीडित बालबालिकाको जीवन रक्षामा काम गर्ने संस्था शुरू गरेका छन् ।
संस्था दर्ता गर्नुअघि नै क्यान्सरपीडित बालबालिकाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको अभिलेख स्मृतिसँग छ । उनको संस्थाले दुरुपयोग नहोस् भनेर डाक्टरको सल्लाहबमोजिम बिरामीलाई आर्थिक, खानपान तथा पोषणमा सहयोग गर्ने गरेको छ ।
यो कामबाट घरपरिवार र आफू निकै सन्तुष्ट रहेको उनी बताउँछिन् । ‘मेरो र संस्थाको पहिलो उद्देश्य क्यान्सरपीडित बालबालिकाको जीवन बचाउनु हो । बालबालिका बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो । त्योभन्दा ठूलो आत्मसन्तुष्टि अरू के हुन सक्छ र,’ उनले भनिन् ।
दुर्गम गाउँका क्यान्सरपीडितका आफन्त र अभिभावकले आर्थिक अभावका कारण उपचारका क्रममा बिरामीलाई आवश्यक पर्ने पौष्टिक आहार पुर्याउन सकिरहेका हुँदैनन् । पौष्टिक आहार पुगेन भने क्यान्सरको उपचार पद्धति केमोथेरापीले प्रभावकारी काम गर्न सक्दैन । त्यसका लागि विश नेपाल फाउन्डेशनले डाक्टरको सल्लाह बमोजिम बिरामीलाई पौष्टिक तत्वका रूपमा महीनाभरि नै पिडिएसोर र थ्रेप्टिनको व्यवस्था गरेको छ ।
दुर्गमबाट आएका बिरामीलाई उपचार अवधिभर काठमाडौंमा बस्न पनि समस्या हुन्छ । उपचार पूरा नहुँदै फर्किनुपर्ने बाध्यताले कतिपय बालबालिका अकालमै ज्यान गुमाउन बाध्य हुन्छन् । यसलाई सम्बोधन गर्न फाउन्डेशनले उपचार अवधिभर बिरामी र अभिभावकलाई काठमाडौंमा बस्न मिल्ने गरी आवासको व्यवस्था गर्ने योजना बनाएको छ ।
स्मृतिले दार्जिलिङको माउन्ट हर्मोन स्कूलबाट १२ कक्षा, कोलकाताबाट उच्च शिक्षा र अमेरिकाबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेकी छन् । परोपकारी काममा लागेको धेरै नभए पनि हजुरआमाको प्रेरणाले सानैदेखि यस क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोच चाहिँ रहेको उनको भनाइ छ । हजुरआमाले शिशु सेवा समिति नामको संस्था खोलेर बालबालिकाका क्षेत्रमा काम गरेको उनले सानैमा देखेकी थिइन् । ‘त्यसैको प्रेरणाले होला मलाई समाज सेवामा रुचि जागेको,’ कुराकानी टुंग्याउँदै गर्दा उनले भनिन् ।