१३७औं विश्व मजदूर दिवस नेपालमा पनि मनाइयो । श्रम र श्रमिकको सम्मान गर्ने संस्कृति बसाउन श्रमिक दिवसले भूमिका निर्वाह गर्नुपर्ने हो तर नेपालले सार्वजनिक बिदा दिनेबाहेक यसतर्फ ठोस काम गरेको पाइँदैन ।
नेपालमा कुनै पनि महत्त्वपूर्ण दिन मनाउन पर्यो भने सार्वजनिक बिदा दिने र सबै जना घरघरमा बस्ने प्रचलन चलेको छ । बिदा दिएपछि त्यसको महत्त्व बढ्यो भन्ने सरकारको सोच पाइन्छ भने सरोकारवालाचाहिँ बिदा पाइयो भनेर खुशी मनाउने गर्छन् । मे दिवसमा टेबलमा बसेर काम गर्ने, औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी र केही मजदूरले पनि बिदा पाए तर वास्तविक श्रमिक भने यस दिनमा मजाले कर्मक्षेत्रमा जुटेका छन् ।
जो कर्ममा जुटेका छन् तिनलाई राज्यले सम्मान गरेको पाइँदैन । राजनीतिक दलहरूले पनि आआफ्ना भ्रातृसंगठन परिचालन गरेर र्याली गर्नेभन्दा अन्य काम केही गरेको पाइँदैन । अझ विडम्बना के छ भने यस्ता दलका मजदूर संगठनका नेता गैरमजदूर छन् । तिनले मजदूरका नाममा राजनीति गर्नेबाहेक अन्य काम गर्दैनन् । जो श्रम गर्दैन उसले श्रमको महत्त्वलाई स्थापित गराउने काम पनि गर्दैन । त्यसैले नेपालमा मे दिवसको औचित्य र सान्दर्भिकता उल्टो छ भन्न सकिन्छ ।
यस दिन वास्तविक श्रमिकलाई सम्मान गर्न सकिन्थ्यो । असंगठित क्षेत्रमा निकै कष्टकर मजदूरी गरिरहेका व्यक्ति खोजेर राज्यले सम्मान गरेको भए श्रमको महत्त्व स्थापित हुन सक्थ्यो । त्यसले काम ठूलो र सानो भन्ने हुँदैन, हरेक काम आफ्नै किसिमले ठूलो हुन्छ भन्ने स्थापित गथ्र्यो ।
तर, यस्तो कामप्रति सम्मान जगाउने क्रियाकलाप गर्न सरकारले आवश्यक ठानेन । पछिल्लो समयमा नेपालबाट ठूलो संख्यामा युवायुवती वैदेशिक रोजगारी जाने क्रम बढ्नुमा पनि केही हदसम्म श्रमको सम्मान नहुनुको रूपमा बुझ्न सकिन्छ । श्रम गर्नेलाई यो दिवसको कुनै अर्थ रहेन । जबसम्म श्रमिक दिवसको वास्तविक श्रमिकले महसूस गर्दैन, तबसम्म दिवस औपचारिकताभन्दा माथि उठ्न सक्दैन ।