राजस्व बुझाउनेको अपमान नगरिदिनुहोस् : निजीक्षेत्र

काठमाडौं । निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले राजस्व बुझाएर अर्थतन्त्रमा योगदान गर्ने उद्यमी, व्यवसायीको अपमान नगरिदिन आग्रह गरेको छ । महासंघको ५६ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०७८ उद्घाटन सत्रमा अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी राजस्व बुझाउँछौं, अपमान नगरिदिनुहोस् ।’  गोल्छाको भनाइ सरकारी निकाय र जिम्मेवार अधिकारीबाटै निजीक्षेत्रका उद्यमी, व्यवसायीलाई ससानो निहुँमा पनि अपराधीझैं प्रस्तुत गर्ने परिपाटीप्रति असन्तुष्टि हो ।  नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि अझै सहज वातावरण र प्रक्रिया नभएको पनि उनले गुनासो गरे । खुला अर्थतन्त्र बलियो बनाउन लगानी र सम्पत्ति बढाउनुपर्ने तथा प्रक्रिया सहज बनाइदिए लगानीका लागि कुनै समस्या नहुने उनले बताए ।  कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडपछिको पुनरुत्थानका लागि अझै सहयोग आवश्यक भएको बताए । साना उद्यमी, पर्यटन तथा मनोरञ्जन क्षेत्रलाई अझै सहयोग चाहिने उनको भनाइ छ । महासंघले गरेको विस्तृत अध्ययन कार्यान्वयनमा सहकार्य गर्न पनि उनले आग्रह गरे । स्वागत मन्तव्यको अन्त्यमा उनले भने, ‘हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौं, हडताल नगरिदिनुहोस् ।’ उनले निर्यातलाई प्रोत्साहन गरिदिन, निजीक्षेत्रले ल्याएका पर्यटकलाई स्वागत गरिदिन र राजस्व बुझाउनेको अपमान नगरिदिन पनि आग्रह गरे ।  नेपाली उत्पादनलाई चीन, भारत, यूरोपेली देशहरूले भन्साररहित पहुँच दिए पनि र नेपालले वैदेशिक लगानीलाई प्रोत्साहित गरे पनि लगानी नआएको उनले बताए । ‘वैदेशिक लगानी औसतमा वार्षिक २० अर्ब रुपैयाँ मात्रै आउँछ,’ उनले भने, ‘नेपालजस्ता अन्य देशमा भने यो लगानी उल्लेख्य छ, नेपालमा किन लगानी आउँदैन भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।’ अर्थतन्त्रमा ७७ प्रतिशत अंश राख्ने निजीक्षेत्रलाई सिंहदरबार र नेपाल राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे कुनै जानकारी नहुने उनले बताए । यी निकायले यो क्षेत्रलाई बेवास्ता गरेको उनको भनाइ छ । अल्पकालीन नीतिमा अलमलिँदा नेपाल श्रीलंकाजस्तै हुन लागेकाले सरकारले यस्तो कदम लिएको उद्यमीको बुझाइ रहे पनि नेपाललाई श्रीलंका हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरे । तर, अहिलेदेखि चनाखो नभए केही वर्षपछि खराब अवस्थामा पुग्ने उनको भनाइ छ । अहिलेको संंकट रोक्न रकम भित्र्याउने संयन्त्र बलियो बनाउनुपर्ने र मुलुकभित्र लगानीको अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए ।  महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले केही वर्षकै अवधिमा व्यवसायीले भूकम्प र कोरोना महामारीको सामना गर्नुपरेको बताए । यी दुई कारणले नेपालको अर्थतन्त्र धराशयी भएको भन्दै उनले यसबाट उठ्न सरकारको हात र साथ चाहिएको बताए । सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्र कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा अहिले स्पष्ट देखिएको बताए । सरकारका मुख्यसचिव शंकरदास वैरागीले बाहिर हल्ला भएजस्तो अर्थतन्त्रको अवस्था नभएको तर चनाखो हुने बेला आएको बताए ।  ‘रोजेर नभई सरकारले तोकेका ठाउँमा व्यवसाय गर्नुपर्छ’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले व्यवसायीले आफैले रोजेको ठाउँमा उद्योग, व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । उद्योग स्थापना गर्नुभन्दा जग्गामा नै धेरै लगानी पर्ने र जग्गा प्राप्ति पनि कठिन भएको उद्योगीको भनाइपछि उनले यस्तो धारणा राखेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘प्रतिस्पर्धी उत्पादनमूलक उद्योग’ विषयक सत्रमा पोखरेलले सरकारले स्थापना गरेका विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राममा उद्योग खोल्न व्यवसायीलाई आग्रह गरे । ‘अब व्यवसायीले रोजेको ठाउँमा नभई सरकारले तोकेको ठाउँमा उद्योग लगाउनुपर्छ,’ पोखरेलले भने, ‘व्यक्तिगत लगानी गरेर व्यवसाय तथा उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिँदैन ।’ त्यस अवसरमा उनले अहिले व्यवसायीले ‘कमर्शियल लोन’ लिने गरेको र यसलाई सुधार गरेर औद्योगिक ऋण लिन सक्ने व्यवस्था गरिने पनि बताए । उक्त सत्रमा सौरभ ग्रूपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले अहिले पनि २० घण्टा मात्रै बिजुली पाएको भन्दै उद्योग चाहिन्छ भन्ने मानसिकता नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूमा नभएको बताए । उद्योगमा भन्दा जग्गामा लगानी बढी गर्नुपरेको उनको गुनासो थियो । यस्तै, किरण शुज म्यानुफ्याक्चर्सकी प्रबन्ध सञ्चालक विदुषी राणाले कच्चा पदार्थ आयातमा लाग्दै आएको कर घटाउन माग गरिन् । कृषिपछि धेरै रोजगारी दिने क्षेत्रमा जुत्ता–चप्पल उद्योग पर्ने भन्दै उनले यसलाई बढाउन र स्वदेशमा रोजगारी सृजना गर्न सरकारले लक्षित तालिम दिनुपर्नेमा जोड दिइन् । 

सम्बन्धित सामग्री

सिंगापुर र भियतनामबाट सिक्नुपर्ने पाठ

आर्थिक विकासमा उदाहरणको रूपमा रहेका सिंगापुर र भियतनामको केही महीनाअघि भ्रमण गर्ने अवसर मिल्यो । उद्योग र व्यापारका क्षेत्र ती देशले अपनाएको नीति र सरकार निजीक्षेत्र सहकार्यका विश्वव्यापीकरणले उद्यम र व्यापारका आयामहरूलाई वैश्विक प्रतिस्पर्धामा अगाडि बढाएको अहिलेको अवस्थामा ती देश कसरी अगाडि बढेका रहेछन् भन्ने जानकारी लिन भ्रमण निकै उपलब्धिपूर्ण रह्यो । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतमा भ्रमणको नेतृत्व मैले गरेको थिएँ । आर्थिक विकासका लागि केकस्ता उपाय अपनाउन सकिन्छ र विकसित अर्थतन्त्रबाट प्रविधि र स्रोत कसरी भित्र्याउन सकिन्छ भन्ने भ्रमणको मूल अभिप्राय थियो । यसैलाई लिएर वीरगञ्ज उद्योग वाणिज्य संघको बोर्ड बैठकसमेत भयो । बैठकले ती देशमा भएका विकासका अभ्यासको अध्ययन, अनुसरणसँगै त्यहाँबाट प्रविधि र लगानी भित्र्याउन पहल गर्ने निर्णय गरेको छ । तीव्र दरको आर्थिक विकासका लागि स्वदेशको लगानीमात्रै पर्याप्त छैन । तर, पटकपटक लगानी सम्मेलन गर्दा पनि सोचेअनुसार लगानी आउन सकेको छैन । प्रतिबद्धता आउने तर लगानी नआउने भइरहेको छ । त्यसैले अन्य देशले लगानी भित्र्याउन केकस्ता उपाय अपनाएका रहेछन्, त्यहाँको नेतृत्वको सोच के रहेछ, अन्य देशका लगानीकर्ताले हाम्रोबारेमा के धारणा बनाएका रहेछन् भन्ने कुराको भेउ पाउन अति आवश्यक हुन्छ । लगानी आकर्षण र आर्थिक रूपान्तरणमा अन्य देश र हामीकहाँको नीतिगत व्यवस्थामा के भिन्नता रहेछ भन्ने कुरामा सूक्ष्म अध्ययन र आवश्यकताअनुसार सुधार नगरी बाहिरको लगानी आउन सम्भव छैन । त्यसैले त्यहाँ गएर उनीहरूले अपनाएको उपाय अध्ययन गर्ने र उनीहरूलाई बोलाएर लगानी आह्वान गर्ने अभिप्राय भ्रमणको थियो । वीरगञ्ज उद्योग वाणिज्य संघ र त्यहाँका निजीक्षेत्रका संघसंस्थाहरूसँग सम्बन्ध स्थापना र लगानी र प्रविधिमा सहकार्यको मूलभूत उद्देश्य पनि हो । हामीले त्यसअवसरमा सिंगापुर र भियतनाम दुवै देशका औद्योगिक कोरिडोरमा भ्रमण गर्‍यौं । त्यहाँ सञ्चालनमा रहेका विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, करप्रणालीको अभ्यास र नीतिगत व्यवस्थाहरूको अध्ययनको अवसर मिल्यो । त्यसबारेमा लामो छलफल पनि भयो । त्यहाँ करको दर विश्वमै सबैभन्दा कम रहेछ । औद्योगिक कोरिडोर र सेजको जग्गा लिँदा तिर्नुपर्ने दर पनि निकै कम रहेछ । हामीकहाँ लाग्ने १ महीनाको भाडाले त्यहाँ ५० वर्षका लागि जग्गा उपलब्ध हुने रहेछ । नेपालमा कुनै पनि उद्योगका लागि जग्गा पाउन निकै कठिन छ, पाइहाले पनि निकै महँगो छ । त्यसैले ती देशले अपनाएको उपाय हामीले अनुसरण गर्न आवश्यक छ । उद्योगका लागि चाहिने ऊर्जा, पानी, पानी प्रशोधन, वायु प्रशोधनजस्ता पूर्वाधारको प्रभावकारी प्रबन्ध मिलाइएका त्यस्ता औद्योगिक क्षेत्रहरूमा उत्पादनमा बाह्य अवरोध नै छैन । लगानीकर्ता त्यहाँ छिरेपछि उसको ध्यान उत्पादन र निकासीमा मात्र केन्द्रित हुने रहेछ । तर, हामीकहाँ भने औसत उद्यमी उद्योग व्यापारका आधारभूत कामभन्दा अनुत्पादन काममा समय खर्च गर्न बाध्य छ । सिंगापुर र भियतनाम भ्रमणका क्रममा त्यहाँका उद्योग र व्यापार संघहरूसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्ता समझदारीमा प्रविधि सहज रूपमा उपलब्ध गराउने, औद्योगिक मेला, सेमिनारहरूमा सहकार्य र सहभागिता बढाउनेजस्ता विषय छन् । उनीहरूले नेपालको जलविद्युत्, पर्यटनलगायतमा लगानीको चासो देखाएका छन् । यो आपसी सम्बन्ध र भोलिका दिन उद्योग र व्यापार प्रवद्र्धनका साथै लगानी आकर्षणको अभिप्रायले कोसेढुंगा नै हो । त्यहाँ निजीक्षेत्रले कसरी काम गरेको छ ? त्यहाँको सरकार, कर्मचारीतन्त्र, कार्यालय व्यवस्थापन कसरी भइरहेको छ ? त्यहाँको ट्रेड युनियन र श्रम सम्बन्ध केकस्तो छ ? यस्ता धेरै विषयमा धेरै कुरा सिक्ने मौका मिल्यो । अन्य देशका निजीक्षेत्रमा संघ/संस्थासँग भगिनी सम्बन्ध स्थापित गर्दै सहकार्यमा आयामहरू विस्तार गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको यो वीरगञ्ज उद्योग वाणिज्य संघको इतिहासमै पहिलो पटक हो । हामीले यी दुई देशको भ्रमण गरेर थालेको अभियानको स्वामित्व अब सरकारले लिनुपर्छ र त्यसलाई सहकार्य र नीतिगत व्यवस्थापनका लागि औपचारिकता दिनुपर्छ, यो प्लेटफर्मलाई सरकारले औपचारिकता दिनुपर्छ । यो शुरुआत मात्रै हो, अब अर्को यात्रा सरकार र निजीक्षेत्रको संयुक्त सहभागितामा हुनुपर्छ । हामीले समझदारीपत्रमा हस्ताक्षर गरेका छौं । अब सरकारले लगानी भित्र्याउन सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । हामीले बाहिरको लगानी ल्याउन चाहेको हो भने भनेरमात्र हुँदैन, त्यसअनुसार नीति र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । कुनै प्रकारका अवरोधमुक्त औद्योगिक क्षेत्र चाहिन्छ । उद्योग व्यापारमा भन्सार, कर, राजस्व अनुसन्धानजस्ता सरकारी निकायबाट कुनै प्रकारको अनावश्यक हस्तक्षेप र अवरोध हुनु हुँदैन भन्ने सिंगापुर र भियतनामको अभ्यासले देखाएको छ । सिंगापुर त आर्थिक विकासमा धेरै अगाडि बढेको छ । हामीले कम्तीमा भियतनामबाट सिकेर अगाडि बढ्यौं भने पनि धेरै गर्न सकिन्छ । भियतनाम र हाम्रो आर्थिक विकासको अवस्था अहिले करीबकरीब उस्तै छ । त्यो देश जसरी अगाडि बढेको छ, त्यसका सकारात्मक पक्षलाई सापेक्ष अभ्यासमा ल्याउने हो भने आउँदो १० वर्षमै हाम्रो देशको मुहार फेर्न सकिन्छ । हामीकहाँ त लगानी वातावरणको कुरामात्रै हुन्छ, यथार्थमा पछिल्लो समयमा तहगत सरकारका अनावश्यक अवरोधहरू ह्वात्तै बढेका छन् । निजीक्षेत्र उत्पादन र व्यापार बढाउन केन्द्रित हुने वातावरण नबनेसम्म आर्थिक अग्रगतिको बाटो तयार हुँदैन । यसका लागि सापेक्ष प्रणाली बसाउनु जरुरी छ । निजीक्षेत्रलाई हेर्ने दृष्टिकोणमा अन्तरराष्ट्रिय जगत् र नेपालमा धेरै फरक छ । निजीक्षेत्रले आफ्नो लगानीमा उत्पादन र व्यापारमात्र गर्दैन, रोजगारी सृजना गर्छ र राज्यलाई कर तिर्छ । निजीक्षेत्रलाई होच्याएर, अपमान गरेर त्यहाँ कुनै पनि हालतमा आर्थिक विकास हुन सक्दैन । त्यसैले निजीक्षेत्रप्रति सम्मानजनक वातावरण र व्यवहारको खाँचो छ । एकाध खराब प्रवृत्तिलाई लिएर सिंगो निजीक्षेत्रलाई सधैं आशंकाको दृष्टिले हेर्ने र अपमानित गर्ने परिपाटीले आर्थिक विकासको सम्भावना विस्तार हुँदैन । (वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुप्तासँग गरिएको कुराकानीमा आधारित ।)