आर्थिक विकासमा उदाहरणको रूपमा रहेका सिंगापुर र भियतनामको केही महीनाअघि भ्रमण गर्ने अवसर मिल्यो । उद्योग र व्यापारका क्षेत्र ती देशले अपनाएको नीति र सरकार निजीक्षेत्र सहकार्यका विश्वव्यापीकरणले उद्यम र व्यापारका आयामहरूलाई वैश्विक प्रतिस्पर्धामा अगाडि बढाएको अहिलेको अवस्थामा ती देश कसरी अगाडि बढेका रहेछन् भन्ने जानकारी लिन भ्रमण निकै उपलब्धिपूर्ण रह्यो । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतमा भ्रमणको नेतृत्व मैले गरेको थिएँ । आर्थिक विकासका लागि केकस्ता उपाय अपनाउन सकिन्छ र विकसित अर्थतन्त्रबाट प्रविधि र स्रोत कसरी भित्र्याउन सकिन्छ भन्ने भ्रमणको मूल अभिप्राय थियो । यसैलाई लिएर वीरगञ्ज उद्योग वाणिज्य संघको बोर्ड बैठकसमेत भयो । बैठकले ती देशमा भएका विकासका अभ्यासको अध्ययन, अनुसरणसँगै त्यहाँबाट प्रविधि र लगानी भित्र्याउन पहल गर्ने निर्णय गरेको छ ।
तीव्र दरको आर्थिक विकासका लागि स्वदेशको लगानीमात्रै पर्याप्त छैन । तर, पटकपटक लगानी सम्मेलन गर्दा पनि सोचेअनुसार लगानी आउन सकेको छैन । प्रतिबद्धता आउने तर लगानी नआउने भइरहेको छ । त्यसैले अन्य देशले लगानी भित्र्याउन केकस्ता उपाय अपनाएका रहेछन्, त्यहाँको नेतृत्वको सोच के रहेछ, अन्य देशका लगानीकर्ताले हाम्रोबारेमा के धारणा बनाएका रहेछन् भन्ने कुराको भेउ पाउन अति आवश्यक हुन्छ ।
लगानी आकर्षण र आर्थिक रूपान्तरणमा अन्य देश र हामीकहाँको नीतिगत व्यवस्थामा के भिन्नता रहेछ भन्ने कुरामा सूक्ष्म अध्ययन र आवश्यकताअनुसार सुधार नगरी बाहिरको लगानी आउन सम्भव छैन । त्यसैले त्यहाँ गएर उनीहरूले अपनाएको उपाय अध्ययन गर्ने र उनीहरूलाई बोलाएर लगानी आह्वान गर्ने अभिप्राय भ्रमणको थियो । वीरगञ्ज उद्योग वाणिज्य संघ र त्यहाँका निजीक्षेत्रका संघसंस्थाहरूसँग सम्बन्ध स्थापना र लगानी र प्रविधिमा सहकार्यको मूलभूत उद्देश्य पनि हो ।
हामीले त्यसअवसरमा सिंगापुर र भियतनाम दुवै देशका औद्योगिक कोरिडोरमा भ्रमण गर्यौं । त्यहाँ सञ्चालनमा रहेका विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, करप्रणालीको अभ्यास र नीतिगत व्यवस्थाहरूको अध्ययनको अवसर मिल्यो । त्यसबारेमा लामो छलफल पनि भयो ।
त्यहाँ करको दर विश्वमै सबैभन्दा कम रहेछ । औद्योगिक कोरिडोर र सेजको जग्गा लिँदा तिर्नुपर्ने दर पनि निकै कम रहेछ । हामीकहाँ लाग्ने १ महीनाको भाडाले त्यहाँ ५० वर्षका लागि जग्गा उपलब्ध हुने रहेछ । नेपालमा कुनै पनि उद्योगका लागि जग्गा पाउन निकै कठिन छ, पाइहाले पनि निकै महँगो छ । त्यसैले ती देशले अपनाएको उपाय हामीले अनुसरण गर्न आवश्यक छ । उद्योगका लागि चाहिने ऊर्जा, पानी, पानी प्रशोधन, वायु प्रशोधनजस्ता पूर्वाधारको प्रभावकारी प्रबन्ध मिलाइएका त्यस्ता औद्योगिक क्षेत्रहरूमा उत्पादनमा बाह्य अवरोध नै छैन । लगानीकर्ता त्यहाँ छिरेपछि उसको ध्यान उत्पादन र निकासीमा मात्र केन्द्रित हुने रहेछ । तर, हामीकहाँ भने औसत उद्यमी उद्योग व्यापारका आधारभूत कामभन्दा अनुत्पादन काममा समय खर्च गर्न बाध्य छ ।
सिंगापुर र भियतनाम भ्रमणका क्रममा त्यहाँका उद्योग र व्यापार संघहरूसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्ता समझदारीमा प्रविधि सहज रूपमा उपलब्ध गराउने, औद्योगिक मेला, सेमिनारहरूमा सहकार्य र सहभागिता बढाउनेजस्ता विषय छन् । उनीहरूले नेपालको जलविद्युत्, पर्यटनलगायतमा लगानीको चासो देखाएका छन् । यो आपसी सम्बन्ध र भोलिका दिन उद्योग र व्यापार प्रवद्र्धनका साथै लगानी आकर्षणको अभिप्रायले कोसेढुंगा नै हो । त्यहाँ निजीक्षेत्रले कसरी काम गरेको छ ? त्यहाँको सरकार, कर्मचारीतन्त्र, कार्यालय व्यवस्थापन कसरी भइरहेको छ ? त्यहाँको ट्रेड युनियन र श्रम सम्बन्ध केकस्तो छ ? यस्ता धेरै विषयमा धेरै कुरा सिक्ने मौका मिल्यो । अन्य देशका निजीक्षेत्रमा संघ/संस्थासँग भगिनी सम्बन्ध स्थापित गर्दै सहकार्यमा आयामहरू विस्तार गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको यो वीरगञ्ज उद्योग वाणिज्य संघको इतिहासमै पहिलो पटक हो ।
हामीले यी दुई देशको भ्रमण गरेर थालेको अभियानको स्वामित्व अब सरकारले लिनुपर्छ र त्यसलाई सहकार्य र नीतिगत व्यवस्थापनका लागि औपचारिकता दिनुपर्छ, यो प्लेटफर्मलाई सरकारले औपचारिकता दिनुपर्छ । यो शुरुआत मात्रै हो, अब अर्को यात्रा सरकार र निजीक्षेत्रको संयुक्त सहभागितामा हुनुपर्छ ।
हामीले समझदारीपत्रमा हस्ताक्षर गरेका छौं । अब सरकारले लगानी भित्र्याउन सम्झौतामा हस्ताक्षर गर्नुपर्छ ।
हामीले बाहिरको लगानी ल्याउन चाहेको हो भने भनेरमात्र हुँदैन, त्यसअनुसार नीति र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । कुनै प्रकारका अवरोधमुक्त औद्योगिक क्षेत्र चाहिन्छ । उद्योग व्यापारमा भन्सार, कर, राजस्व अनुसन्धानजस्ता सरकारी निकायबाट कुनै प्रकारको अनावश्यक हस्तक्षेप र अवरोध हुनु हुँदैन भन्ने सिंगापुर र भियतनामको अभ्यासले देखाएको छ । सिंगापुर त आर्थिक विकासमा धेरै अगाडि बढेको छ । हामीले कम्तीमा भियतनामबाट सिकेर अगाडि बढ्यौं भने पनि धेरै गर्न सकिन्छ । भियतनाम र हाम्रो आर्थिक विकासको अवस्था अहिले करीबकरीब उस्तै छ । त्यो देश जसरी अगाडि बढेको छ, त्यसका सकारात्मक पक्षलाई सापेक्ष अभ्यासमा ल्याउने हो भने आउँदो १० वर्षमै हाम्रो देशको मुहार फेर्न सकिन्छ । हामीकहाँ त लगानी वातावरणको कुरामात्रै हुन्छ, यथार्थमा पछिल्लो समयमा तहगत सरकारका अनावश्यक अवरोधहरू ह्वात्तै बढेका छन् । निजीक्षेत्र उत्पादन र व्यापार बढाउन केन्द्रित हुने वातावरण नबनेसम्म आर्थिक अग्रगतिको बाटो तयार हुँदैन । यसका लागि सापेक्ष प्रणाली बसाउनु जरुरी छ ।
निजीक्षेत्रलाई हेर्ने दृष्टिकोणमा अन्तरराष्ट्रिय जगत् र नेपालमा धेरै फरक छ । निजीक्षेत्रले आफ्नो लगानीमा उत्पादन र व्यापारमात्र गर्दैन, रोजगारी सृजना गर्छ र राज्यलाई कर तिर्छ । निजीक्षेत्रलाई होच्याएर, अपमान गरेर त्यहाँ कुनै पनि हालतमा आर्थिक विकास हुन सक्दैन । त्यसैले निजीक्षेत्रप्रति सम्मानजनक वातावरण र व्यवहारको खाँचो छ । एकाध खराब प्रवृत्तिलाई लिएर सिंगो निजीक्षेत्रलाई सधैं आशंकाको दृष्टिले हेर्ने र अपमानित गर्ने परिपाटीले आर्थिक विकासको सम्भावना विस्तार हुँदैन ।
(वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुप्तासँग गरिएको कुराकानीमा आधारित ।)