बागलुङ । बरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनमा जोडेको हो । मकैको उत्पादन राम्रो हुने वडा नं १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्रको रूपमा विकास गर्न थालिएको छ । रैथाने बालीको संरक्षण र उत्पादन धेरै दिने आधुनिक मकै बालीसमेतको विस्तार थालिएको गाउँपालिकाले बताएको छ ।
घाँसे मैदान र वनजंगल धेरै रहेको धुल्लुबास्कोटमा भैंसीपालन कार्यक्रम सञ्चालित छ । यहाँका किसानले भैंसीका पाडापाडी उत्पादन, दूध उत्पादन र व्यावसायिक मकैखेती गर्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । वडा नं २ हुग्दीशीरमा अलैंची खेतीको पकेट घोषणा गरिएको छ । यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यावसायिक अलैंची खेती गर्दै आएका छन् ।
‘बाँझो जमीन र खेतीयोग्य जमीनमा समेत अलैंचीको व्यावसायिक उत्पादन थालेका छौं,’ नमूना अलैंची फार्मका अध्यक्ष विमल शर्माले भने, ‘घरबाटै अलैंचीको विक्री हुन्छ, उत्पादन पनि सन्तोषजनक छ ।’ यहाँका किसानले हरेक वर्ष ३० क्विन्टलसम्म अलैंची निर्यात गर्ने गरेका छन् । तरकारी र फलफूल खेतीका लागि उर्वरभूमि रहेको वडा नं ३ बाटाकाचौरलाई फलफूल पकेट क्षेत्रको रूपमा विकास गरिएको छ । यहाँ कागती, सुन्तला, अम्बा, प्लम लगायतका फलफूलको व्यावसायिक उत्पादन हुने उनले जानकारी दिए ।
‘वडाअनुसार उत्पादन क्षमता फरक भएको भूगोल हामीसँग छ, सोहीअनुसारको प्राविधिक सहयोग र अनुदानको व्यवस्था गाउँपालिकाले गरेको छ,’ उनले भने, ‘सरकार र प्रदेश सरकारका पकेट तथा जोन विकास कार्यक्रमसँग सहकार्य गरेका छौं ।’ बरेङले पशुपालनलाई आफ्नो मुख्य उत्पादनको क्षेत्र भनेको छ । खेतीयोग्य जमीन कम भएको गाउँपालिकाले पशुपालनमा ध्यान दिएको गाउँपालिका अध्यक्ष शर्मा जानकारी दिए । बाख्रापालनका लागि राम्रो मानिएको वडा नं ४ सल्यानलाई गाउँपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ । आलुको उत्पादन राम्रो हुने वडा नं ५ सुखौरा आलु पकेट क्षेत्र हो । रासस
असोज ६, गलेश्वर । म्याग्दीमा पछिल्लो समय जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
किसानले व्यावसायिकरुपमा जडीबुटी खेती थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तार गर्ने क्रम बढ्दै गएको छ ।
धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले सामूहिक रुपमा जडीबुटी खेती थालेको छ । उक्त समूहले गत वर्षदेखि नै जडीबुटी खेतीको शुरुआत गरेको थियो ।
समूहले यस वर्ष करीब दुई रोपनी जग्गामा उतिस खेती विस्तार गरेको छ । सो समूहमा आवद्ध २५ किसानले उतिसको बिरुवा रोपण गरेको अध्यक्ष गोर्खा छन्त्यालले जानकारी दिए । ‘बजारमा उतिसको माग अत्यधिक छ, त्यसैले यसको व्यावसायिक रुपमा खेती गरिएको हो’, उनले भने ।
समूहले स्थानीयस्तरमा बिरुवा उत्पादन गरी वृक्ष रोपण गरेको हो । स्थानीयवासीले उतिसलाई पेटको जुका मार्न र शक्तिवद्र्धक औषधिका रुपमा प्रयोग गर्दैआएका छन् । समुद्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइमा रहेको गुर्जा जडीबुटीको सम्भावनायुक्त ठाउँ हो ।
सो ठाउँमा हिमाली किसान समूहले टिउथिबा सामुदायिक बनको दुई हेक्टरभन्दा बढी पाखो जग्गा भाडामा लिई व्यावसायिक जडीबुटीखेती थालेको छन्त्याल बताउँछन् ।
जिल्लामा पछिल्लो समय गुर्जो, अस्वगन्ध, दालचिनीलगायत जडीबुटीको खेती गर्न थालिएको छ । धवलागिरिको मुना, मुदी र गुर्जाका जंगलमा प्रशस्त जडीबुटी पाइन्छ ।
स्थानीयवासीले यसको व्यावसायीक खेती गर्न थालेका वडा नम्बर ३ का वडाध्यक्ष पुर्म पुन बताउँछन् । बेनी, पोखरा, काठमाडौंलगायत ठाउँबाट जडिबुटीको माग हुन थालेको उनले बताए ।
पछिल्लो समय जडीबुटीलाई औषधिका रुपमा प्रयोग गर्ने क्रम बढ्दै गएको आयुर्वेदिक औषधालयका प्रमुख प्रेमप्रसाद गौतमले बताए । ‘जडीबुटीको प्रयोग र माग बढ्न थालेको छ’, उनले भने ।
सर्वसाधारणले विस्तारै जडीबुटीको महत्व बुझ्दै गएकाले यसतर्फ आकर्षण बढेको उनको भनाइ छ । जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउनाका साथै त्यसको सामना गर्ने शक्तिसमेत बढाउँछ । महत्व नबुझ्दा बहुमूल्य जडीबुटी जंगलमा त्यत्तिकै खेर गइरहेको गौतमले बताए ।
जडीबुटीको औषधि बनाइ उपचार गर्नेबारे बेद, उपनिषद् र धार्मिक ग्रन्थमा समेत व्याख्या गरेको पाइन्छ । आयुर्वेदमा आचार्य गर्नुभएका बेनी नगरपालिका–२ ज्यामरुककोटका जीवन शर्मा आचार्य अष्टगन्ध, गुर्जो र तुलसीपत्र औषधिका रुपमा नियमित सेवन गरे शरीरमा अक्सिजनको कमी हुन नपाउने तथा रोग लागेमा प्रतिरोधात्मक क्षमता बढ्ने बताउँछन् । यसैगरी कोरोना संक्रमण भएका व्यक्तिलाई दालचिनी, अस्वगन्धा, तुलसी, मेवा र अम्बा (बेलाउती) को पत्र मिश्रित चूर्ण वा रस सेवन गराए प्रतिरोधात्मक क्षमता वृद्धि हुने चिकित्सक बताउँछन् ।
बेनी नगरपालिका–२ का ८५ वर्षीय वेदप्रसाद उपाध्याय नियमितरुपमा तुलसी पत्र र गुर्जो सेवन गर्दै आएको बताउँछन् । उपाध्याय मात्र होइनन् अर्मनका देवी सापकोटा र अर्थुङ्गेका नीलकण्ठ आचार्य पनि नियमितरुपमा तुलसीपत्र, गौमुत्र, गुर्जो र अन्य जडीबुटी औषधिका रुपमा प्रयोग गर्दै आएका छन् । रासस
असार २५, कास्की । पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यावसायिक खेतीतर्फ आकर्षित बनेका हुन् ।
परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जंगली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि बाँझै रहेको सो क्षेत्रको जमीनमा यतिखेर टिमुरसहित विभिन्न जातका नगदेबालीले व्यवसायिकता पाउन थालेको हो ।
घरको छेउको बारीमा चार वर्षअघि लगाइएका टिमुरका पाँचओटा बिरुवाले गत वर्षदेखि उत्पादन दिन शुरु गरेको लालशोभा गुरुङले बताए । उनका अनुसार पहिलो वर्ष फाट्टफुट्ट फल फले पनि यस वर्ष भने लटरम्म फलेका छन् ।
कृषि वन कार्यक्रम पकेट क्षेत्र अर्मला डिही कृषक समूहका अध्यक्षसमेत रहेकी उनका अनुसार डिभिजन वन कार्यालय कास्कीले निःशुल्क उपलब्ध गराएको बिरुवाले राम्रो फल दिन थालेपछि टिमुर खेतीप्रति यतिखेर यस क्षेत्रका बासिन्दाको आकर्षण बढेको हो ।
‘स्वास्थ्यबर्द्धक एवम् औषधीय गुण भएको टिमुर खेतीतर्फ युवा वर्गको आकर्षण बढेको देख्दा असाध्यै खुशी लागेको छ’, उनले भने, ‘युवाको उत्साहलाई जीवित राख्न सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।’ कुरदेखि डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका विरुवा क्रमिक रोप्दै आएको उल्लेख गर्दै उनले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको बताए ।
नेपाल सरकारको राष्ट्रिय वृक्षरोपण १० वर्षे रणनीतिअनुसार २०७३ सालदेखि डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा शुरु गरिएको सो अभियानअन्तर्गत हालसम्म १२ हजारभन्दा बढी टिमुरका बिरुवा रोपिएको बताउँदै उनले यस वर्ष मात्र एक हजार ३०० बिरुवा रोप्ने अभियानको थालनी भएको जानकारी दिए ।
लामो समयदेखि बाझै रहेका कारण झाडी र जङ्गलमा परिणत भएको सात रोपनी जग्गामा यस वर्ष १५० ओटा टिमुरका विरुवा रोपेको स्थानीय युवा किरण गुरुङले जानकारी दिए । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकोले व्यावसायिकरूपले खेती शुरु गरिएको उनको भनाइ छ । उनले थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने देखेर उक्त खेतीतर्फ आकर्षण बढेको बताए ।
स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाडी रहेको उक्त जग्गामा अलैँची, कफीलगायतका अन्य बालीसमेत लगाउने तयारी भइरहेको उनको भनाइ छ ।
अर्का युवा शंकर गुरुङले सात रोपनी जग्गामा टिमुरका १५० सहित ५०० भन्दा बढी अलैँची, कफी, किवी, एभोकार्डोलगायतका बिरुवा रोपेका छन् । सोही जग्गामा अन्य आयआर्जन गर्न सकिने नवीनतम बिरुवा लगाउने सोचमा रहेको उनी बताउँछन् ।
गाउँमा आफ्नो जग्गामा खेती गर्नभन्दा अर्मलाको फाँटमा अरुको खेत अधियाँ रोप्दा फाइदा हुने हुँदा विगत लामो समयदेखि बाँझिएको साढे चार रोपनी निजी जग्गामा यसै वर्ष टिमुरका ३०० बिरुवा रोपेको लप्सीबोट (रघु) का बलबहादुर विक र भक्तबहादुर विकले बताए ।
डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न आयमूलक जातका बिरुवा थप्दै गएको जानकारी दिए ।
सो क्षेत्रमा म्याग्दी जिल्लाबाट खरीद गरिएका टिमुरका बिरुवा वितरण गरिएको हो । बिरुवा खरीद र ढुवानीसहित खाल्टा खन्नेसमेत कार्यालयबाट व्यवस्था गरिएको छ । शुरुमा रोपिएका बिरुवाले फल दिन थालेको र आगामी केही वर्षभित्र स्थानीय कृषकले कृषि वनको माध्यमबाट राम्रो आम्दानी लिने उनको विश्वास छ । टिमुरको बजार मूल्य हाल प्रतिकिलो रू. तीन हजार ५०० सम्म रहेको छ ।
समुद्री सतहबाट एक हजार १०० देखि एक हजार ८०० मिटरको उचाइमा रहेको साविक अर्मलाको सो क्षेत्रमा हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकार्डो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिमाणमा राईखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका विरुवा रोपिएको कृषि वन समूहका सचिव जितबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार वन कार्यालयले आवश्यक विरुवा निःशुल्क उपलब्ध गराउनुका साथै खाल्टा खन्नका लागि समूहलाई हालसम्म रू. तीन लाख १५ हजार उपलब्ध गराइसकेको छ । वृक्षरोपणदेखि बिरुवाको संरक्षण तथा उत्पादित वस्तुको उपयोगका बारेमा सम्बन्धित निकायले कृषकलाई समयमै तालीमको व्यवस्था गर्नुपर्नेमा उनको जोड रहेको छ ।
दुईदेखि छ मिटरसम्म अग्लो बोट हुने झाडी एवं सदाबहार प्रजातिको टिमुरको फल प्रशोधन गरेर तेल निकालिन्छ । टिमुरको तेल विशेषगरी दाँत दुख्दा निको पार्न र आयुर्वेदिक टुथपेष्ट बनाउने काममा प्रयोग गरिन्छ । साथै यसको प्रयोग अत्तर, साबुन र स्याम्पुजस्ता वासनादार सामग्री उत्पादनमा पनि गरिन्छ । युरोपेली बजारमा प्रत्येक वर्ष यसको माग उच्च रहँदै आएको छ । रासस