रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीमा नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको रोमाञ्जक जित हाँसिल गरेको छ । हारको नजिक पुगेको नेपाललाई जिताउन रोहित र सोमपालले सम्हालिएको ब्याटिङ गरेपछि जित पक्का भएको हो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर त्यसपछि खराब लय हाबी हुँदा नेपाल कठिन अवस्थामा पुगेको थियो ।नेपालका लागि कुशलले १५ तथा आशिफले ३० रनको योगदान गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ६, आरिफ शेख ९, सरद भेसवाकर ६, कुशल मल्ल १ तथा पवन सर्राफ शून्यमा आउट भए । अन्तिम समयमा सोमपाल र रोहितले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई रोमाञ्जक जित दिलाएका हुन् । रोहित ६५ बलमा २ चौकासहित ४१ रन बनाएर आउट हुँदा सोमपाल ३२ बलमा १ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनीका लागि लेगा सियाकाले ३०, गाउडी टोकाले २२ तथा चार्ल्स अमिनीले २३ रन बनाए । अरु ब्याट्सम्यान खासै जम्न सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ तथा विक्रम शोब र कुशल मल्लले समान दुई दुई विकेट लिएका थिए ।ट्राई नेसन एकदिवसीय सिरिजका लागि ओमान पुगेको नेपाली टोलीले पिएनजीसँग तयारी खेल स्वरुप दुई एकदिवसीय खेल्न लागेको हो । अर्को एकदिवसीय खेल शुक्रबार हुनेछ ।ट्राइ नेसन सिरिज सेप्टेम्बर १३ देखि सुरु हुनेछ ।