कपुरकोट गाउँपालिका–३ दमारखोलाका थमन गिरी १५ वर्षअघि रोजगारीका लागि मलेसिया गए । घरको आर्थिक अवस्था कमजोर भएका उनले १० वर्ष विदेश बस्दासमेत सोचेजस्तो कमाइ गर्न सकेनन् । अहिले विदेशबाट सिकेको सीपलाई प्रयोग गर्दै उनले गाउँमै व्यवसायिक तरकारी खेती गरिरहेका छन् । ‘त्यहाँ बस्दा इजरायली प्रविधिबाट खेती गर्न सिकियो,’ उनले भने, ‘पैसा धेरै नकमाए पनि अहिले त्यही प्रविधि काम लागेको छ ।’ गिरीले थोपा सिँचाइ प्रविधिको प्रयोग गरी टनेलमा बेमौसमी तरकारी उत्पादन गरिरहेका छन् ।