दमौली । जिल्ला कारागारका तनहुँका कैदीबन्दीले यस वर्षको दसैँमा ५ लाख रुपैयाँ बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् ।
बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् ।
प्रमुख अधिकारीले भने, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ । कैदीबन्दीले मूढा बिक्रीआ गरेर दशैंमा घरखर्चसमेत पठाउने गरेका छन् ।”
कारागारमा बुनिएको मुढा ३५० देखि १ हजारसम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले बताए । उनका अनुसार दशैंमा ५ लाख रुपैयाँ बराबरको मूढा बिक्री हुने अनुमान गरिएको छ । उनले भने, “कारागारमा यत्तिकै दिन कटाउनुभन्दा अधिकांश कैदीबन्दी आयआर्जनतर्फ जोडिएका छन् । धेरैजसोले दशैंमा मुढा बिक्री गरेबापतको पैसा घरमा पठाउने गरेका छन् ।”
कारागारमा दुई ब्लकमा २८२ कैदीबन्दी छन् । चाडपर्वमा मूढाको माग बढी हुने गर्दछ । यहाँ उत्पादित मूढा विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । कतिपयले भने कारागार मै आएर पनि मूढा किन्ने गरेका छन् ।
कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको बताइन्छ । मूढा उठाउने, टायर राख्ने, बुन्ने, विट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । रासस