वैशाख ४, काठमाडौं । संघीय संसद अन्नर्गत संसदीय सुनुवाई समितिले विभिन्न मुलुकहरूका लागि नेपाली राजदूतको पदमा सरकारले सिफारिस गरेका व्यक्तिहरुको बारेमा रायसुझाव पठाउन अनुरोध गरेको छ ।
समितिले विभिन्न मुलुकमा नियुक्त हुन लागेका व्यक्तिहरु राजदूतका लागि उपयुक्त छन् या छैनन् भन्ने बारेमा वैशाख १२ गतेसम्म प्रमाणसहित लिखित उजुरी दिन पनि सर्वसाधारणलाई भनेको छ ।
सूचना दिने सूचनादाताले आफ्नो नाम, थर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिनेसमेत समितिले जानकारी दिएको छ ।
सरकारले विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीन, वासुदेव मिश्र श्रीलङ्का, दानबहादुर तामाङ दक्षिण अफ्रिका, डा। शर्मिला पराजुली (ढकाल) स्पेन, मिलनराज तुलाधर रुसी महासंघ, डिल्लीराज पौडेल मलेशिया, कान्ता रिजाल इजरायल, नवराज सुवेदी साउदी अरेबिया, कैलाशराज पोखरेल अस्ट्रेलिया, डा.नरेशविक्रम ढकाल कतारका लागि सिफारिस गरेको छ ।
यसैगरी सरकारले ज्योति प्याकुरेल (भण्डारी)गणतन्त्र कोरिया, प्राडा राम स्वार्थ राय डेनमार्क, डा दुर्गा बहादुर सुवेदी जापान, निर्मलराज काफ्ले ब्राजिल, सुशीलकुमार लम्साल ईजिप्ट, भरतकुमार रेग्मी अस्ट्रिया संयुक्त राष्ट्र संघ कार्यालय भियाना, तीर्थराज वाग्ले बहराइन, घनश्याम भण्डारी बङ्गलादेश, हरिश्चन्द्र घिमिरे म्यान्मार, डोरनाथ अर्याल ओमानका लागि सिपारिस गरेको छ ।