काठमाडौं (अस) । डोल्मा इम्प्याक्ट फण्ड–२ ले उपाय सिटी कार्गोमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । शुक्रवार दुई पक्षले उक्त लगानीसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । डोल्माले उपायको शेयर खरीद गरेको बताइए पनि कति प्रतिशत भन्ने खुलाइएको छैन । तत्काल लगानी गर्ने विषयमा सम्झौता भएकोमा लगानी भने आइनसकेको उपायका प्रमुख अपरेटिङ अफिसर अमिगो खड्काले बताए । उनका ड्यु डिलिजेन्सपछि दुवै पक्षबीच थप सम्झौता भई उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि प्रक्रिया अघि बढाइनेछ ।
उपायले विभिन्न चालकलाई आफ्नो एपमा जोडेर अनलाइनमार्फत ढुवानी सेवा प्रदान गर्ने गरेको छ । कोठा वा फ्ल्याटको सामान सार्नदेखि विभिन्न अनलाइन डेलिभरीका सेवा कम्पनीले अनलानइनमार्फत प्रदान गर्दै आएको छ । हाल काठमाडौं, बुटवल, पोखरा र भैरहवामा यस्तो सेवा प्रदान गर्दै आएको कम्पनीले कम्पनीले यी चार जिल्लाबाहेक देशभरका ठूला शहरमा आफ्नो सेवा विस्तार, बजारीकरण गर्ने लगायत उद्देश्य लिएको छ । यसैका लागि कम्पनीले थप फण्डका लागि डोल्मासँग सम्झौता गरेको कम्पनीका प्रमुख अपरेटिङ अफिसर खड्काले जानकारी दिए ।
कम्पनीले आगामी वर्षभित्र विराटनगर, इटहरी, चितवन, हेटौंडा, नेपालगञ्ज र धनगढीमा पनि बजार विस्तार गर्नेगरी निषेधाज्ञाकै बीच तयारी थालेको छ । कम्पनीले यसअघि चारपांग्रे सवारीलाई मात्र ढुवानीका लागि एपमा जोडेकोमा हालै दुईपांग्रे सवारीमार्फत पनि सेवा सञ्चालन गरेको छ । नेपालमा ई–कमर्शको बढ्दो बजारलाई दृष्टिगत गर्दै यस्ता कम्पनीसँग पनि सम्झौता गर्ने तयारी कम्पनीको छ । ‘कम्पनीले ई–कमर्श व्यवसाय र कृषि उत्पादनको ढुवानीलाई विशेष प्राथमिकतामा राखेको छ,’ खड्काले भने । व्यवसाय विस्तारका लागि प्रविधिको पनि आवश्यकता भएकाले यसलाई बढाउने तयारी गरिएको उनले बताए । कम्पनीले अहिले प्राविधिक स्तरोन्नति, बजारीकरण, ब्राण्डिङका लागि काम गरिरहेको उनको भनाइ छ ।
डोल्मा फण्ड व्यवस्थापनले दुई निजी कोषहरूको सञ्चालन गरिरहेको छ, जसले नेपालका साना र मध्यम आकारका पूर्वाधार, ऊर्जा, स्वास्थ्य, प्रविधि र स्टार्टअप लगायत क्षेत्रका परियोजनामा लगानी गर्दै आएको छ । यसअघि संस्थाले श्वेतगंगा हाइड्रो लिमिटेड, सुरीखोला हाइड्रोपावर प्रालि, क्लाउड फ्याक्ट्री ग्रूप, सस्तोडिल लगायत कम्पनीमा लगानी गरिसकेको छ ।